इनिशा विक मृत्यु प्रकरण : सामुहिक बलात्कारपछि हत्या  भएको अभियोगमा मुद्दा दायर

ओम शाही
सुर्खेत, १६ चैत ।
सुर्खेतकी इनिशा विक मृत्यु प्रकरणमा सामुहिक बलात्कारपछि हत्या भएको दावी गर्दै जिल्ला सरकारी वकील कार्यालय अदालत पुगेको छ । आइतबार प्रहरी अनुसन्धानको राय बमोजिम घटनामा संलग्न चार जनाविरुद्ध सामुहिक बलात्कारपछि हत्या भएको ठहर गर्दै सुर्खेत जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरिएको जिल्ला सरकारी वकील कार्यालय सुर्खेतका जिल्ला न्यायधिवक्ता कर्णबहादुर महतले जानकारी दिए ।
उनका अनुसार चारै जनाविरुद्ध जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा अभियोग पत्र दायर गरिएको छ । ‘कानुनको विवादमा परेका बालकहरुले मृतकलाई जवरजस्ती करणी गरी ज्यान मारेको वारदात पुष्टी भएको देखिई निज बालकहरुले सामूहिक जवर्जस्ती करणीतर्फको मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) विपरित उपदफा (२) र उपदफा (७) बमोजिमको कसूर अपराध गरेको तथा कर्तव्य ज्यानतर्फ मुलुकी अपराध संहिता, २०७४ को दफा १७७(१) बमोजिमको कसूर गरेको तथ्य पुष्टी हुन आयो,’ सरकारी वकिल कार्यालयले अभियोग पत्रमा भनेको छ ।
उनीहरु विरुद्ध सामूहिक जबर्जस्ती करणीतर्फ मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) विपरित उपदफा (२) र उपदफा (७) बमोजिमको कसूरमा सोही संहिताको दफा २१९ (३) (घ) बमोजिम कैद र सोही संहिताको दफा २१९ (३क) को खण्ड (ख) बमोजिम जरिवानाको सजाय माग गरिएको छ ।
त्यस्तै, सोही संहिताको दफा २१९ को उपदफा (७) बमोजिम थप सजाय हुने ठहर अभियोग पत्रमा गरिएको छ । कर्तव्य ज्यानतर्फ सोही संहिताको दफा १७७(१) बमोजिमको कसूरमा ऐ संहिताको दफा १७७(२) बमोजिम सजाय हुने अभियोग पत्रमा दावी गरिएको छ । सामुहिक रुपमा जबरजस्ती करणी गरी ज्यान मारेको अभियोगमा उनीहरुलाई आजन्म कैद सजायको माग अभियोग पत्रमा गरिएको छ । यस्तै, मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (३क) को खण्ड (ख) बमोजिम जरिवानाबाट प्राप्त हुने रकम तथा सोही संहिताको दफा २२८ र दफा १८६ बमोजिम कानूनको विवादमा परेका बालकहरु परिवर्तित नाम ‘वीरेन्द्रनगर प’, ‘वीरेन्द्रनगर ध’, ‘वीरेन्द्रनगर न’ र ‘वीरेन्द्रनगर फ’ बाट मृतकका हकवालालाई क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।
के थियो घटना ?
गत २३ फागुनमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१, कि १६ वर्षीया इनिशाको रहस्यमय तवरबाट मृत्यु भएको थियो । त्यस दिन विद्यालय जान्छु भन्दै घरबाट निस्किएकी इनिशा वीरेन्द्रनगर–४, स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन् ।
प्रहरीले उनलाई कर्णाली प्रदेश अस्पताल पुर्‍याएको थियो । अस्पतालले लगत्तै उनलाई मृत घोषणा गरेको थियो । सोही दिन घटनास्थलबाट उनका प्रेमी भनिएका १६ वर्षीय अनमोल गौलीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।
गौलीको बयानपछि थप तीन जना किशोरलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान थालेको थियो । पक्राउ परेका ति किशोरले इनिशासँग शारीरिक सम्पर्कपछि भएको अत्यधिक रक्तश्रावका कारण बेहोस भएको बयान दिएका छन् ।
इनिशाको पोष्टमार्फट रिपोर्टमा पनि मृत्युको कारण यौनाङ्गको भित्री भागमा लागेको गहिरो चोटका कारण भएको रक्तश्राव देखाइएको छ । इनिशा विक मृत्यु प्रकरणको अनुसन्धान प्रहरीलको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहित नेपाल प्रहरीका चार समूहले गरेका थिए ।
