तातापानी गोल्ड कप फुटबल प्रतियोगिता हुँदै

सुर्खेत, २ जेठ ।
वीरेन्द्रनगर ३ स्थित तातापानी युवा क्लबको आयोजनामा आगामी २०८२ जेठ ३ गतेदेखि सञ्चालन हुन लागेको “प्रथम तातापानी गोल्ड कप फुटबल प्रतियोगिता” को उदटन खेल आइतबार दिउँसो ३ बजे हुने भएको छ ।
प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ । स्थानीय युवाहरूलाई रचनात्मक तथा खेलकुद गतिविधिमा सक्रिय बनाउने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा हालसम्म १९ वटा टिम दर्ता भएका छन् ।
प्रतियोगिता नकआउट आधारमा सञ्चालन गरिने क्लवका अध्यक्ष उत्सव शाहीले बताए । उनका अनुसार प्रतियोगितामा कालिकोट, दैलेख, सुर्खेत लगायत विभिन्न जिल्लाबाट टिमहरू सहभागी हुन आएका छन् । प्रतियोगिताले स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्नुका साथै खेलकुदप्रति युवाहरूको आकर्षण बढाउने विश्वास लिइएको उनले बताए ।
प्रतियोगिताको प्रथम पुरस्कार राशी १ लाख ११ हजार १११ रुपैयाँ रहेको छ । साथै प्रतियोगितामार्फत खेलाडीबीच भाइचारा, अनुशासन र स्वस्थ प्रतिस्पर्धाको भावना विकास हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । तातापानी युवा क्लबले प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न संघसंस्था, व्यवसायी तथा खेलप्रेमीहरूलाई सहयोगका लागि आग्रह समेत गरेको छ ।






