रोल्पामा पहिरोमा पुरिएर एक जनाको मृत्यु

अविरल वर्षाका कारण सडक माथिबाट खसेको पहिरोमा पुरिएर रोल्पामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्लाको परिवर्तन गाउँपालिका–४ सिरवारीका ५७ वर्षीय देउप्रसाद घर्तीको पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। शनिबार बिहान बाटो हिँडिरहेका बेला सडक माथिबाट अचानक खसेको पहिरोले उहाँलाई पुरेको थियो।
घटनाबारे बिहान ५:३० बजे इलाका प्रहरी कार्यालय पाछावाङमा जानकारी प्राप्त हुनासाथ प्रहरी वरिष्ठ नायब निरीक्षक नरसिंह खत्रीको कमाण्डमा चार सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। बिहान ७:२० बजे घटनास्थल पुगेको प्रहरी टोलीले घर्तीको घटनास्थलमै मृत्यु भइसकेको पुष्टि गरेको हो।




