सम्पादकीय : कर्णालीलाई चिनौं !

छिमेकी भारतका विभिन्न सहरबाट आएका विद्यार्थीहरू जुम्ला पुगेर चिकित्सा शिक्षा हाँसिल गरिरहेका छन् । यो तथ्य आफैंमा एउटा गौरवपूर्ण इतिहास हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अब दुर्गमको पर्याय होइन, सम्भावनाको प्रतीक बन्दै गएको छ । साक्षी गुप्ता, कस्तुरी सिंह र कार्तिकेय मिश्रजस्ता विद्यार्थीहरूको अनुभवले चिकित्सा शिक्षा केवल प्रविधि र पाठ्यपुस्तकमा सीमित छैन भन्ने देखाउँछ । यो सामाजिक यथार्थसँग जोडिएको अभ्यास हो । उनीहरूले जुम्लालाई रोज्नु सुविधा अभावको बाध्यता होइन, अर्थपूर्ण शिक्षाको खोजी हो । केही वर्षअघिसम्म कर्णाली क्षेत्र गरिबी, अशिक्षा र पलायनको प्रतिक थियो । युवाहरू रोजगारीका लागि भारततर्फ जान्थे । तर आज त्यही भूगोलमा विदेशी विद्यार्थीहरू ज्ञान र सीप सिक्न आउनु केवल भौगोलिक परिवर्तन होइन, मानसिकता र धारणा दुवैको रूपान्तरण हो । कर्णाली अब अन्तिम विकल्प होइन, चेतन चयन बन्दैछ ।
यो परिवर्तन आकस्मिक होइन । २०६८ सालमा स्थापना भएको प्रतिष्ठानले सीमित स्रोत–साधनका बीच पनि उल्लेखनीय प्रगति गरेको छ । शैक्षिक अनुशासन, व्यावहारिक अभ्यास र लाइसेन्स परीक्षामा उत्कृष्ट नतिजाले यसलाई विश्वसनीय बनाएको छ । तर यो सफलताको कथा केवल संस्थागत उपलब्धिमा सीमित छैन । यो राजनीतिक इच्छाशक्ति, सामाजिक संघर्ष र क्षेत्रीय असमानताविरुद्धको प्रतिरोधको परिणाम हो । स्थानीय र राष्ट्रिय स्तरका अविश्वासलाई चिर्दै प्रतिष्ठानले आफूलाई स्थापित गर्नु केवल शैक्षिक उपलब्धि होइन राज्यको समावेशी विकासप्रतिको प्रतिबद्धताको प्रमाण पनि हो । आज कर्णालीमा चिकित्सकहरू टिकिरहेका छन्, विशेषज्ञ सेवा विस्तार हुँदैछ र सबैभन्दा महत्वपूर्ण—कर्णाली आफैं चिकित्सक उत्पादन गर्ने भूगोलमा रूपान्तरण हुँदैछ । यसले दीर्घकालिन रूपमा स्वास्थ्य सेवा सुदृढ गर्ने आधार तयार पार्दैछ । तर प्रश्न अझै बाँकी छन् ।
के राज्यले यो उपलब्धिलाई दीगो बनाउन आवश्यक लगानी र नीतिगत प्राथमिकता दिन सक्छ ? कर्णालीको यो सकारात्मक कथा निरन्तरता पाउन पूर्वाधार, जनशक्ति र अनुसन्धानमा थप लगानी अपरिहार्य छ । अन्ततः, जुम्लाको शान्त भूगोलमा देखिएको यो परिवर्तन केवल एउटा संस्थाको सफलता होइनः यो नेपालको विकासको चरणमा एउटा नयाँ अध्याय हो । कर्णाली अब करुणाको कथा होइन, क्षमताको प्रमाण हो । र यदि राज्यले सही रूपमा साथ दियो भने यो कथा देशका अन्य दुर्गम भूगोलका लागि पनि प्रेरणाको स्रोत बन्न सक्छ । कुनै सयम सिटामोलसम्म नपाइने कर्णाली अब विस्तारै गुणस्तरीय स्वास्थ्य सेवासँगै डाक्टर उत्पादन गर्ने थलो बन्दै गएको छ । यो कर्णालीका लागि मात्र नभई सिङ्गो देशका लागि गौरवको विषय हो । अब कर्णालीलाई दुर्गम भुगोलको दृष्टिकोणले नभई सम्भावनाको आँखाबाट हेरिन जरुरी छ । कर्णालीले संघीय राजधानी काठमाण्डौंको मात्र साथ नपाएको हो । यहाँको सम्भावनालाई चिनेर राज्यले यथोचित लगानी गरेको खण्डमा कर्णालीले समर्ग मुलुकको समृद्धिमा काँध थाप्न सक्ने तथ्यलाई बिसर्न हुँदैन । यो बदलिदो कर्णालीको मानक हो ।






