राप्तीमा जलस्तर बढेसँगै बाँकेमा उच्च सतर्कता, उद्धारका लागि सुरक्षाकर्मी २४ घण्टा ‘स्ट्यान्डबाइ’

बाँके,८ साउन ।
पछिल्ला केही दिनदेखि निरन्तर वर्षा भइरहेका कारण राप्ती नदीको जलस्तर बढ्न थालेपछि बाँकेमा बाढी, डुबान तथा नदी कटानको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले उच्च सतर्कता अपनाएको छ। सम्भावित विपद्को अवस्थामा तत्काल उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन तालिमप्राप्त सुरक्षाकर्मीलाई २४ घण्टा तयारी अवस्थामा राखिएको छ।
समितिका अनुसार बाढीको उच्च जोखिम रहेका क्षेत्रको पहिचान गरी सशस्त्र प्रहरी बलले राप्तीसोनारी गाउँपालिका–६ कुण्डामा सशस्त्र प्रहरी बल अस्थायी मनसुन प्रतिकार्य सुरक्षा बेस स्थापना गरेको छ। उक्त बेसलाई आवश्यक जनशक्ति, सवारीसाधन तथा उद्धार सामग्रीसहित चौबिसै घण्टा ‘स्ट्यान्डबाइ’ अवस्थामा राखिएको छ।
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बाढी, डुबान तथा अन्य प्राकृतिक विपद्का घटनामा तत्काल उद्धार र राहत कार्य सञ्चालन गर्न सो सुरक्षा बेस स्थापना गरिएको बताउनुभयो। उहाँका अनुसार विपद्को सूचना प्राप्त हुनासाथ प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा सहयोग गर्न सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ।
सशस्त्र प्रहरी नायब निरीक्षक चित्रबहादुर पुनको कमाण्डमा खटिएको टोलीलाई आवश्यक उद्धार उपकरणसहित २४ घण्टा तयारी अवस्थामा रहन निर्देशन दिइएको पनि उहाँले जानकारी दिनुभयो।
सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरी हेडक्वार्टर बाँकेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टका अनुसार मनसुनजन्य विपद्को अवस्थामा छिटो प्रतिकार्य गर्न तथा स्थानीय बासिन्दाको जिउधनको सुरक्षा सुनिश्चित गर्न अस्थायी मनसुन प्रतिकार्य सुरक्षा बेस सञ्चालनमा ल्याइएको हो। उहाँले सुरक्षाकर्मीलाई उद्धारका लागि आवश्यक सवारीसाधन, लाइफ ज्याकेट, डुङ्गालगायतका सामग्रीसहित तयारी अवस्थामा राखिएको बताउनुभयो।
राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले हरेक वर्ष राप्ती नदीमा आउने बाढी, डुबान र नदी कटानका कारण गाउँपालिकाका बासिन्दा सबैभन्दा बढी प्रभावित हुने गरेको उल्लेख गर्दै यसपटक समयमै सुरक्षा बेस स्थापना गरिएकाले विपद्को अवस्थामा स्थानीयलाई तत्काल उद्धार गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो।
मनसुन सक्रिय भएसँगै जिल्ला प्रशासन कार्यालयले नदी तथा खोलानालाको सतहमा हुने परिवर्तनबारे नियमित निगरानी भइरहेको जनाएको छ। साथै नदी किनार र जोखिमयुक्त बस्तीका नागरिकलाई सतर्क रहन, अनावश्यक रूपमा नदी तर्ने वा जोखिमपूर्ण स्थानमा नजान तथा स्थानीय प्रशासनले जारी गर्ने सूचना र निर्देशनको पालना गर्न आग्रह गरेको छ।

राप्तीमा जलस्तर बढेसँगै बाँकेमा उच्च सतर्कता, उद्धारका लागि सुरक्षाकर्मी २४ घण्टा ‘स्ट्यान्डबाइ’

राप्तीमा जलस्तर बढेसँगै बाँकेमा उच्च सतर्कता, उद्धारका

Leave a comment

Your email address will not be published. Required fields are marked *