कांग्रेसमा बढ्दो किचलो एकताको नारामाथि विभाजनको छायाँ

ओम शाही
सुर्खेत, २ जेठ ।
शनिबार नेपाली कांग्रेसले सुर्खेतको वीरेन्द्रनगरमा ‘नेपाली कांग्रेसको बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठि आयोजना गर्यो । दुई दिन चल्ने गोष्ठिका प्रमुख वक्ता थिए, नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्का । खड्काको गृह जिल्लामा भएको यो कार्यक्रमलाई विशेष महत्वका साथ पनि हेरिएको छ ।
गोष्ठीको पहिलो दिन खड्काले दिएको अभिव्यक्तिलाई लिएर कांग्रेसभित्र नयाँ तरंग पैदा भएको छ । विशेषगरी पार्टी सभापति गगन थापाप्रति उनले सार्वजनिक रूपमा व्यक्त गरेको असन्तुष्टिले कांग्रेस अब वैचारिक मतभेदभन्दा पनि विभाजनको मनोविज्ञानतर्फ उन्मुख भएको संकेत गरेको छ । यो कार्यक्रमलाई सामान्य विचार गोष्ठीका रूपमा मात्रै हेरिएको छैन ।

किनकि, केही दिनअघि २८ र २९ वैशाखमा कांग्रेसले यही प्रकृतिको अर्को कार्यक्रम सुर्खेतमै आयोजना गरेको थियो, जसको नेतृत्व सभापति थापाले गरेका थिए । प्रदेश, जिल्ला तथा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई सहभागी गराएर गरिएको उक्त भेलाले २१ बुँदे संकल्पपत्र जारी गरेको थियो । त्यसक्रममा थापाले कर्णालीको समृद्धिको खाका प्रस्तुत गर्नुका साथै पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
भेलाको २१औं बुँदामा ‘जरा अभियान’ अन्तर्गत चलिरहेको क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई प्रभावकारी बनाउने, डिजिटल अभिलेखमार्फत सदस्यको योगदानलाई संस्थागत गर्ने तथा आम सदस्यलाई प्रत्यक्ष पार्टी अभियानसँग जोड्ने संकल्प गरिएको थियो । त्यसबेला कांग्रेसभित्र नयाँ नेतृत्व र पुरानो संस्थापनबीच सहकार्यको संकेत देखिएको थियो । तर, केही दिनमै सुर्खेतबाट खड्काले दिएको अभिव्यक्तिले त्यो सहमतिको वातावरण टिकाउ नभएको स्पष्ट पारेको छ ।
कांग्रेसभित्रको विवादको जरो भने २३–२४ भदौमा भएको जेन–जी आन्दोलनपछि गहिरिएको मानिन्छ । आन्दोलनपछि नेतृत्व हस्तान्तरणको विषय पेचिलो बन्दै जाँदा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी रुपान्तरणको एजेन्डा अघि सारेका थिए ।
आन्दोलनका क्रममा घाइते भएपछि तत्कालीन सभापति शेरबहादुर देउवाले पार्टी सञ्चालनको जिम्मेवारी खड्कालाई दिएका थिए । तर, विशेष परिस्थितिमा नेतृत्व सम्हालेका खड्काले तत्कालीन महामन्त्रीहरूसँग पर्याप्त समन्वय गर्न नसकेको आरोप लाग्दै आयो ।
त्यसपछि थापा–शर्मा समूहले विशेष महाधिवेशनको बाटो रोज्दै नेतृत्व परिवर्तनको अभियान अघि बढायो । उक्त महाधिवेशनमार्फत थापा सभापतिमा निर्वाचित भए । तर, संस्थापन पक्षले विशेष महाधिवेशनलाई वैधानिक मान्न अस्वीकार गर्दै निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्म पुगेको थियो । अन्ततः आयोग र अदालत दुवैले थापा नेतृत्वलाई वैधानिकता दिएपछि पार्टीभित्रको विवाद समाधान हुने अपेक्षा गरिएको थियो ।

