खाता करिडोरमा ‘कृत्रिम गन्ध’ प्रविधि परीक्षण  बाघ–चितुवासँगको द्वन्द घटाउने नयाँ प्रयास

सरला सुवेदी 

बर्दिया,२ जेठ ।

भारतको कर्तनीयाघाट वनविहार र नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने अन्तर्राष्ट्रिय जैविक मार्गका रूपमा परिचित खाता वन क्षेत्रमा पछिल्ला वर्षहरूमा बाघ तथा चितुवाको आक्रमण बढ्दो बन्दै गएको छ । 

मानव बस्ती नजिकसम्म वन्यजन्तु पुग्ने क्रम तीव्र भएपछि स्थानीयवासी त्रसित बनेका छन् । यही चुनौतीलाई मध्यनजर गर्दै अहिले खाता क्षेत्रमा बाघ तथा चितुवालाई मानव बस्तीबाट टाढा राख्न “कृत्रिम गन्ध संकेत” प्रविधिको परीक्षण सुरु गरिएको छ ।

डिभिजन वन कार्यालयको सहकार्य, खाता सामुदायिक वन समन्वय समितिको समन्वय तथा तराई भूपरिधि संरक्षण कार्यक्रमको सहयोगमा सुरु गरिएको यो प्रविधि नेपालमै पहिलोपटक खाता जैविक मार्ग क्षेत्रमा परीक्षण भइरहेको हो । अफ्रिकी मुलुकहरूमा सफल भइसकेको यो विधि नेपालमा पनि प्रभावकारी भए मानव–वन्यजन्तु द्वन्द न्यूनीकरणमा महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ ।

खाता वन क्षेत्रलाई मानव–वन्यजन्तु द्वन्दका दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ । बाघ, चितुवा, हात्ती लगायतका वन्यजन्तु पटक–पटक गाउँ बस्तीमा प्रवेश गर्ने र पशुचौपाया तथा मानवमाथि आक्रमण गर्ने घटनाले स्थानीयवासी वर्षौंदेखि त्रसित छन् । यस्ता घटनालाई कम गर्न गत वर्षदेखि नै नयाँ गन्ध प्रविधिको पाइलट परीक्षण सुरु गरिएको थियो भने यस वर्ष थप व्यवस्थित रूपमा परीक्षण विस्तार गरिएको छ ।

खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङका अनुसार मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्न नयाँ प्रविधिको खोजी आवश्यक भएकाले गन्ध संकेत प्रविधिलाई प्राथमिकताका साथ अघि बढाइएको हो । उनका अनुसार खाता करिडोर जैविक विविधताको हिसाबले महत्वपूर्ण क्षेत्र भएकाले वन्यजन्तुको संरक्षणसँगै स्थानीयको सुरक्षालाई समेत ध्यान दिन जरुरी छ ।

हाल जङ्गलभित्र ३० वटा विभिन्न स्थानमा कृत्रिम गन्ध संकेत जडान गरिएको छ। दुईवटा स्वचालित क्यामराको बीचमा पर्ने गरी जडान गरिएका संकेतहरूको प्रभाव क्यामेरामार्फत निरन्तर अनुगमन भइरहेको छ । बाघ तथा चितुवाले ती क्षेत्रमा देखाउने गतिविधि भिडियोमार्फत अध्ययन गरी प्रविधिको प्रभावकारिता मूल्याङ्कन गरिने बताइएको छ ।

तराई भूपरिधि कार्यक्रमका प्रबन्धक भरतप्रसाद भट्टका अनुसार परीक्षणको मुख्य उद्देश्य वन्यजन्तुको प्राकृतिक व्यवहारलाई उपयोग गरेर उनीहरूलाई मानव बस्तीमा प्रवेश गर्न नदिनु हो । उनले वन्यजन्तुको गतिविधि, आवागमन र व्यवहारलाई वैज्ञानिक ढंगले अध्ययन गर्दै दीर्घकालीन समाधान खोज्ने प्रयास भइरहेको जानकारी दिए ।

विशेषज्ञहरूका अनुसार बाघ तथा चितुवाले आफ्नो क्षेत्र निर्धारण गर्न पिसाबमार्फत गन्ध संकेत प्रयोग गर्छन् । एउटा बाघले आफ्नो आधार क्षेत्र निर्धारण गरेपछि अर्को बाघले त्यही गन्ध महसुस गरेर त्यो क्षेत्र अरूको इलाका भएको बुझ्ने र धेरैजसो अवस्थामा अगाडि नबढी फर्किने गर्छ । यही प्राकृतिक प्रणालीलाई आधार बनाएर कृत्रिम गन्ध प्रविधि विकसित गरिएको हो ।

तराई भू–परिधि कार्यक्रमका कार्यक्रम संयोजक प्रतीक शाहका अनुसार प्रयोग गरिएको गन्धमा कुनै हानिकारक रसायन समावेश छैन । यो पूर्ण रूपमा सुरक्षित भएकाले मानव, पशुचौपाया वा वातावरणमा कुनै नकारात्मक असर नपर्ने उनले बताए । उनका अनुसार वन्यजन्तुलाई हानि नगरी उनीहरूको गतिविधि नियन्त्रण गर्ने यो प्रविधि संरक्षणमैत्री उपायका रूपमा हेरिएको छ ।

बर्दिया जिल्ला नेपालमै बाघ तथा चितुवा आक्रमणबाट बढी प्रभावित क्षेत्रमध्ये एक मानिन्छ । प्रत्येक वर्ष वन्यजन्तुको आक्रमणबाट मानविय तथा आर्थिक क्षति हुने गरेको छ । यस्तो अवस्थामा नयाँ प्रविधिको सफल परीक्षणले स्थानीयवासीमा आशा जगाएको छ ।

यदि खाता करिडोरमा भइरहेको यो परीक्षण सफल भयो भने आगामी दिनमा गाउँ बस्ती नजिकै समेत कृत्रिम गन्ध संकेत राखेर बाघ तथा चितुवाको प्रवेश रोक्न सकिने विश्वास गरिएको छ । यसले मानव–वन्यजन्तु द्वन्द घटाउने मात्र नभई संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

खाता करिडोरमा ‘कृत्रिम गन्ध’ प्रविधि परीक्षण   बाघ–चितुवासँगको द्वन्द घटाउने नयाँ प्रयास

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल 

खाता करिडोरमा ‘कृत्रिम गन्ध’ प्रविधि परीक्षण   बाघ–चितुवासँगको द्वन्द घटाउने नयाँ प्रयास

सम्पादकीय : सरकार अझै किन मौन ?

Leave a comment

Your email address will not be published. Required fields are marked *