नेपालगञ्जमा आगलागी प्रकरण : जलेको अवस्थामा मृत युवती भेटिएपछि तीन जना पक्राउ

बाँके, १६ चैत ।
बाँकेको नेपालगञ्जमा आगोले जलेको अवस्थामा भेटिएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । घटनाले स्थानीय क्षेत्रमा त्रास र चासो दुवै बढाएको छ भने प्रहरीले घटनाको गहिरो अनुसन्धान अघि बढाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा गएराति एक युवती आगोले जलेको अवस्थामा फेला परेकी थिइन् । गम्भीर घाइते अवस्थामा भेटिएकी ती युवतीलाई तत्काल उद्धार गरी उपचारका लागि भेरी अस्पताल पुर्याइएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक युवतीको पहिचान नेपालगञ्ज–१२ कोरियनपुरकै २२ वर्षीया सिर्जना बुढा मगरका रूपमा भएको प्रहरी नायब उपरीक्षक पातलीले जानकारी दिए । उनका अनुसार गएराति करिब १२ बजेको समयमा भेरी प्राविधिक शिक्षालय नजिकै उनी जलेको अवस्थामा फेला परेकी थिइन् ।
घटनापछि मृतकका परिवारले तीन जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । सोही आधारमा प्रहरीले ती तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको जनाएको छ । पक्राउ परेकाहरूको नाम सार्वजनिक गरिएको छैन । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मृतक युवतीको यसअघि नै विवाह भइसकेको थियो र उनको ३–४ वर्षकी एक छोरी पनि रहेको खुलेको छ । हाल पक्राउ परेकामध्ये एक जनासँग युवतीको सम्बन्ध रहेको प्रारम्भिक रूपमा बुझिएको प्रहरीको भनाई छ ।
घटनामा अन्य व्यक्तिको संलग्नता हुन सक्ने आशंकामा प्रहरीले थप अनुसन्धान जारी राखेको छ । घटनाको वास्तविक कारण, आगलागी कसरी भयो र यसमा कसको कस्तो भूमिका रह्यो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । मृतक युवतीको शव हाल भेरी अस्पतालमै राखिएको छ भने आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमपछि परिवारलाई बुझाइने प्रहरीले जनाएको छ ।






