मनसुन ढिलो सक्रिय हुँदा बर्दियामा ९० प्रतिशत धान रोपाइँ, आकाशे पानीकै भरमा किसान

बर्दिया ,२ साउन ।

यस वर्ष मनसुनी वर्षा ढिलो र अपेक्षाकृत कमजोर भए पनि बर्दियामा करिब ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। पर्याप्त वर्षा नहुँदा अधिकांश किसान आकाशे पानीकै भरमा खेतमा व्यस्त छन् भने केही स्थानमा अझै पनि रोपाइँ जारी छ।
जिल्लाका गुलरिया, मधुवन, बाँसगढी, ठाकुरबाबा नगरपालिका तथा बढैयाताल गाउँपालिकाका केही क्षेत्रमा ढिलो गरी रोपाइँ भइरहेको छ। पछिल्ला दिनमा मनसुन केही सक्रिय भएसँगै विशेषगरी गुलरिया र बढैयाताल क्षेत्रमा रोपाइँले गति लिएको छ।
गुलरिया नगरपालिका–१० का किसान मिलन लोधले सिँचाइ सुविधा अभाव र पर्याप्त वर्षा नहुँदा समयमै रोपाइँ गर्न नसकिएको बताउनुभयो। उहाँका अनुसार धानको ब्याड तयार भइसके पनि खेतमा पानी नजम्दा किसानहरू पानीको प्रतीक्षामै बस्न बाध्य भएका थिए।
“ब्याड उखाल्ने काम भइसकेको थियो। पानी कहिले पर्ला भनेर पर्खिनुपर्‍यो। अहिले बल्ल केही वर्षा भएपछि रोपाइँ गर्न थालेका छौँ,”उहाँले भन्नुभयो।
गुलरिया नगरपालिका–६, ७, ९, १० र ११ नम्बर वडाका किसानहरू अझै पनि पर्याप्त वर्षाको अपेक्षामा छन्। ती क्षेत्रमा सिँचाइको स्थायी व्यवस्था नहुँदा खेती पूर्ण रूपमा मनसुनी वर्षामै निर्भर छ।
यस्तै, बढैयाताल गाउँपालिका–२ का किसान धनबहादुर खत्रीले पर्याप्त वर्षा नभएपछि जमिनमुनिको पानी पम्पमार्फत निकालेर शुक्रबारदेखि रोपाइँ सुरु गरेको बताउनुभयो। उहाँले गत वर्ष भने १५ असारअघि नै सम्पूर्ण रोपाइँ सकिएको स्मरण गर्नुभयो।
“यस वर्ष वर्षा ढिलो भयो। बाध्य भएर पम्पबाट पानी तानेर खेतमा हाल्दै रोपाइँ गर्नुपरेको छ,” उहाँले भन्नुभयो।
यता राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा भने कर्णाली नदीबाट सञ्चालित सिँचाइ प्रणालीका कारण धान रोपाइँ प्रभावित भएको छैन। सिँचाइको सहज पहुँच भएकाले यी क्षेत्रमा करिब शतप्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाकी प्रमुख कमला अधिकारीका अनुसार जिल्लाभर हालसम्म करिब ९० प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ।
“मनसुन सक्रिय हुँदै गएकाले बाँकी क्षेत्रको रोपाइँ पनि तीव्र गतिमा भइरहेको छ,” उहाँले भन्नुभयो“यदि मौसम अनुकूल रह्यो भने अबको एक साताभित्र जिल्लाभर शतप्रतिशत धान रोपाइँ सम्पन्न हुनेछ।”
बर्दियामा हरेक वर्ष करिब ५० हजार १०० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। कृषि यहाँका अधिकांश नागरिकको मुख्य जीविकोपार्जनको आधार भएकाले समयमै हुने वर्षा र पर्याप्त सिँचाइ व्यवस्थाले उत्पादनमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ।
यस वर्ष सुरुवातमा मनसुन कमजोर हुँदा किसानमा चिन्ता बढे पनि पछिल्ला दिनमा वर्षा सक्रिय हुन थालेपछि रोपाइँले गति लिएको छ। यद्यपि सिँचाइ सुविधा नपुगेका क्षेत्रमा किसान अझै पनि आकाशे पानीकै भरमा खेती गर्न बाध्य छन्। कृषि विज्ञहरूले उत्पादन बढाउन वर्षामा मात्र निर्भर रहने अवस्थाको अन्त्य गर्दै सिँचाइ पूर्वाधार विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

मनसुन ढिलो सक्रिय हुँदा बर्दियामा ९० प्रतिशत धान रोपाइँ, आकाशे पानीकै भरमा किसान

रोल्पामा पहिरोमा पुरिएर एक जनाको मृत्यु

मनसुन ढिलो सक्रिय हुँदा बर्दियामा ९० प्रतिशत धान रोपाइँ, आकाशे पानीकै भरमा किसान

मनसुन ढिलो सक्रिय हुँदा बर्दियामा ९० प्रतिशत

Leave a comment

Your email address will not be published. Required fields are marked *