स्याउ खेतीमा उत्कृष्टता देखाउने जुम्लामा तीन कृषक सम्मानित

गाेल्डेन बुढा
जुम्ला,९ असार।
जुम्लामा कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका तीन जना कृषक सम्मानित भएका छन्। जिल्ला कृषि विकास कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कृषि विकास कार्यक्रमअन्तर्गत ‘मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गर्दै कृषकहरूलाई सम्मान गरेको हो।कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै उत्पादन वृद्धि, व्यवसायिकता तथा नवप्रवर्तनमा योगदान पुर्याएका अगुवा तथा अनुभवी कृषकलाई पुरस्कृत गरिएको हो। जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले कृषकहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरे।सम्मान कार्यक्रममा बोल्दै समन्वय प्रमुख आचार्यले कृषकहरूलाई बधाई दिँदै यस्ता सम्मानले अन्य किसानलाई समेत कृषि पेशातर्फ आकर्षित गर्ने बताए। “यसले कृषि क्षेत्रमा थप ऊर्जा र उत्साह जागृत गर्नेछ,” उनले भने।कृषि विकास कार्यालयका सूचना अधिकारी दीपकसिंह धामीका अनुसार जुम्लाको हिमा गाउँपालिका–३ मोफ्ला गाउँस्थित कठायत एग्रो फर्मका सञ्चालक तथा स्याउ कृषक सार्की कठायत प्रथम भएका छन्। व्यावसायिक रूपमा स्याउ खेती थालेको १५ वर्ष पुगेका कठायतसँग ७ सय स्याउका बिरुवा छन्। १२ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको उनको बगैंचाबाट वार्षिक करिब साढे ९ लाख रुपैयाँ आम्दानी भइरहेको छ।यस्तै चन्दननाथ नगरपालिका–८ तलिउम गाउँस्थित भवानी कृषि तथा एग्रो फर्मका सञ्चालक भैरवबहादुर धराला द्वितीय भएका छन्। धरालाले १२ वर्षअघि सुरु गरेको बगैंचामा हाल ४ सय ५० वटा स्याउका बिरुवा छन्। ११ हजार २ सय ३० वर्गमिटर क्षेत्रफलमा फैलिएको बगैंचाबाट उनले वार्षिक तीन लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्। दुवै कृषकले स्थानीय जातका स्याउ खेती गर्दै आएका छन्।पुरस्कारस्वरूप प्रथम हुने कठायतलाई नगद ३० हजार रुपैयाँ, प्रमाणपत्र तथा दोसल्ला प्रदान गरिएको छ भने द्वितीय हुने धरालालाई नगद २५ हजार रुपैयाँ, प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको छ।यसैबीच, गुठीचौर गाउँपालिका–३ गर्ज्याङकाेट गाउँका गुठीचौर एग्रो फर्मका सञ्चालक तथा राष्ट्रिय उत्कृष्ट कृषक टंक गिरीलाई पनि कार्यालयले विशेष सम्मान गरेको छ। केही दिनअघि राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका गिरीको उपलब्धिलाई स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म कृषि क्षेत्रको प्रेरणादायी उदाहरणका रूपमा लिइएको कृषि कार्यालयले जनाएको छ।गिरीलाई गत जेठमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार–२०८२ प्रदान गरिएको थियो। सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नगद दुई लाख रुपैयाँ, मेडल, प्रमाणपत्र र दोसल्लासहित सम्मान गरेका थिए।२०७९ सालदेखि सुरु गरिएको गिरीको व्यावसायिक स्याउ बगैंचामा रेड, गाला र फुजी जातका १५ हजार स्याउका बिरुवा रहेका छन्। झण्डै २२ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त बगैंचाबाट वर्षेनी एक करोड रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ। स्थानीय स्तरबाट सुरु भएको कृषि यात्रालाई राष्ट्रिय पहिचानमा पुर्याउन सफल गिरीलाई कृषि क्षेत्रको सफल नमुनाका रूपमा हेरिएको छ।कार्यालय प्रमुख अधिकारीका अनुसार कृषि पेशाप्रति युवापुस्ता तथा अन्य कृषकलाई आकर्षित गर्दै व्यवसायिक खेती विस्तार गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको हो। पुरस्कारका लागि पाँच जना कृषकको आवेदन परेकोमा मूल्याङ्कनपछि दुई जना उत्कृष्ट कृषक छनोटमा परेका थिए।कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने कृषकलाई सम्मान र प्रोत्साहन गर्ने यस्ता कार्यक्रमले उत्पादन वृद्धि, आत्मनिर्भरता तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।जिल्ला कृषि विकास कार्यालयका तथ्यांकअनुसार चालु आर्थिक वर्षमा जुम्लामा १७ हजार ५५८ दशमलव ७५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो। यसमध्ये ५ हजार ५९१ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात हुँदा ४१ करोड २९ लाख ८९ हजार २७० रुपैयाँ आम्दानी भएको छ।गत आर्थिक वर्ष २०८१/८२ मा १९ हजार ८४० मेट्रिक टन स्याउ उत्पादन भएकोमा ९ हजार ३३१ मेट्रिक टन निर्यात भई ६१ करोड २ लाख ४७ हजार ४ सय रुपैयाँ आम्दानी भएको थियो।यस वर्ष जुम्लामा स्याउ खेतीको क्षेत्रफल ४ हजार ३२५ हेक्टरबाट बढेर ४ हजार ४४५ हेक्टर पुगेको छ। फल दिने क्षेत्र २ हजार हेक्टरबाट २ हजार १२५ हेक्टरमा विस्तार भएको छ भने स्याउ खेती गर्ने घरधुरी संख्या १९ हजार १२५ बाट १९ हजार १५० पुगेको छ। स्याउको उत्पादन, व्यापार तथा बजारीकरणमा संलग्न किसानको संख्या पनि निरन्तर बढ्दै गएको कृषि कार्यालयले जनाएको छ।






