बर्दिया ,७ असोज ।
देशभरका स्थानीय तहका लागि चुनौती बन्दै गएको छाडा पशुचौपाया व्यवस्थापनलाई बर्दियाको ठाकुरबाबा नगरपालिकाले उत्पादन र आम्दानीसँग जोड्ने प्रयास थालेको छ। सडक तथा सार्वजनिक स्थानमा छाडा छोडिएका पशुचौपायाबाट हुने समस्या न्यूनीकरणसँगै तिनबाट निस्कने गोबरलाई उपयोग गरी प्राङ्गारिक मल उत्पादन गर्ने योजना नगरपालिकाले अघि सारेको हो।
छाडा पशुचौपायाले किसानले लगाएको अन्नबालीमा क्षति पुर्याउने, सडक दुर्घटनाको जोखिम बढाउने तथा सार्वजनिक स्थानमा फोहोर बढाउने समस्या देखिएपछि नगरपालिकाले गौशाला व्यवस्थापनलाई प्राथमिकतामा राखेको हो। व्यवस्थित गौशाला निर्माण गरी पशुचौपायालाई संरक्षण गर्ने र त्यहाँबाट उत्पादन हुने गोबरलाई प्राङ्गारिक मलमा रूपान्तरण गरी किसानलाई उपलब्ध गराउने योजना अघि बढाइएको नगरपालिकाले जनाएको छ।
ठाकुरबाबा नगरपालिका–५ बनकट्टीमा निर्माण गरिएको व्यवस्थित गौशालामा अहिले करिब चार सय छाडा पशुचौपाया राखिएका छन्। त्यस्तै वडा नम्बर ४ खैलारस्थित गौशालामा करिब तीन सय पशुचौपाया व्यवस्थापन गरिएको छ। नगरपालिकाले अन्य स्थानमा समेत गरी करिब आठ सय गाई संरक्षण गरिरहेको जनाएको छ।
गौशाला व्यवस्थापन सुरु भएपछि किसानले लगाएको बाली छाडा पशुचौपायाबाट जोगिन थालेको छ। साथै पशुचौपायाबाट संकलन हुने गोबरलाई मलका रूपमा प्रयोग गर्न सकिने भएकाले किसानलाई प्राङ्गारिक मलको स्रोतसमेत उपलब्ध हुन थालेको छ।
ठाकुरबाबा नगरपालिका–५ का स्थानीय किसान अनिल थारूले गौशाला व्यवस्थापन भएपछि रातभर खेतमा बसेर बाली कुर्नुपर्ने बाध्यता हटेको बताउनुभयो। उहाँका अनुसार पहिले छाडा पशुचौपायाले खेतमा लगाएको बाली नष्ट गर्ने समस्या थियो। अहिले पशुचौपाया व्यवस्थित गरिएपछि खेती जोगिनुका साथै आवश्यक परेको समयमा गोबर मलसमेत खरिद गर्न पाइएको उहाँले बताउनुभयो।
नगरपालिकाकी उपप्रमुख बिना भट्टराईले गाई राष्ट्रिय जनावर भएकाले यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो। छाडा पशुचौपायालाई संरक्षण गर्ने उद्देश्यले गौशाला व्यवस्थापन सुरु गरिएको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार गौशाला सञ्चालनलाई केवल पशु व्यवस्थापनमा सीमित नराखी उत्पादनमूलक बनाउने तयारी भइरहेको छ। गौशालाबाट निस्कने गोबरलाई व्यवस्थित रूपमा संकलन गरी प्राङ्गारिक मल उत्पादन गर्ने र त्यसलाई किसानसम्म पुर्याउने योजना रहेको उहाँले बताउनुभयो। यसबाट किसानलाई प्राङ्गारिक मल उपलब्ध हुनुका साथै नगरपालिकाले आम्दानीसमेत गर्न सक्ने अपेक्षा गरिएको छ।
नगरप्रमुख तिलकराम लम्सालले ठाकुरबाबा नगरपालिकाका चार स्थानमा करिब आठ सय गाई संरक्षण गरिरहेको जानकारी दिनुभयो। गौशाला व्यवस्थापनमा नगरपालिकाले वार्षिक करिब ६० लाख रुपैयाँ खर्च गर्दै आएको उहाँले बताउनुभयो।
नगरप्रमुख लम्सालका अनुसार गौशाला व्यवस्थापनलाई व्यवस्थित र दीगो बनाउन नगरपालिकाले आवश्यक कार्यविधिसमेत निर्माण गरेको छ। अब पशुचौपायाको संरक्षणसँगै त्यसलाई उत्पादनसँग जोड्ने तयारी भइरहेको उहाँले बताउनुभयो। जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था र कोइकासँगको सहकार्यमा गौशालालाई उत्पादनमूलक बनाउने योजना अघि बढाइएको उहाँको भनाइ छ।
नगरपालिकाले गौशालामा जम्मा हुने गोबरलाई प्रशोधन गरी गुणस्तरीय प्राङ्गारिक मल उत्पादन गर्न सके किसानले रासायनिक मलमा निर्भर हुनुपर्ने अवस्था केही कम हुने अपेक्षा गरेको छ। यससँगै स्थानीयस्तरमै मल उत्पादन, रोजगारी सिर्जना र नगरपालिकाको आम्दानीको स्रोतसमेत बढाउन सकिने सम्भावना देखिएको छ।
छाडा पशुचौपाया व्यवस्थापनका नाममा हुने खर्चलाई दीर्घकालीन रूपमा उत्पादनसँग जोड्न सके स्थानीय तहका लागि यो समस्या समाधानसँगै आर्थिक अवसरसमेत बन्न सक्ने देखिन्छ। ठाकुरबाबा नगरपालिकाको प्रयासले किसानको बाली संरक्षण, पशु कल्याण र प्राङ्गारिक मल उत्पादनलाई एउटै योजनामा जोड्ने बाटोसमेत खोलेको छ।
छाडा पशुचौपाया व्यवस्थापनसँगै प्राङ्गारिक मल उत्पादनमा ठाकुरबाबा नगरपालिका


