जुम्लामा बढ्दो वर्षपिच्छे भालु आतंक

गाेल्डेन बुढा

जुम्ला,६ जेठ।
बिहानको समय थियो। जुम्लाको गुठिचौर गाउँपालिका–३ गर्याङ्गकोटका २४ वर्षीय सरचिन बुढा दैनिकजस्तै भेडा–बाख्रा लिएर छल्लाटिया खोलातर्फको राष्ट्रिय जंगल पुगेका थिए। गाउँको सामान्य दैनिकीझैँ त्यो दिन पनि सुरु भएको थियो। तर बिहान करिब ६ बजेतिर जंगलको शान्त वातावरण अचानक चिच्याहटले चिरियो। जङ्गलबाट निस्किएको भालुले एक्कासी सरचिनमाथि आक्रमण गर्‍यो।दुर्गम जंगलमा भएको आक्रमणपछि उनी रगताम्य अवस्थामा ढले। घटनास्थल नजिक रहेका स्थानीयले चिच्याहट सुनेपछि मात्रै अवस्था थाहा पाए। स्थानीय पूर्ण बुढाले प्रहरी चौकी झारज्वालामा खबर गरेपछि प्रहरी नायव निरीक्षक तारा केसीको नेतृत्वमा चार सदस्यीय टोली घटनास्थलतर्फ खटियो। स्थानीय र प्रहरीको संयुक्त प्रयासमा सरचिनको उद्धार गरियो। शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई गुठिचौर गाउँपालिकाको एम्बुलेन्समार्फत सदरमुकाम अवस्थितकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइयाे।तर सरचिनमाथिको आक्रमण एउटा घटना होइन। यो जुम्लामा विस्तारै गहिरिँदै गएको मानव–वन्यजन्तु द्वन्द्वको निरन्तरता हो, जसले अहिले गाउँबस्तीको मनोविज्ञानसम्म प्रभावित पार्न थालेको छ।कहिल्यै जंगलभित्र सीमित मानिने भालु अहिले गाउँनजिकै देखिन थालेका छन्। खेतबारी, गोठ, स्याउ बगैँचा र घाँस काट्ने पाखासम्म भालु पुग्न थालेपछि स्थानीयको दैनिकी त्रासपूर्ण बनेको छ। बिहान सबेरै घाँस काट्न जंगल जाने महिलादेखि पशु चराउन जाने युवासम्म सबैमा एउटा साझा डर छ,“आज सुरक्षित फर्किन पाइन्छ कि पाइँदैन ?”गतवर्ष असोजमा जुम्लाको तातोपानी गाउँपालिका–४ गिडीरिखोलामा आफ्नै स्याउ फार्ममा काम गरिरहेका १८ वर्षीय दीपेन्द्र न्यौपानेमाथि भालुले आक्रमण गर्‍यो। टाउको, खुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेपछि उनलाई तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो।त्यही दिन गुठिचौर गाउँपालिका–५ धिता गाउँकी ५५ वर्षीया झापु धिताल घाँस काट्ने क्रममा जंगलमै भालुको आक्रमणमा परिन्।

