चुरेको काखमा चम्किँदै बाबा बर्फानी मन्दिर : भारतीय पर्यटकसमेत तान्दै बाँकेको उदीयमान धार्मिक गन्तव्य

बाँके,३ असार ।
राप्तीसोनारी गाउँपालिकास्थित चुरे पहाडको काखमा अवस्थित बाबा बर्फानी मन्दिर पछिल्लो समय धार्मिक तथा आन्तरिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। प्राकृतिक सौन्दर्य, आध्यात्मिक वातावरण र चार दशकदेखि तपस्यारत बाबा बर्फानीको महिमाले यहाँ दैनिक रूपमा सयौं श्रद्धालु तथा पर्यटकलाई आकर्षित गरिरहेको छ।
नेपालगञ्जबाट करिब ३० किलोमिटर दूरीमा रहेको यो धार्मिक स्थल पछिल्ला वर्षहरूमा विशेषगरी आन्तरिक पर्यटनको केन्द्र बन्दै गएको छ। नेपालका विभिन्न जिल्लाबाट आउने श्रद्धालुसँगै छिमेकी भारतबाट समेत दर्शनार्थीहरूको आगमन बढ्न थालेको छ। धार्मिक आस्था, प्राकृतिक मनोरमता र आश्रमको शान्त वातावरणले यहाँ पुग्ने जो–कोहीलाई पुनः फर्केर आउन प्रेरित गर्ने गरेको छ।
चार दशकदेखि सोही स्थानमा तपस्यारत बाबा बर्फानीको दर्शन तथा आशीर्वाद लिन आउने श्रद्धालुहरू बाबाको आध्यात्मिक शक्ति र तपस्याप्रतिको विश्वासका कारण यहाँ आकर्षित हुने गरेका छन्। आश्रममा पाइने आत्मीय आतिथ्य, प्राकृतिक वातावरण र आध्यात्मिक अनुभूतिले मन्दिरको लोकप्रियता झन् बढाएको छ।
यद्यपि करिब छ वर्षअघिदेखि मात्रै यहाँ नियमित रूपमा श्रद्धालु तथा पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्न थालेको हो। भारतबाट दर्शनका लागि आएका सन्तोष गुप्ताले मन्दिर क्षेत्रको धार्मिक महत्त्व, प्राकृतिक सौन्दर्य र शान्त वातावरणले आफूहरूलाई बारम्बार यहाँ आउन प्रेरित गर्ने गरेको बताए। उनका अनुसार धार्मिक यात्रासँगै प्रकृतिको आनन्द लिन सकिने भएकाले यो स्थल भारतीय पर्यटकका लागि पनि आकर्षक बन्दै गएको छ।


हरियाली जंगल, मनोरम पहाडी दृश्य र शान्त वातावरणले घेरिएको मन्दिर क्षेत्रमा पुग्ने श्रद्धालुहरूले आध्यात्मिक शान्तिसँगै प्रकृतिसँग नजिक हुने अवसर पाउने गरेका छन्। यसैले पछिल्लो समय परिवार, धार्मिक समूह तथा पर्यटकीय टोलीहरू समेत यहाँ पुग्ने क्रम बढ्दो छ।
तर बढ्दो पर्यटक चापअनुसार आवश्यक पूर्वाधार भने अझै पर्याप्त हुन सकेको छैन। आन्तरिक पर्यटक शिव पोख्रेल र सरिता पौडेलका अनुसार मन्दिरसम्म पुग्ने सडकको अवस्था कमजोर हुनुका साथै खानेपानीको अभावले दर्शनार्थीहरूले विभिन्न समस्या भोग्नुपरेको छ। उनीहरूले सडक स्तरोन्नति, स्वच्छ खानेपानी तथा विश्रामस्थल निर्माणमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताएका छन्।
धार्मिक तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले “घुमौं नेपाल, नेपालको पैसा नेपालमै खर्च गरौं” भन्ने नारासहित विभिन्न स्थानीय संघ–संस्थाले समेत मन्दिरको प्रचारप्रसारलाई तीव्रता दिएका छन्। गुल्मेली सेवा समाज बाँकेका अध्यक्ष हरिलाल न्यौपानेले स्थानीय तहको पहलमा केही पूर्वाधार निर्माणका काम भइरहे पनि बढ्दो पर्यटक चापलाई मध्यनजर गर्दै अझ व्यापक लगानी र दीर्घकालीन विकास योजना आवश्यक रहेको बताए।राप्तीसोनारी गाउँपालिकाका पूर्व अध्यक्ष लाहुराम थारुले मन्दिर तथा आश्रमको दैनिक सञ्चालन श्रद्धालुहरूको दान, चन्दा र सहयोगबाट भइरहेको जानकारी दिए। धार्मिक पर्यटनको विकाससँगै स्थानीय होटल, पसल, यातायात र अन्य व्यवसायमा समेत सकारात्मक प्रभाव परेको उल्लेख गर्दै उनले यसले स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरे।
यता, मन्दिर क्षेत्र संरक्षणमा चुनौती पनि उत्तिकै छन्। मन्दिरका पुजारी केशव गिरीका अनुसार हरेक वर्षजसो हुने वन डढेलो र आगलागीका घटनाले आश्रमका भौतिक संरचना जोगाउन कठिनाइ हुने गरेको छ। आगलागी नियन्त्रण, वन संरक्षण तथा धार्मिक सम्पदाको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायको प्रभावकारी सहयोग आवश्यक रहेको उनको भनाइ छ।
धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनाको अनुपम संगम बनेको बाबा बर्फानी मन्दिर आज बाँकेको उदीयमान धार्मिक पर्यटन केन्द्रका रूपमा विकास हुँदै गएको छ। सडक, खानेपानी, विश्रामस्थल, सरसफाइ, सुरक्षा तथा सूचना केन्द्रजस्ता आधारभूत पूर्वाधारलाई व्यवस्थित रूपमा विकास गर्न सकिए यस क्षेत्रले बाँकेको पर्यटन नक्सामा नयाँ पहिचान स्थापित गर्ने निश्चित देखिन्छ। साथै, आन्तरिक तथा भारतीय पर्यटकको बढ्दो आगमनले स्थानीय रोजगारी, व्यवसाय र समग्र आर्थिक गतिविधिमा समेत उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।

चुरेको काखमा चम्किँदै बाबा बर्फानी मन्दिर : भारतीय पर्यटकसमेत तान्दै बाँकेको उदीयमान धार्मिक गन्तव्य

बर्दियाका युवालाई बाख्रा तथा बंगुर पालन सम्बन्धी

Leave a comment

Your email address will not be published. Required fields are marked *