काम खोज्दै जुम्ला पुगे,अहिले कामले खोज्छ: सुरेश चाैधरी

गाेल्डेन बुढा
जुम्ला,११ असार ।
कैलालीको टिकापुर नगरपालिका–१ राजीपुर गाउँका ३० वर्षीय सुरेश चौधरीको सपना नेपाली प्रहरी बन्ने थियो। त्यसकै लागि उनले २०७७ सालमा नेपाली प्रहरीको भर्ना फाराम भरे। तर नतिजा अपेक्षाअनुसार आएन। प्रहरी बन्ने सपना अधुरै रह्यो, पढाइ पनि कक्षा ११ पछि रोकियो। त्यसपछि उनले रोजेको बाटो थियो,सीप र श्रमको।दुई वर्षअघि रोजगारीको खोजीमा जुम्ला आएका चौधरी अहिले जिल्लाभरि परिचित पेन्टिङ कामदारका रूपमा स्थापित भएका छन्। पेन्टिङ लगाउने, टायल हाल्ने, भवन सजावट गर्ने, आर्ट तथा चित्र बनाउनेजस्ता काममा दक्ष उनले अहिले चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाको भवनमा पेन्टिङ गरिरहेका छन्। उक्त कामका लागि १२ हजार रुपैयाँ पारिश्रमिक तय भएको उनले बताए। “तीन दिनभित्र सकिन्छ होला,” उनले भने।चौधरीका अनुसार जुम्लामा निर्माण गतिविधि बढेसँगै दक्ष जनशक्तिको माग पनि बढेको छ। निजी घरदेखि सरकारी कार्यालय, गैरसरकारी संस्था, विद्यालय, होटल तथा शौचालय निर्माणसम्म उनका हात पुगेका छन्। कामको चाप यति धेरै छ कि कहिलेकाहीँ खाजा खाने समयसमेत नपाइने उनी सुनाउँछन्।“काम खोजेर हिँड्नुपर्दैन, काम आफैं आउँछ,” उनले भने, “कहिलेकाहीँ एकैपटक धेरै ठाउँबाट माग आउँछ। समय मिलाउनै कठिन हुन्छ।”उनले लम्कीस्थित बर्जर डिलरमार्फत पेन्टिङसम्बन्धी व्यावसायिक सीप सिकेका हुन्। त्यही सीप अहिले उनको मुख्य आम्दानीको आधार बनेको छ। दैनिक एक हजार पाँच सयदेखि दुई हजार पाँच सय रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए।

मासिक न्यूनतम ४० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म कमाइ हुने उनको दाबी छ।जुम्लामा बिताएको दुई वर्षको अवधिमा उनले २५ देखि ३५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिसकेका छन्। सदरमुकाम खलंगास्थित बर्जर डिलरसँग समन्वय गरेर विभिन्न स्थानमा काम गर्दै आएका उनी अहिले परिवारको मुख्य आर्थिक आधार बनेका छन्।१० सदस्यीय परिवारका सदस्य रहेका चौधरी कमाएको अधिकांश रकम घर पठाउँछन्। परिवारको खर्च, बालबालिकाको पढाइ र दैनिक जीवन चलाउन उनको कमाइ महत्वपूर्ण बनेको छ।उनको अनुभवले बेरोजगारीको समाधान जागिरमा मात्र सीमित नभएको देखाउँछ। औपचारिक शिक्षाभन्दा पनि सीप, मेहनत र लगनशीलताले राम्रो आम्दानी दिलाउन सक्ने उदाहरणका रूपमा चौधरी उभिएका छन्।“सरकारी जागिर नपाए पनि निराश हुनुपर्दैन,” उनले भने, “सीप सिकेपछि कामको अभाव हुँदैन। जुनसुकै सीप भए पनि त्यसलाई इमान्दारीपूर्वक प्रयोग गर्न सके राम्रो कमाइ गर्न सकिन्छ।”कर्णालीजस्ता दुर्गम जिल्लामा दक्ष प्राविधिक जनशक्तिको अभाव भइरहेका बेला चौधरीजस्ता युवाले सीपलाई रोजगारी र आम्दानीको भरपर्दो माध्यम बनाउन सकिने सन्देश दिएका छन्।प्रहरीको सपना पूरा नभए पनि उनले आफ्नो जीवनलाई असफल हुन दिएनन्। बरु एउटा असफलताबाट सिकेर अर्को बाटो रोजे, र त्यही बाटोले उनलाई आर्थिक रूपमा आत्मनिर्भर बनायो






