चालु वर्षमा देशको अर्थतन्त्रको आकार ६१ खर्ब पुग्ने अनुमान
ओम शाही
सुर्खेत, १६ बैशाख ।
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४ प्रतिशतको हाराहारीमा रहने केन्द्रीय तथ्यांक कार्यालयले प्रक्षेपण गरेको छ । सरकारले वित्त नीतिमार्फत यस वर्षका लागि ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखे पनि विविध कारणले यस वर्ष आर्थिक वृद्धिमा संकुचन आउने तथ्यांक कार्यालयले जनाएको छ । तथ्यांक कार्यालयका अनुसार यस वर्ष उपभोक्ता मूल्यमा आधारित कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आधार ४.०१ प्रतिशतले वृद्धि हुँदै ६६ खर्ब पुग्नेछ ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो जीडीपीको आकार ६१ खर्ब ९९ अर्ब थियो । यस्तै, उपभोक्ता मूल्यमा आधारित जीडीपीको आकार आर्थिक वर्ष, २०८०/८१ मा ५७ खर्ब ६० अर्ब रुपैयाँबराबर थियो । उसो त आर्थिक वर्षका लागि ४ प्रतिशतको आर्थिक वृद्धिदरको प्रक्षेपण गरिराख्दा विश्व बैंक, एसियाली विकास बैंकसहित अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले भने सन् २०२६ मा नेपालको आर्थिक वृद्धि ३ प्रतिशत नकट्ने दाबी प्रस्तुत गरेका छन् ।
विश्व बैंकले यस वर्ष नेपालको आर्थिक वृद्धि २.३ प्रतिशत हाराहारी रहने दाबी प्रस्तुत गरेकोमा एसियाली विकास बैंकले २.७ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरेका छन् । विदेशी निकायहरूको प्रक्षेपणको तुलनामा सरकारको प्रक्षेपण बढी हो । हाल प्रकाशित राष्ट्रिय लेखाका स्थिर मूल्यका अनुमान आर्थिक वर्ष २०६७/६८ को मूल्यमा आधारित छन् ।
त्यसैगरी, आर्थिक वृद्धिदर मापन गर्नका लागि स्थिर मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादन प्रयोग गरिएको छ, जसअनुसार, आर्थिक वर्ष २०८२/८३ मा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.६८ प्रतिशत र उपभोक्ताको मूल्यमा ३.८५ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ ।
आधारभूत मूल्यको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८१/८२ मा ३.८० प्रतिशत हुने संशोधित अनुमान र आर्थिक वर्ष २०८०/८१ मा ३.३८ प्रतिशत कायम भएको विवरण सार्वजनिक गरिएको छ । त्यसैगरी, उपभोक्ताको मूल्यमा आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८१/८२ मा ४.४३ प्रतिशत हुने संशोधित अनुमान गरिएको छ । साथै, आर्थिक वर्ष २०८०र८१ मा ३.६८ प्रतिशत कायम भएको छ ।
यस्ता छन् अन्य आर्थिक सूचकको अवस्था
आर्थिक वर्ष २०८२/८३ मा आधारभूत मूल्यको कुल उत्पादन ९९ खर्ब २२ अर्ब ९० करोड हुने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा कुल उत्पादन ९३ खर्ब ८४ अर्ब ५० करोड रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कअनुसार उक्त वर्षमा कुल उत्पादन रु. ८७ खर्ब ८१ अर्ब २ करोड कायम गरिएको छ ।
यस्तै, आर्थिक वर्ष २०८२/८३ मा उपभोक्ताको मूल्यको मध्यवर्ती उपभोग ४१ खर्ब २७ अर्ब ३२ करोड हुने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा मध्यवर्ती उपभोग ३९ खर्ब ३० अर्ब ९ करोड रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कअनुसार उक्त वर्षमा मध्यवर्ती उपभोग रु.३६ खर्ब ७६ अर्ब २१ करोड कायम गरिएको छ । आर्थिक वर्ष २०८२/८३ मा कुल ग्रार्हस्थ उत्पादन (जीडीपी)को २६.२६ प्रतिशत कुल स्थिर पुँजी निर्माण हुने प्रारम्भिक अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा जीडीपीको २३.५७ प्रतिशत कुल स्थिर पुँजी निर्माण हुने संशोधित अनुमान थियो । आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कअनुसार उक्त वर्षमा जीडीपीको २४.५१ प्रतिशत कुल स्थिर पुँजी निर्माण भएको छ । आर्थिक वर्ष २०८२/८३ मा न्म्ए को ९०.२९ प्रतिशत अन्तिम उपभोग खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा जीडीपीको ९३.११ प्रतिशत अन्तिम उपभोग खर्च हुने संशोधित अनुमान छ । आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार उक्त वर्षमा जीडीपीको ९३.३१ प्रतिशत अन्तिम उपभोग खर्च भएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा जीडीपीको ९.९७ प्रतिशत निर्यात हुने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा जीडीपीको ८.८३ प्रतिशत निर्यात हुने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा जीडीपीको ७.५५ प्रतिशत निर्यात भएको छ ।
यस्तै, आर्थिक वर्ष २०८२/८३ मा जीडीपीको ३४.५२ प्रतिशत आयात हुने प्रारम्भिक अनुमान छ । आर्थिक वर्ष २०८१/८२ मा जीडीपीको ३३.७२ प्रतिशत आयात हुने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार उक्त वर्षमा न्म्ए को ३२.६२ प्रतिशत आयात भएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा जीडीपीको ४४.७७ प्रतिशत कुल राष्ट्रिय बचत हुने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा जीडीपीको ३८.३९ प्रतिशत कुल राष्ट्रिय बचत हुने संशोधित अनुमान छ । आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार उक्त वर्षमा जीडीपीको ३५.६० प्रतिशत कुल राष्ट्रिय बचत भएको छ।
३३ प्रतिशत विप्रेषण प्राप्त हुने अनुमान
चालु आर्थिक वर्षमा जीडीपीको ३३.०२ प्रतिशत विप्रेषण प्राप्त हुने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८३ मा जीडीपीको २७.८० प्रतिशत विप्रेषण प्राप्त संशोधित अनुमान गरिएको थियो । आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार उक्त वर्षमा जीडीपीको २५.०९ प्रतिशत विप्रेषण प्राप्त भएको छ ।
यस्तै, यस वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १५ सय १३ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १५ सय १६ अमेरिकी डलर हुने संशोधित अनुमान थियो । आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार उक्त वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १४ सय ५६ अमेरिकी डलर कायम भएको छ । चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १५ सय ३५ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान छ ।





