नौबस्ता औद्योगिक क्षेत्र अब कार्यान्वयनतर्फ डीपीआर संशोधनसँगै निर्माणले गति लिने संकेत

कोहलपुर, ९ बैशाख ।

लामो समयसम्म घोषणामै सीमित रहेको बैजनाथ गाउँपालिका–३ स्थित नौबस्ता औद्योगिक क्षेत्र अब व्यवहारमै रूपान्तरण हुने संकेत देखिएको छ । नयाँ सरकार गठनसँगै परियोजनाको डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) संशोधन प्रक्रिया अघि बढाइएपछि निर्माण कार्यले गति लिने अपेक्षा गरिएको हो ।

नेपाल सरकारअन्तर्गत औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले देशभरका औद्योगिक क्षेत्रहरू एकैसाथ अघि बढाउने रणनीतिअनुसार नौबस्ताको डीपीआर परिमार्जन प्रक्रिया सुरु गरेको जनाएको छ । यसअघि २०७५ सालमै स्वीकृत डीपीआरमा करिब आठ अर्ब लागत अनुमान गरिए पनि कार्यान्वयनमा ढिलाइ हुँदा आयोजना अन्योलमा परेको थियो ।

संशोधित डीपीआरमार्फत निर्माण मोडालिटी, प्रक्रिया र आवश्यक पूर्वाधारलाई स्पष्ट पार्दै परियोजनालाई कार्यान्वयन चरणमा लैजाने तयारी गरिएको लिमिटेडका निर्देशक सञ्जयलाल मानन्धरले जानकारी दिए । उनका अनुसार अब सरकारले एकमुष्ट रूपमा औद्योगिक क्षेत्र निर्माण अघि बढाउने विषयमा ठोस निर्णय लिनेछ ।

औद्योगिक क्षेत्रभित्र सडक, ढल, विद्युत् सबस्टेसन, खानेपानी आपूर्ति तथा फोहोरमैला व्यवस्थापनजस्ता आधारभूत पूर्वाधार निर्माण गर्ने योजना छ । सुरुमा ५२५ बिघामा प्रस्तावित क्षेत्र अहिले ३३८ बिघामा सीमित गरिएको छ भने बस्ती व्यवस्थापनका लागि ५५.६ बिघा जमिन छुट्टाइएको छ ।

परियोजना कार्यान्वयनमा सबैभन्दा ठूलो अवरोधको रूपमा रहेको बस्ती व्यवस्थापन प्रक्रिया पनि अब अन्तिम चरणमा पुगेको छ । औद्योगिक क्षेत्रभित्र रहेका संरचनाहरू हटाउने कार्य भइरहेको छ भने बाँकी रहेका केही घरहरू समेत चालु आर्थिक वर्षभित्र व्यवस्थापन गरिने तयारी गरिएको छ ।

नयाँ सरकारको सक्रियतासँगै स्थानीय तह र निजी क्षेत्र दुवै पक्ष उत्साहित देखिएका छन् । बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले आयोजना अघि बढेमा स्थानीय विकासमा ऐतिहासिक उपलब्धि हाँसिल हुने बताए । त्यस्तै, उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले रोजगारी सिर्जनाका लागि यस्तो परियोजना तत्काल सुरु गर्नुपर्नेमा जोड दिए ।

लामो प्रतीक्षापछि नौबस्ता औद्योगिक क्षेत्रले अब गति लिने संकेत देखिएको छ । योजना कार्यान्वयनमा रूपान्तरण भएमा यसले बाँके मात्र नभई समग्र लुम्बिनी प्रदेशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

नौबस्ता औद्योगिक क्षेत्र अब कार्यान्वयनतर्फ  डीपीआर संशोधनसँगै निर्माणले गति लिने संकेत

चार वर्षसम्म अधुरै हवाई उडानमा सहुलियत दिने

नौबस्ता औद्योगिक क्षेत्र अब कार्यान्वयनतर्फ  डीपीआर संशोधनसँगै निर्माणले गति लिने संकेत

पञ्चकोशीमा धार्मिक पर्यटन मेला 

Leave a comment

Your email address will not be published. Required fields are marked *