उनको टाउको र ढाडमा गम्भीर चोट लाग्यो। त्यसको अघिल्लो दिन मात्रै गुठिचौर–३ नानीपातल जंगलमा घाँस काट्न गएकी ४५ वर्षीया बुङ्ची कामी र उनकी १६ वर्षीया छोरी तिर्सना कामीमाथि पनि भालुले आक्रमण गरेको थियो।यी घटनाले जुम्लाका ग्रामीण बस्तीमा जंगल अब प्राकृतिक स्रोतको क्षेत्र नभई जोखिमको भूगोल बन्दै गएको संकेत गर्छ।वन क्षेत्रको घट्दो प्राकृतिक सन्तुलन, डढेलो, अनियन्त्रित वन विनाश, खाद्य संकट र जलवायु परिवर्तनका कारण वन्यजन्तुहरूको बासस्थान प्रभावित भइरहेको जानकारहरू बताउँछन्। जंगलभित्र पर्याप्त आहारा नपाउँदा भालुहरू बस्ती नजिक आउन थालेका छन्।अर्कोतर्फ जुम्लाका अधिकांश ग्रामीण परिवारको जीविका अझै जंगलमै निर्भर छ। घाँस, दाउरा, जडीबुटी, पशुचौपाया चराउने काम र खेतीपातीको चक्र जंगलसँग गाँसिएको छ। त्यसैले जंगलबाट टाढा बस्ने विकल्प स्थानीयसँग छैन।विशेषगरी महिलाहरू सबैभन्दा बढी जोखिममा छन्। बिहान अँध्यारोमै घाँस काट्न जाने, एक्लै जंगल पसेर दाउरा बोक्ने र दिनभर जंगलमै श्रम गर्नुपर्ने बाध्यताले उनीहरूलाई प्रत्यक्ष जोखिममा पुर्‍याएको छ।२०७८ साल साउन २७ गते जुम्ला सदरमुकाम खलंगामै बिहान साढे ४ बजे पसल खोल्न गएका हिमराज रोकाया र निर्मला रोकायामाथि भालुले आक्रमण गरेको घटना अझै स्थानीयले बिर्सिएका छैनन्। सदरमुकामसम्म भालु पुग्नु सामान्य घटना नभएको स्थानीय बताउँछन्। त्यसयता “भालु अब जंगलमै सीमित छैन” भन्ने बुझाइ गाउँगाउँमा गहिरिएको छ।

यता डिभिजन वन कार्यालय जुम्लाले वन्यजन्तुबाट भएको क्षतिबापत ९ जना पीडितहरूलाई यसै वर्ष राहत रकम वितरण गरेको छ । हिमाली कालो भालुको आक्रमणबाट प्रभावित तथा क्षतिग्रस्त भएकाहरूलाई कुल ३० लाख ९ हजार ६ सय रुपैयाँ वितरण गरिएको डिभिजनल वन अधिकृत भरत बहादुर बुढथापाले बताए।उनका अनुसार तातोपानी गाउँपालिका–४ डिगिखोलाका दीपेन्द्र न्यौपानेलाई ७७ हजार ६ सय २० रुपैयाँ, चन्दननाथ नगरपालिका–३ सिम्खाडाका रामशरण उपाध्यायलाई ४० हजार रुपैयाँ, गुठिचौर गाउँपालिका–३ गज्र्याङ्कोटका बुङ्चि कामीलाई ६० हजार ६ सय ४२ रुपैयाँ र गुठिचौर–५ धितागाउँका झापु धितालाई पाँच हजार ७ सय ४४ रुपैयाँ राहत प्रदान गरिएको छ ।यस्तै, हिमा गाउँपालिका–५ बाजागाडका हरिचन्द्र रोकायालाई २० हजार रुपैयाँ, चन्दननाथ नगरपालिका–२ का रामकृष्ण बुढथापालाई पाँच हजार रुपैयाँ तथा सोही वडाका लाल बहादुर बुढथापालाई ७० हजार रुपैयाँ वितरण गरिएको छ । त्यसैगरी, चन्दननाथ नगरपालिका–३ का राजेन्द्र बहादुर बुढथापालाई २० हजार रुपैयाँ र चन्दननाथ–८ का लोक बहादुर रोकायालाई १० हजार रुपैयाँ राहत उपलब्ध गराइएको छ । जङ्गली वन्यजन्तुको आक्रमणबाट कसैलाई शारीरिक चोटपटक लागेको, कसैका घरपालुवा पशु मरेका तथा मकै बालीमा क्षति पुगेका कारण प्रकृति र नियमानुसार राहत रकम वितरण गरिएको वन कार्यालयले जनाएको छ ।विशेष गरी भेँडाबाख्रा चराउन जङ्गल क्षेत्रतर्फ जाने किसान तथा गोठालाहरूलाई उच्च सावधानी अपनाउन डिभिजन वन कार्यालय जुम्लाले आग्रह गरेको छ ।

 

जुम्लामा बढ्दो वर्षपिच्छे भालु आतंक

चार पुस्तापछि अंशबण्डा, तर नटुटेको सम्बन्ध गर्भमै

Leave a comment

Your email address will not be published. Required fields are marked *