बाँके निकुञ्जमा कृत्रिम पोखरी र घाँसे मैदान विस्तार

बाँके,१६ बैशाख ।
बाँके राष्ट्रिय निकुञ्जमा पछिल्लो समय वन्यजन्तुको बासस्थान व्यवस्थापनलाई प्रभावकारी बनाउँदै कृत्रिम पानीपोखरी र व्यवस्थित घाँसे मैदान निर्माण गरिएको छ । यी संरचना विस्तार भएसँगै वन्यजन्तुका लागि पानी र आहारको सहज उपलब्धता बढेको छ भने मानव–वन्यजन्तुबीच हुँदै आएको द्वन्द पनि क्रमशः घट्दै गएको सरोकारवालाहरूले बताएका छन् ।
निकुञ्जभित्र सोलार लिफ्ट प्रविधिमार्फत अटोमेटिक पानीपोखरी, कृत्रिम तालतलैया र घाँसे मैदान निर्माण गरिएपछि वन्यजन्तुको बासस्थान थप अनुकूल बन्दै गएको छ । निकुञ्ज प्रमुख बिरेन्द्र प्रसाद कडेलका अनुसार यस्ता पूर्वाधारले वन्यजन्तुलाई प्राकृतिक रूपमा बस्न, खान र पानी पिउन सहज बनाएको छ, जसले गर्दा उनीहरू बस्ती नजिक जाने प्रवृत्ति घट्न थालेको छ ।
भौगोलिक रूपमा पनि बाँके राष्ट्रिय निकुञ्ज वन्यजन्तुका लागि उपयुक्त मानिन्छ । विगतमा पानीको अभाव चुनौती बनेको भए पनि अहिले चुरे क्षेत्रका मुहानबाट पाइपलाइनमार्फत पानी व्यवस्थापन गरिएपछि समस्या धेरै हदसम्म समाधान भएको छ । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र खड्काले पानीको सहज पहुँचले वन्यजन्तु अवलोकनमा समेत सहजता आएको र त्यसले पर्यटक आकर्षण बढाउन सहयोग पुगेको बताए ।
निकुञ्ज क्षेत्रमा बाघ, चितुवा, जंगली हात्ती, मृग, चित्तल, रतुवा, बदेल, जरायो तथा विभिन्न प्रजातिका चराचुरुङ्गी पाइन्छन् । व्यवस्थित घाँसे मैदान र पानीपोखरी निर्माणपछि यस्ता वन्यजन्तुको संख्या समेत वृद्धि हुँदै गएको देराली हरियाली सामुदायिक वनका अध्यक्ष लोकेन्द्र खत्रीले जानकारी दिए ।
वन्यजन्तु संरक्षणका लागि सोलार प्रविधिबाट पानी व्यवस्थापन गर्दा जंगली हात्तीले संरचना नोक्सान नगरोस् भनेर विशेष संरचना निर्माण गरिएको छ । करिब ७ फिट गहिरो र २० फिट अग्लो सालका काठ प्रयोग गरेर सुरक्षात्मक संरचना बनाइएको छ । वन्यजन्तुबाट प्रभावित स्थानीयहरू समेत अहिले संरक्षणप्रति सचेत बन्दै गएका छन् । वन्यजन्तु पीडित कुलबहादुर भण्डारीले संरक्षणबिना समृद्धि सम्भव नभएको अनुभूति गर्दै समुदाय पनि संरक्षण अभियानमा जोडिन थालेको बताए ।
हाल निकुञ्ज क्षेत्रभित्र करिब ३० वटा पानीपोखरी निर्माण भइसकेका छन् । यी प्रयासले वन्यजन्तुहरू निकुञ्जभित्रै सुरक्षित र सहज रूपमा बस्न थालेसँगै मानव–वन्यजन्तु द्वन्द घट्दै गएको छ । बाँके राष्ट्रिय निकुञ्जमा गरिएको बासस्थान व्यवस्थापनले संरक्षण र सहअस्तित्वको उदाहरण प्रस्तुत गरेको छ । दीर्घकालीन रूपमा यस्ता पहलले वन्यजन्तु संरक्षण मात्र होइन, पर्यटन प्रवद्र्धन र स्थानीय समुदायको जीवनस्तर सुधारमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।






