जुम्लामा अझै चर्पी(शाैचालय) विहीन सयौं परिवार

गाेल्डेन बुढा
जुम्ला,६ जेठ ।
जुम्लालाई वि.सं. २०७२ फागुन २० गते खुला दिसामुक्त क्षेत्र घोषणा गरियाे।जुम्ला जिल्ला नेपालको ३४ औँ खुला दिसा मुक्त जिल्लाको रुपमा घोषणा भएको थियो। तत्कालीन खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले जुम्लालाई खुला दिशा मुक्त जिल्ला घोषणा गरेका थिए। जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समिति सदस्य सचिव अर्जुन कुमार वमद्धारा प्रस्ततु प्रतिवेदनमा हाल जिल्लाका २० हजार ८ सय ४४ घरधुरीको सरसफाईमा पहुँच रहेको ,सुधारिएको सौचालय ९३ प्रतिशत,७५ प्रतिशतलाई आधारभुत खानेपानी पुगेको थियो ।जुम्लाका अधिकांश स्थानीय तहले वर्षौंअघि खुला दिसामुक्त क्षेत्र घोषणा गरे। गाउँ–गाउँमा चर्पी निर्माण अभियान चलाइयो। सरकारी तथा गैरसरकारी संस्थाले सरसफाइलाई विकाससँग जोडेर व्यापक कार्यक्रम सञ्चालन गरे। तर, २०७८ सालको राष्ट्रिय जनगणनाले सार्वजनिक गरेको तथ्यांकले भने जिल्लामा अझै सयौं परिवार शौचालयको पहुँच बाहिर रहेको वास्तविकता उजागर गरेको छ।जिल्लाका केही स्थानीय तहमा ९८ प्रतिशतभन्दा बढी परिवारले शौचालय प्रयोग गरिरहेका भए पनि कतिपय दुर्गम बस्तीमा अझै चर्पी निर्माण हुन सकेको छैन। कतै आर्थिक अभाव, कतै पानीको समस्या, त कतै चेतनाको कमीका कारण आधारभूत सरसफाइको अवस्था अझै अपूर्ण देखिएको हो।चन्दननाथ नगरपालिका मा १.८४ प्रतिशत परिवार शौचालय बिहिन रहेको पाइएको छ। २०७८ को जनगणना अनुसार नगरपालिका भित्र ९८.१६ प्रतिशत घरपरिवारले शौचालय प्रयोग गर्छन्। नगरपालिका भित्र ५ हजार ३ सय ६७ परिवार छन्। जसमध्ये फ्लस भएको सार्वजनिक ढल भएको २६ परिवार, फ्लस नभएको सेप्टिक ट्याङ्क २ हजार ६ सय ६ परिवार, साधारण २ हजार ५ सय ५७, सार्वजनिक ६१ र शौचालय नभएको ९९ घरपरिवार रहेको पाइएको छ।जिल्लाको सदरमुकाम रहेको नगरपालिकामै झण्डै सय परिवार चर्पीविहीन हुनु सरसफाइ अभियानकै लागि चुनौतीपूर्ण तथ्य मानिएको छ। शहरी क्षेत्र विस्तार भए पनि व्यवस्थित ढल, पानी र आधुनिक शौचालय निर्माणको अवस्था अझै कमजोर देखिएको छ।पातारासी गाउँपालिकामा बसोबास गर्ने कुल परिवारमध्ये ९७.७० प्रतिशत चर्पी प्रयोग गर्छन् भने २.३० प्रतिशत नागरिक शौचालय बिहिन छन्। कुल परिवार ३ हजार ३ सय ४२ छन्। जसमध्ये फ्लस भएको ९२, फ्लस भएको सेप्टिक ट्याङ्की ८ सय १०, साधारण २ हजार तीन सय ५५ परिवार चर्पी प्रयोग गरिरहेका छन्। सार्वजनिक ८ परिवार र शौचालय नभएको ७७ परिवार छन्। यस्तै पातारासीमा अझै पनि साधारण चर्पीको प्रयोग अत्यधिक छ। आधुनिक शौचालयभन्दा परम्परागत संरचनामा निर्भरता बढी देखिन्छ।कनकासुन्दरी गाउँपालिका मा ९८.६२ प्रतिशत परिवारले शौचालय प्रयोग गर्छन् भने १.३८ प्रतिशत परिवार पहुँच बाहिर छन्। उक्त गाउँपालिकामा कुल परिवार २ हजार ७ सय ५४ बसोबास छन्। फ्लस भएको शौचालय प्रयोग गर्ने २७ परिवार छन् भने फ्लस सेप्टिक ट्याङ्की भएको शौचालय २ हजार २ सय ३० परिवारले प्रयोग गरिरहेका छन्। यस्तै साधारण चर्पी ४ सय ५६, सार्वजनिक ३ र शौचालय बाहिर ३८ परिवार छन्।