तर, पछिल्ला गतिविधिले कांग्रेसभित्रको द्वन्द्व झन् चर्किएको देखिन्छ । सुर्खेतको गोष्ठीमा खड्काले खुला रूपमा थापालाई सिंगो कांग्रेसको सभापति बन्न नसकेको टिप्पणी गरे । उनले आफूलाई भेट्न आएका थापालाई सानेपाको मात्रै सभापति नभई सम्पूर्ण कांग्रेसको नेता बन्न सुझाव दिएको बताए ।
खड्काले पार्टी अहिले विभाजनको डिलमा पुगेको स्वीकार गर्दै त्यसलाई जोगाउने वा फुटाउने जिम्मा थापाकै काँधमा रहेको संकेत गरे । ‘पार्टी विभाजनको डिलमा छ, म त्यो बाटोमा जान हुन्न भन्छु । तर, पार्टी मिलाउने कि फुटाउने तपाईंहरूको जिम्मामा छ,’ उनले भने । उनले विगतको उदाहरण दिँदै तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाका कारण कांग्रेस फुटेको र फेरि उनकै पहलमा एकता भएको स्मरण गरे ।
अहिले पनि पार्टीलाई जोगाउने वा विघटनतर्फ लैजाने जिम्मेवारी वर्तमान सभापति थापाकै हातमा रहेको उनको भनाइ थियो । खड्काको अभिव्यक्तिलाई कांग्रेसभित्र शक्ति सन्तुलनको नयाँ संकेतका रूपमा हेरिएको छ । विशेष गरी अदालतबाट वैधानिकता पाएपछि पनि थापा नेतृत्वले संस्थापन पक्षलाई पूर्ण रूपमा विश्वासमा लिन नसकेको आरोप बढिरहेको छ ।
अर्कोतर्फ, थापा पक्ष भने पार्टी रूपान्तरणको नाममा पुरानो संरचना र कार्यशैली परिवर्तन गर्नुपर्ने अडानमा देखिएको छ । कांग्रेसका एक नेताका अनुसार अहिले पार्टीभित्र वैचारिक बहसभन्दा पनि नेतृत्व स्वीकार्यता मुख्य समस्या बनेको छ । ‘गगन थापालाई कानुनी रूपमा सभापति स्वीकार गरिए पनि भावनात्मक रूपमा संस्थापन पक्ष अझै तयार देखिँदैन,’ नाम बताउन नचाहने ति नेताले भने ।
स्थानीय तहदेखि केन्द्रसम्म समानान्तर शक्ति प्रदर्शन भइरहेका बेला कांग्रेसभित्रको विवाद अब संगठनात्मक संकटमा परिणत हुनसक्ने चिन्ता उनको छ । सुर्खेतमा केही दिनको अन्तरमा भएका दुई कार्यक्रमले पनि कांग्रेसभित्र दुई ध्रुव स्पष्ट रूपमा देखिएको विश्लेषण हुन थालेको छ । आगामी निर्वाचन नजिकिँदै जाँदा पार्टी एकताभन्दा शक्ति संघर्षमै केन्द्रित देखिनु कांग्रेसका लागि चुनौतीपूर्ण बन्न सक्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
अहिलेको अवस्थामा थापा र खड्का पक्षबीच संवाद र सहमतिभन्दा आरोप–प्रत्यारोप बढ्दै जाँदा कांग्रेस फुटको डिलमै पुगेको सन्देश कार्यकर्तामाझ फैलिन थालेको छ । नेपाली कांग्रेसभित्र पछिल्लो समय देखिएको शक्ति संघर्षलाई धेरैले अब सामान्य आन्तरिक विवादभन्दा पनि नेतृत्व र स्वीकार्यताको संकटका रूपमा हेर्न थालेका छन् ।
विशेषगरी गगन थापा पक्षले पार्टी रूपान्तरण र एकढिक्का कांग्रेसको सन्देश दिइरहेका बेला पूर्णबहादुर खड्का पक्षबाट सार्वजनिक रूपमा आएको असन्तुष्टिले पार्टीभित्रको अविश्वास झनै गहिरिएको बताउछन् मध्यपश्चिम विश्वविद्यालयका पूर्वडीनसमेत रहेका राजनीतिक विश्लेषक पीताम्बर ढकाल ।
उनी भन्छन्, ‘राजनीतिक रूपमा हेर्दा अहिले कांग्रेसभित्र तीन तहको समस्या देखिन्छ । पहिलो, नेतृत्व स्वीकार्यताको संकट । दोस्रो, पुरानो संस्थापन र नयाँ पुस्ताबीचको शक्ति संघर्ष । तेस्रो, संगठनभित्रको गुटगत संस्कार ।’
