जुम्लाको आर्थिक गणनामा लक्ष्यभन्दा ८ सय ५३ बढी प्रतिष्ठान गणना

गाेल्डेन बुढा
जुम्ला,११ असार।
जुम्लामा पछिल्ला वर्षहरूमा आर्थिक गतिविधि विस्तार हुँदै गएको तथ्य दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ ले उजागर गरेको छ। कृषि, व्यापार, सेवा तथा साना उद्यमको पहुँच गाउँस्तरसम्म फैलिँदै जाँदा जिल्लामा प्रतिष्ठानको संख्या उल्लेख्य रूपमा बढेको देखिएको हो।जिल्लामा सम्पन्न आर्थिक गणनाअनुसार ५ हजार २ सय ६४ वटा प्रतिष्ठान गणना गरिएको छ। जसमध्ये ५ हजार २ सय ३७ वटा प्रतिष्ठान कागजी माध्यमबाट तथा २७ वटा प्रतिष्ठान अनलाइन प्रणालीमार्फत गणना गरिएको हो। पहिलो आर्थिक गणना २०७५ मा जिल्लाभर ३ हजार ७८ प्रतिष्ठान गणना भएका थिए। त्यसको तुलनामा यसपटक १ सय ७० प्रतिशतले वृद्धि भएको जिल्ला आर्थिक गणना अधिकारी दिपेन्द्रसिंह धामीले बताए।आर्थिक गणनाको प्रारम्भिक लक्ष्य ४ हजार ४ सय ११ प्रतिष्ठान निर्धारण गरिएको थियो। तर गणनाका क्रममा अपेक्षाभन्दा बढी आर्थिक इकाइ भेटिएपछि लक्ष्यभन्दा ८ सय ५३ बढी प्रतिष्ठान अभिलेखीकरण भएका छन्।

यसले जुम्लामा पछिल्ला वर्षमा व्यापार, सेवा, कृषि फर्म तथा साना उद्यमको दायरा विस्तार भएको संकेत गरेको छ।स्थानीय तहगत विवरणअनुसार चन्दननाथ नगरपालिका आर्थिक गतिविधिको मुख्य केन्द्रका रूपमा देखिएको छ। नगरपालिकाभित्र मात्रै १ हजार ९ सय ५० प्रतिष्ठान गणना भएका छन्, जुन जिल्लाको कुल प्रतिष्ठान संख्याको ठूलो हिस्सा हो। सदरमुकाम खलंगासहित व्यापारिक कारोबार, वित्तीय सेवा, होटल तथा खुद्रा व्यवसायको केन्द्र रहेकाले चन्दननाथमा प्रतिष्ठान संख्या उच्च देखिएको हो।यता सबैभन्दा कम प्रतिष्ठान हिमा गाउँपालिकामा ३ सय गणना भएका छन्। भौगोलिक विकटता, न्यून जनघनत्व तथा सीमित बजार पहुँचका कारण त्यहाँ आर्थिक गतिविधि तुलनात्मक रूपमा कम रहेको देखिन्छ।अन्य स्थानीय तहमा गुठीचौर गाउँपालिकामा ४ सय ६७, तातोपानी गाउँपालिकामा ४ सय ३७, सिंजा गाउँपालिकामा ४ सय ५५, पातारासी गाउँपालिकामा ५ सय १८, तिला गाउँपालिकामा ६ सय १६ तथा कनकासुन्दरी गाउँपालिकामा ४ सय ९६ प्रतिष्ठान गणना गरिएको छ।गत चैत १ गतेदेखि असार ७ गतेसम्म सञ्चालन गरिएको गणनाका लागि जिल्लाभर १७ जना गणक र तीन जना सुपरिवेक्षक परिचालन गरिएको थियो। एक नगरपालिका र सात गाउँपालिका गरी आठवटै स्थानीय तहका ६० वडामा पुगेर तथ्यांक संकलन गरिएको थियो।आर्थिक गणनामा उद्योग, व्यापार, सेवा क्षेत्र, कृषि फर्म, रोजगार तथा उत्पादनसम्बन्धी विस्तृत विवरण संकलन गरिएको जिल्ला आर्थिक गणना कार्यालय जुम्लाले जनाएको छ। प्राप्त तथ्यांकले जिल्लाको आर्थिक संरचना, रोजगारीको अवस्था, उद्यमशीलताको विस्तार तथा भावी विकास योजना निर्माणका लागि आधार तयार गर्ने अपेक्षा गरिएको छ।
गणना कार्य सम्पन्न गर्न जिल्ला आर्थिक गणना समन्वय समिति, आठवटै स्थानीय तह, वडा कार्यालय, उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी तथा जिल्लास्थित सञ्चारकर्मीहरूको समेत सहयोग रहेको कार्यालयले जनाएको छ।हिमाली जिल्लाका रूपमा परिचित जुम्लामा पछिल्ला वर्षमा बजार विस्तार, सेवा क्षेत्रको वृद्धि, कृषि व्यवसायीकरण र वैदेशिक रोजगारीबाट फर्किएकाहरूको लगानी बढ्दै जाँदा आर्थिक गतिविधि क्रमशः विस्तार भइरहेको संकेत यस गणनाले दिएको छ।






