अवधी समुदायमा श्रद्धा र उल्लासका साथ बरसाइत पूजा, श्रीमानको दीर्घायु र पारिवारिक सुख–समृद्धिको कामना

बाँके ,२ जेठ ।

पश्चिम नेपालका अवधी समुदायका महिलाहरूले परम्परागत श्रद्धा, भक्ति र सांस्कृतिक उल्लासका साथ बरसाइत पूजा मनाएका छन् । जेठ कृष्ण औँसीका दिन मनाइने बटसावित्री अर्थात् बरसाइत पर्व विशेषगरी विवाहित महिलाहरूले आफ्नो श्रीमानको दीर्घायु, सुख–समृद्धि तथा पारिवारिक शान्तिको कामना गर्दै मनाउने प्राचीन परम्परा हो ।
बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा लगायतका अवधी बस्तीहरूमा शुक्रबार बिहानैदेखि पर्वको विशेष रौनक देखिएको थियो । महिलाहरू नयाँ पहिरन, चुरा, पोते र सिन्दूरमा सजिएर शिव–पार्वतीको पूजा आराधनामा सहभागी भएका थिए । घरघरमा परम्परागत परिकार तथा पकवान तयार पारिनुका साथै मन्दिर, चौतारा र सार्वजनिक स्थलहरूमा सामूहिक पूजा गरिएको थियो ।
महिला अगुवा रमारानी बैश्यका अनुसार पूजाका क्रममा महिलाहरूले अवधी भाषाका लोकगीत गाउनुका साथै सामूहिक कथा वाचन, भजन–कीर्तन र धार्मिक अनुष्ठान गरेका थिए । “बरसाइत पूजा हाम्रो संस्कृतिसँग जोडिएको महत्वपूर्ण पर्व हो । यसले महिलाबीच आत्मीयता र धार्मिक आस्था अझ मजबुत बनाउने काम गर्छ,” उहाँले भन्नुभयो ।
स्थानीय अगुवा कृष्णा पाण्डेयले बरसाइत पूजा अवधी संस्कृतिको महत्वपूर्ण पहिचान भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो पूजा केवल धार्मिक आस्था मात्र होइन, परिवार र समाजलाई जोड्ने परम्परा पनि हो । पहिले गाउँभरिका महिलाहरू एकै ठाउँमा भेला भएर दिनभरि पूजा र गीत गाउने गर्थे, अहिले पनि त्यो संस्कृति जोगिएको देख्दा खुसी लाग्छ ।”
अवधी संस्कृतिका अगुवा विष्णुलाल कुमालका अनुसार बरसाइत पूजा हिन्दू धार्मिक विश्वाससँग जोडिए पनि यसले सामाजिक सद्भाव, पारिवारिक सम्बन्ध र समुदायबीचको एकतालाई अझ बलियो बनाउने काम गर्छ । उहाँले पछिल्लो समय आधुनिक जीवनशैलीका कारण कतिपय परम्परागत संस्कृतिहरू हराउँदै गए पनि बरसाइतजस्ता पर्वले समुदायलाई आफ्ना मौलिक संस्कृतिप्रति जोडिराखेको बताउनुभयो ।
पूजापछि महिलाहरूले परिवारका ज्येष्ठ सदस्यबाट आशिर्वाद लिने, प्रसाद ग्रहण गर्ने तथा आफन्तबीच प्रसाद बाँड्ने परम्परा निभाएका थिए । ग्रामीण क्षेत्रमा अझै पनि यो पर्व सामूहिक रूपमा मनाइने भएकाले सामाजिक एकता र आपसी सद्भाव मजबुत हुने विश्वास गरिएको छ ।
बरसाइत पूजा केवल धार्मिक संस्कारमा सीमित नभई अवधी समुदायको सांस्कृतिक पहिचान, सामाजिक सहकार्य र पारिवारिक एकताको प्रतीकका रूपमा समेत स्थापित हुँदै आएको स्थानीयवासीहरूको भनाइ छ ।

अवधी समुदायमा श्रद्धा र उल्लासका साथ बरसाइत पूजा, श्रीमानको दीर्घायु र पारिवारिक सुख–समृद्धिको कामना

घुयँत्राे: “तीन सिटे हर्के र दुई तिहाइको

अवधी समुदायमा श्रद्धा र उल्लासका साथ बरसाइत पूजा, श्रीमानको दीर्घायु र पारिवारिक सुख–समृद्धिको कामना

गोठमै भविष्य देखेका धनलाल

Leave a comment

Your email address will not be published. Required fields are marked *