गोठमै भविष्य देखेका धनलाल

गाेल्डेन बुढा

जुम्ला,२ जेठ ।
जुम्लाको चन्दननाथ नगरपालिका–४ मालाभिडमा बिहान अझै अँध्यारो हुन्छ, तर धनलाल बुढाको गोठमा दिन सुरु भइसकेको हुन्छ।घडीले चार बज्न नपाउँदै उनी उठिसक्छन्। गोठको ढोका खुल्छ। चिसो हावा भित्र पस्छ। गाईभैंसी कराउन थाल्छन्। स्टिलका बाल्टिनमा दूधका धार खस्न थाल्छन्।त्यही आवाजभित्र धनलालको जीवन छ।त्यही दूधको गन्धभित्र उनको सपना छ।२९ वर्षीय धनलाल कुनै समय पोखरामा बसेर हस्पिटालिटी म्यानेजमेन्ट पढिरहेका युवक थिए। डिग्री सकेपछि उनको बाटो होटल, पर्यटन वा विदेशतिर मोडिन सक्थ्यो। साथीहरू त्यतैतिर गइरहेका थिए। परिवार र चिनेजानेकाले पनि “जागिर खा”, “विदेश जा”, “भविष्य बनाऊ” भनेर सम्झाइरहेका थिए।

 

तर उनी फर्किए,जुम्ला,फर्किएर गाईको गोठ समाते।“मलाई जागिरभन्दा आफ्नै काम प्यारो लाग्यो,” उनी भन्छन्, “विदेश गएर अरूको सपना पूरा गर्नु भन्दा गाउँमै बसेर आफ्नो सपना बनाउने इच्छा थियो।”त्यो निर्णय सजिलो थिएन।किनकि त्यो समय गाउँमा गाईपालनलाई धेरैले गरिबीको काम ठान्थे। पढेलेखेको मान्छे गोठमा बस्नु ‘असफलता’ जस्तो मानिन्थ्यो।तर,धनलालले त्यही गोठभित्र सम्भावना देखे।उनका बुबाले २०६९ सालमा सुरु गरेको ‘हिमाली दुग्ध उत्पादन तथा प्रशोधन उद्योग’लाई उनले व्यवसायिक आकार दिन थाले। सुरुमा चार वटा जर्सी गाई मात्रै थिए। बुटवलबाट प्रतिगाई १ लाख १० हजार रुपैयाँ तिरेर ल्याइएका ती गाई नै अहिलेको सफलताको जग बने।आज उनको गोठमा जर्सी, साहीवाल र होलिस्टिन जातका गाईभैंसी छन्। चार वटा दुहुनो भैंसी र छ वटा दुहुनो गाईबाट दैनिक १ सय २० लिटर दूध निस्किन्छ।तर त्यो १ सय २० लिटर दूध दूध होइन्,त्यो श्रम हो, अनुशासन हो, धैर्य हो, अनि गाउँमै केही गर्न सकिन्छ भन्ने बलियो प्रमाण हो।बिहान पाँच बजेदेखि सात बजेसम्म र बेलुका छ बजेदेखि आठ बजेसम्म उनी दूध वितरणमै व्यस्त हुन्छन्।

 