गगन थापाले आफूलाई परिवर्तनकारी नेतृत्वका रूपमा प्रस्तुत गरिरहेको भएपनि संस्थापन पक्षलाई विश्वासमा लिन नसकेको ढकालको टिप्पणी छ । उनले पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्ने, डिजिटल अभियान, जरा अभियान जस्ता कार्यक्रममार्फत संगठन पुनर्जीवित गर्ने प्रयास गरिरहेको तर, कांग्रेसजस्तो पुरानो र गुटमा विभाजित पार्टीमा केवल नाराले मात्रै एकता कायम गर्न गाह्रो हुने बताए ।
विशेषगरी संस्थापन पक्षले आफूलाई पाखा लगाइएको अनुभूति गरिरहेको अवस्थामा थापालाई सर्वस्वीकार्य सभापति बन्न चुनौती देखिएको उनको ठम्याई छ । अर्कोतर्फ, पूर्णबहादुर खड्काको पछिल्लो अभिव्यक्ति पनि व्यक्तिगत असन्तुष्टि मात्र नभई संस्थापन पक्षको मनोविज्ञानको प्रतिनिधित्वका रूपमा हेरिएको उनले बताए । ‘सार्वजनिक रूपमा पार्टी विभाजनको डिलमा पुगेको भन्नु र थापालाई सानेपाको मात्रै सभापति भन्नु सामान्य टिप्पणी होइन । यसले कांग्रेसभित्रको दूरी कति बढेको छ भन्ने संकेत गर्छ,’ ढकाल भन्छन् ।
उनका अनुसार समस्या गगन थापा वा पूर्णबहादुर खड्कामा मात्रै सीमित छैन । उनी भन्छन्, ‘कांग्रेसभित्र लामो समयदेखि गुटगत राजनीति संस्थागत हुँदै आएको छ । शेरबहादुर देउवा, गिरिजाप्रसाद कोइरालादेखि अहिलेको पुस्तासम्म आइपुग्दा पनि पार्टीभित्र मेरो समूह र तिम्रो समूह भन्ने मानसिकता अन्त्य हुन सकेको छैन । अहिलेको पुस्ताले पनि त्यही संस्कारलाई नयाँ भाषामा निरन्तरता दिइरहेको देखिन्छ ।’
यही कारणले कांग्रेसभित्रका धेरै शुभेच्छुक र पुराना कार्यकर्तामा निराशा बढेको विश्लेषक ढकालको दावी छ । सात दशक लामो लोकतान्त्रिक संघर्षबाट आएको पार्टीलाई सहमतिमा चलाउनुपर्नेमा छुट्टाछुट्टै मञ्च बनाएर शक्ति प्रदर्शन गर्ने प्रवृत्ति बढेको उनको बुझाइ छ ।
एउटै जिल्लामा केही दिनको अन्तरमा समान प्रकृतिका फरक–फरक कार्यक्रम हुनु पनि त्यही शक्ति प्रदर्शनको संकेतका रूपमा बुझ्नु पर्ने उनी बताउछन् । उनका अनुसार अहिले कांग्रेसको सबैभन्दा ठूलो समस्या गार्जियनसिपको अभाव हो । पार्टीभित्र सबैलाई समेट्ने, असन्तुष्ट पक्षलाई विश्वासमा लिने र नेतृत्वबीच पुलको भूमिका खेल्ने व्यक्तित्व कमजोर बन्दै गएकाले कांग्रेसबाट नेताहरू अन्य दलतर्फ जानेक्रम पनि बढिरहेको उनको ठम्याइ छ ।
के कांग्रेस फेरि मिल्न सक्छ ?
राजनीतिक रूपमा कांग्रेस मिलनको सम्भावना पूर्ण रूपमा समाप्त भने भएको छैन । किनकि कांग्रेसको इतिहासमा विभाजन र पुनर्मिलन दुवैका उदाहरण छन् । तर, अहिलेको समस्या वैचारिकभन्दा पनि अहमता र नेतृत्व नियन्त्रणसँग जोडिएको देखिन्छ ।
गगन पक्ष पुरानो संरचना तोड्न चाहन्छ भने संस्थापन पक्ष आफूलाई समाप्त पार्ने प्रयास भइरहेको ठानिरहेको छ । यस्तो अवस्थामा दुवैले एकअर्काको कुरा खाने अवस्था नबनेसम्म वास्तविक एकता कठिन देखिन्छ ।
त्यसैले अहिलेको कांग्रेसलाई हेर्दा बाहिरबाट एकताको सन्देश देखिए पनि भित्र गहिरो अविश्वास, प्रतिस्पर्धा र असुरक्षाले काम गरिरहेको राजनीतिक विश्लेषक ढकालको ठम्याइ छ । यही अवस्था लम्बिँदै गए कांग्रेसभित्र औपचारिक विभाजन नभए पनि व्यवहारिक रूपमा दुई धारको राजनीति अझ बलियो हुँदै जाने सम्भावना देख्छन् ढकाल ।