यहाँ सेप्टिक ट्याङ्की भएका शौचालयको संख्या उल्लेख्य भए पनि सबै परिवारसम्म सुविधा पुग्न सकेको छैन। ग्रामीण बस्तीमा अझै साधारण चर्पीमै निर्भरता देखिन्छ।सिंजा गाउँपालिकामा कुल परिवारमध्ये ९७.३२ प्रतिशत परिवारमा शौचालयको सुविधा पुगेको छ, भने २.६८ प्रतिशत परिवार पहुँच बाहिर छन्। कुल परिवार संख्या २ हजार ३ सय ४२ छ। फ्लस भएको सार्वजनिक ढल ८ परिवारले प्रयोग गरिरहेका छन्। फ्लस भएको सेप्टिक ट्याङ्की भएको शौचालय १ हजार ७ सय ६० परिवारले प्रयोग गरेका छन्। साधारण चर्पी ५ सय १८ परिवारले प्रयोग गर्छन्। सार्वजनिक शौचालय ५ परिवार छन् भने नभएको ६३ परिवार रहेको पाइएको छ।इतिहास र सभ्यताको केन्द्र मानिएको सिंजामा पनि अझै दर्जनौं परिवार शौचालयविहीन रहनु विकासको असमान पहुँचको संकेतका रूपमा हेरिएको छ।गुठिचौर गाउँपालिका भित्रका ३.८५ प्रतिशत परिवार शौचालयको पहुँच बाहिर रहेको पाइएको छ। ९६.१५ प्रतिशत परिवार प्रयोग गरिरहेका छन्। ९४ परिवारको शौचालय छैन। सार्वजनिक ४, साधारण २ हजार १ सय ९६, सेप्टिक ट्याङ्की १ सय २४ र फ्लस भएको २६ परिवारका चर्पी छन्। कुल २ हजार ४ सय ४४ परिवार बसोबास गर्छन्।गुठिचौरमा साधारण चर्पीको संख्या अत्यधिक देखिन्छ। आर्थिक रूपमा कमजोर तथा दुर्गम बस्तीका परिवार आधुनिक शौचालय निर्माण गर्न नसकेको स्थानीय बताउँछन्।तातोपानी गाउँपालिका मा ४.०४ प्रतिशत परिवारका शौचालय छैनन्। ९५.९६ प्रतिशत परिवार पहुँचमा पुगेका छन्। ३ हजार ३ सय १८ परिवारको बसोबास छ। फ्लस भएको शौचालय १ सय ४३, सेप्टिक ट्याङ्की भएको चर्पी १ हजार ७ सय १८ परिवार प्रयोग गर्छन्। साधारण १ हजार तीन सय १९, सार्वजनिक ४ र शौचालय नभएको १ सय ४३ परिवार छन्।जिल्लामध्ये सबैभन्दा बढी चर्पीविहीन परिवार तातोपानीमा देखिएको छ। यहाँ अझै सयभन्दा बढी परिवार आधारभूत सरसफाइ सुविधाबाट वञ्चित छन्।तिला गाउँपालिका का १.९५ प्रतिशत परिवार शौचालयको पहुँचमा नपुगेको पाइएको छ भने ९८.०५ प्रतिशत पहुँचमा छन्। कुल परिवार संख्या २ हजार ६ सय ६७ मध्ये फ्लस भएको शौचालय ३ परिवार, सेप्टिक ट्याङ्की भएको १ हजार ८ सय ५६, साधारण ७ सय ५०, सार्वजनिक शौचालय ६ परिवारले प्रयोग गर्छन्। ५२ परिवार चर्पी बिहिन अवस्थामा छन्।यस्तै हिमा गाउँपालिका मा २ हजार १ सय ७६ परिवारको बसोबास छ। जसमध्ये ४.२३ प्रतिशत परिवार शौचालयको पहुँच बाहिर छन्। ९५.७७ प्रतिशत परिवार शौचालयको पहुँचमा छन्। फ्लस भएको ७, सेप्टिक ट्याङ्की शौचालय १ हजार ४ सय ९९ परिवारले प्रयोग गरिरहेका छन्। साधारण ५ सय ७५, सार्वजनिक ३ परिवार र चर्पी नभएको ९२ परिवार छन्।बस्तीको विकट अवस्थाका कारण हिमा गाउँपालिकामा सरसफाइ पूर्वाधार विस्तार चुनौतीपूर्ण बनेको देखिन्छ।जनगणनाको तथ्यांकले जुम्लामा शौचालय प्रयोगको पहुँच बढे पनि गुणस्तरीय सरसफाइ अझै चुनौतीकै रूपमा रहेको देखाएको छ। अधिकांश स्थानीय तहमा साधारण चर्पीको प्रयोग अत्यधिक छ भने आधुनिक र सुरक्षित शौचालयको संख्या सीमित छ। खुला दिसामुक्त घोषणा गरेपछि अनुगमन र दिगोपनमा ध्यान नदिँदा कतिपय ठाउँमा सरसफाइ अभियान कागजमै सीमित हुने जोखिम बढेको छ। जिल्लाका दुर्गम बस्तीमा अझै आधारभूत सरसफाइको पहुँच पुर्याउन राज्यको थप लगानी, जनचेतना र दिगो योजना आवश्यक देखिएको छ।