बाइकमा दूधका क्यान बाँधेर घरघर पुग्छन्।जुम्लाको खलंगामा उनका झन्डै १ सय ५० नियमित ग्राहक छन्।“९० प्रतिशत दूध म आफैं घरमा पुर्‍याउँछु,” उनी भन्छन्, “बाँकी डेरीले लैजान्छ।”दैनिक करिब १० हजार रुपैयाँको दूध बिक्री हुन्छ। महिनाको ३ लाख ६ सय रुपैयाँभन्दा बढी आम्दानी हुन्छ,भने वार्षिक ३६ लाख रुपैयाँभन्दा धेरै कारोबार भइरहेको छ,तर धनलालको गोठमा कुनै समय फालिने गोबर अहिले सुनजस्तै बिक्न थालेको छ।उनको गोठबाट निस्किने गोबर मल अहिले जुम्लाका किसानको रोजाइ बनेको छ। गड्यौला मल प्रतिकेजी २५ देखि ३० रुपैयाँमा बिक्री हुन्छ। गोठेमल ट्रकको ५ हजार ५ सय रुपैयाँ र बोरा १ सय ५० रुपैयाँमा बिक्री हुन्छ।वार्षिक ५ लाखदेखि साढे ६ लाख रुपैयाँसम्म गोबरबाट मात्रै आम्दानी हुन्छ।“पहिले गोबर फालिन्थ्यो,” उनी मुस्कुराउँदै भन्छन्, “अहिले किसान मल खोज्दै गोठमै आउँछन्।”जुम्लाको चन्दननाथ नगरपालिका–१ देखि १० वडासम्मका किसान उनका ग्राहक छन्। स्याउ किसान, अर्गानिक तरकारी उत्पादक, धान–मकै खेती गर्ने कृषक सबैले उनको गोठेमल प्रयोग गर्छन्।घरघरमा चौपाया पाल्ने चलन घट्दै जाँदा जैविक मलको माग बढेको उनी बताउँछन्। अहिले खेतबारी मात्रै होइन, करेसाबारीका लागि पनि मल किन्नेको संख्या बढेको छ।उनको दिन गोठबाट सुरु हुन्छ र गोठमै सकिन्छ।

करिब २५ रोपनी बढी जग्गा भाडामा लिएर घाँसखेती गरेका छन्। त्यतिले नपुगेर स्थानीय घाँस व्यवस्थापन गर्नुपर्छ। भदौदेखि कार्तिकसम्म २०–२५ जना कामदार घाँस काट्न राखिन्छन्। प्रतिदिन १ हजार रुपैयाँ ज्याला दिनुपर्छ।नेपालगन्जबाट दाना ल्याउनुपर्छ। ढुवानी महँगो छ। चिसो मौसममा दूध घट्छ। मंसिरदेखि माघसम्म आम्दानी घट्छ।तर उनी थाकेका छैनन्।“गाईपालनले मलाई पैसा मात्रै दिएको छैन,” उनी भन्छन्, “मान्छेको सम्मान पनि दिएको छ।”यही व्यवसायबाट उनले सदरमुकाम खलंगामा घर बनाएका छन्।एक समय “गाई पालेर के हुन्छ ?” भन्नेहरूले अहिले उनलाई उदाहरणका रूपमा लिन थालेका छन्।यता पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ देखि दुग्ध प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ। दूध बिक्री गर्ने कृषकलाई प्रतिलिटर १० रुपैयाँ प्रोत्साहन भत्ता दिने व्यवस्था छ। सहकारीलाई ७० प्रतिशत र उद्यमी कृषकलाई ५० प्रतिशतसम्म अनुदान दिने कार्यक्रम पनि सञ्चालनमा छ।तर धनलाल भने सरकारी अनुदानभन्दा श्रमलाई ठूलो पूँजी मान्छन्।किनकि उनले बुझिसकेका छन्,गोठमा पसिना बगाउन सक्ने मान्छेलाई गाउँले कहिल्यै भोकै राख्दैन।आज जब धेरै युवाले गाउँ छाडेर भविष्य खोजिरहेका छन्, धनलाल भने गाउँमै बसेर भविष्य उत्पादन गरिरहेका छन्।उनको गोठबाट निस्किने दूधले चिया सेताम्मे बनाएको छैन, जुम्लाका युवाको सोचसमेत बदल्न थालेको छ।

गोठमै भविष्य देखेका धनलाल

अवधी समुदायमा श्रद्धा र उल्लासका साथ बरसाइत

गोठमै भविष्य देखेका धनलाल

तातापानी गोल्ड कप फुटबल प्रतियोगिता हुँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *