सम्पादकीय :  गुटको राजनीतिले कांग्रेस बलियो बन्दैन  

नेपाली कांग्रेस यतिबेला केवल आन्तरिक विवादको चरणमा छैन, नेतृत्वको स्वीकार्यता र संगठनात्मक विश्वासको गम्भीर संकटबाट गुज्रिरहेको छ । सुर्खेतमा केही दिनको अन्तरमा आयोजित दुई फरक कार्यक्रम र ती कार्यक्रमबाट आएका सन्देशले कांग्रेसभित्रको ध्रुवीकरण अब सतहमा मात्रै सीमित नरहेको स्पष्ट देखाएको छ । एकातिर सभापति गगन थापाले पार्टी रूपान्तरण, डिजिटल अभियान र नयाँ पुस्ताको नेतृत्वमार्फत कांग्रेसलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेका छन् । अर्कोतिर पूर्णबहादुर खड्का जस्ता पुराना संस्थापन पक्षका नेताले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गर्दै पार्टी विभाजनको चेतावनी दिन थालेका छन् । यसले कांग्रेसभित्रको संकट वैचारिकभन्दा बढी मनोवैज्ञानिक र भावनात्मक बन्दै गएको संकेत गर्छ । राजनीतिक दलभित्र मतभेद हुनु अस्वाभाविक होइन । अझ कांग्रेसजस्तो लामो इतिहाँस बोकेको दलमा विचार, पुस्ता र नेतृत्वबीच प्रतिस्पर्धा हुनु स्वाभाविक प्रक्रिया हो । तर, अहिलेको समस्या स्वस्थ बहसको सीमाभन्दा बाहिर गएको देखिन्छ । 

अदालत र निर्वाचन आयोगबाट वैधानिकता प्राप्त गरेपछि पनि गगन थापा नेतृत्व संस्थापन पक्षको पूर्ण विश्वास जित्न असफल देखिनु त्यसको प्रमाण हो । कानुनी मान्यता प्राप्त गर्नु र संगठनभित्र भावनात्मक स्वीकार्यता निर्माण गर्नु फरक कुरा हुन् । कांग्रेस अहिले यही अन्तरको पीडामा छ । पूर्णबहादुर खड्काले गगन थापालाई सानेपाको मात्रै सभापति भनेको अभिव्यक्ति केवल व्यक्तिगत असन्तुष्टि होइन, त्यो संस्थापन पक्षको मनोदशाको प्रतिनिधित्व हो । यसले पार्टीभित्र अझै पनि हामी र तिमीको रेखा गहिरो रहेको देखाउँछ । विडम्बना के छ भने नयाँ पुस्ताले परिवर्तनको नारा दिए पनि गुटगत संस्कारबाट पूर्ण रूपमा मुक्त हुन सकेको छैन । पुरानो पुस्ताले शक्ति जोगाउन खोजिरहेको छ भने नयाँ पुस्ताले पुरानो संरचना भत्काउन हतार गरिरहेको देखिन्छ । यही टकरावले कांग्रेसलाई संगठनात्मक संकटतर्फ धकेल्दैछ । कांग्रेसको इतिहास विभाजन र पुनर्मिलन दुवैले भरिएको छ । गिरिजाप्रसाद कोइरालाको समयदेखि शेरबहादुर देउवासम्म आइपुग्दा पार्टीले पटक–पटक फुट र एकताको अनुभव गरिसकेको छ । 

त्यसैले अहिलेको संकट अन्तिम अवस्था होइन । तर, यो संकट समाधान गर्न नेतृत्वले अहंकार होइन, संवाद रोज्नुपर्छ । शक्ति प्रदर्शन, समानान्तर कार्यक्रम र सार्वजनिक आरोप–प्रत्यारोपले केवल कार्यकर्तामा निराशा बढाउँछ । लोकतान्त्रिक पार्टीभित्र असहमति हुन सक्छ, तर असहमतिको व्यवस्थापन गर्न नसक्ने दलले देशको नेतृत्व गर्ने नैतिक आधार कमजोर बनाउँछ । आज कांग्रेसको सबैभन्दा ठूलो आवश्यकता वैधानिक नेतृत्वभन्दा पनि सर्वस्वीकार्य नेतृत्व हो । गगन थापाले रूपान्तरणको एजेन्डा अघि बढाउँदै गर्दा संस्थापन पक्षलाई विश्वासमा लिन सक्नुपर्छ । त्यस्तै, पुरानो पुस्ताले पनि परिवर्तनलाई केवल आफ्नो अस्तित्वमाथिको आक्रमणका रूपमा हेर्नु हुँदैन । अन्यथा कांग्रेस औपचारिक रूपमा नफुटे पनि व्यवहारिक रूपमा दुई धारमा विभाजित हुँदै जाने खतरा बढ्नेछ । लोकतन्त्रको प्रमुख शक्ति मानिएको कांग्रेस कमजोर हुँदा त्यसको असर केवल पार्टीभित्र सीमित रहने छैन, समग्र लोकतान्त्रिक राजनीतिमै पर्नेछ । त्यसैले अहिले कांग्रेसभित्र बल्झिएको संकट समाधान गर्न दुवै पक्ष लचक हुन आवश्यक छ । वैचारिक मन्थनबाट निस्कने समाधानलाई गुटगत राजनीतिले ओझलमा पारियो भने कांग्रेस इतिहासमै कमजोर शक्ति बन्नेमा दुई मत छैन । 

सम्पादकीय :  गुटको राजनीतिले कांग्रेस बलियो बन्दैन  

कर्णाली सरकारको विकास  खर्च जम्मा २१ प्रतिशत

Leave a comment

Your email address will not be published. Required fields are marked *