प्रहरीले अनुसन्धानमा उच्च प्रविधिसमेत प्रयोग गरेको थियो । झण्डै १९ दिन लामो अनुसन्धान गरेको प्रहरीले इनिशाको मृत्युको कारण सामुहिक बलात्कार नभई मुख्य अभियूक्त गौलीसँगको शारीरिक सम्बन्धपछिको अत्याधिक रक्तश्राप रहेको निष्कर्ष निकालेको थियो ।
त्यो बिहान इनिशासँग शारीरिक सम्बन्ध राखेपछि अत्यधिक रक्तश्राप भएको र आतिएर अरु तीन जनालाई बोलाएको बयान ती किशोरले प्रहरीसमक्ष दिएका छन् । यो कुरा इनिशाको परिवार मान्न तयार भइसकेका छैनन् ।
घटनाको पर्सिपल्ट २५ फागुनमा पिडित परिवारले पक्राउ परेका चारै जनाविरुद्ध कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा किटानी जाहेरी दर्ता गराएका थिए । परिवारको जाहेरीपछि भेरी अस्पताल बाकेका फरेन्सिक विशेषज्ञ डाक्टर अर्विन शाक्यको टोलीले प्रदेश अस्पतालमा पुगेर इनिशाको सब परिक्षण गरेको थियो । त्यो परीक्षणबाट जबर्जस्ती करणीका क्रममा संवेदनशील अंगमा गम्भीर चोट लागेर अत्यधिक रक्तश्राप भई उनको मृत्यु भएको उल्लेख छ । अस्पतालको यस्तो रिपोर्ट पीडित परिवारलाई अपत्यारिलो लागिरहेको छ ।
अदालत बाहिर आफन्तको धर्ना
इनिशाका परिवारले न्याय प्रभावित पार्न खोजिएको भन्दै शव बुझ्‌न मानेका छैनन् । उनको शव २३ दिनयता कर्णाली प्रदेश अस्पतालको शव गृहमा छ । मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै आफन्त तथा स्थानीयले आइतबार जिल्ला अदालत अगाडि धर्ना दिएका छन् ।
धर्नामा सहभागीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् । उनीहरूले अनुसन्धानप्रति अविश्वास जनाउँदै निष्पक्ष र पारदर्शी प्रक्रिया अघि बढाउन दबाब दिएका छन् ।
गत फागुन २३ गते भएको इनिसाको रहस्यमय मृत्यु प्रकरणमा परिवारले सुरु देखिनै शंका व्यक्त गर्दै आएको छ । पोस्टमार्टम रिपोर्टप्रति समेत असन्तुष्टि जनाउँदै घरपरिवारले पुनः अनुसन्धानको माग गरिरहेका छन् ।
पीडित परिवारले पोस्टमार्टम रिपोर्टप्रति नै असन्तुष्टि जनाएको छ । ‘मलाई सुरुबाटै शंका लागेको छ, छोरीलाई त्यस्तो अवस्थामा फेला पारेकी मलाई पोस्टमार्टम रिपोर्टप्रति शंका छ,’ इनिशाकी आमा तिलाले भन्छिन्‌्, ‘यो रिपोर्ट मात्र होइन, अरू रिपोर्ट पनि यस्तै आयो भने हामी आन्दोलनमा उत्रिन्छौं ।’
छोरीको मृत्युको खबरपछि नेपाल आएका बुबा इन्द्रबहादुरले कम्पनीबाट पाएको बिदा सकिन थालेको बताए । ‘छोरीको मृत्यु भएको आज २२ दिन भइसक्यो, उनले भने, ‘छोरीले न्याय पाउनेमा शंका हुन थालेको छ ।’  प्रहरीले अहिलेसम्म घटनाका बारेमा खुलेर जानकारी नगराएको परिवारको भनाइ छ । ‘घटना झनै रहस्यमय बन्दै जाने हो कि जस्तो लागेको छ,’ इन्द्रबहादुरले भने, ‘रिपोर्ट पनि सामान्य देखाएका छन्, के–के विषयमा अनुसन्धान गरिएको हो, अत्तोपत्तो छैन । छोरीले न्याय पाउँदिनँ कि भन्ने लाग्न थालेको छ ।’
इनिशा विक मृत्यु प्रकरण : सामुहिक बलात्कारपछि हत्या  भएको अभियोगमा मुद्दा दायर

शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)

इनिशा विक मृत्यु प्रकरण : सामुहिक बलात्कारपछि हत्या  भएको अभियोगमा मुद्दा दायर

नेपालगञ्जमा आगलागी प्रकरण :  जलेको अवस्थामा मृत

Leave a comment

Your email address will not be published. Required fields are marked *