रोजगारी सृजनातर्फ कोहलपुर नगरपालिकाको कदम: २७ युवालाई उद्यम तालिम

बाँके,१ बैशाख।

वैदेशिक रोजगारीको अनुभव बोकेर स्वदेश फर्किएका युवाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले कोहलपुर नगरपालिकाले उद्यमशीलतामुखी पहल सुरु गरेको छ। रोजगारीको खोजीमा विदेश पुगेका तर अब स्वदेशमै सम्भावना खोज्न चाहने २७ जना स्थानीय युवालाई लक्षित गर्दै पाँच दिने उद्यमशीलता विकास तालिम सफलतापूर्वक सम्पन्न गरिएको छ।
कोहलपुर नगरपालिका अन्तर्गतको रोजगार सेवा केन्द्रद्वारा आयोजित उक्त तालिम स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई उत्पादनशील क्षेत्रमा आबद्ध गराउने लक्ष्यका साथ सञ्चालन गरिएको रोजगार संयोजक आशिष बर्माले जानकारी दिनुभयो। उहाँका अनुसार, तालिमले सहभागीहरूलाई स्वदेशमै उद्यम सुरु गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।
तालिम आप्रवासी श्रमिक संरक्षण सञ्जाल, बाँकेको सहकार्य तथा ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप’ परियोजनाको आर्थिक साझेदारीमा सम्पन्न भएको हो। कार्यक्रमअन्तर्गत सहभागीहरूलाई व्यावसायिक योजना निर्माण, उपयुक्त व्यवसाय छनोट गर्ने तरिका, सफल उद्यमीका व्यवहार र सीप, साथै पेशागत दक्षता विकासका विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
आप्रवासी श्रमिक संरक्षण सञ्जाल, कोहलपुर नगर सञ्जालका अध्यक्ष खड्क बहादुर चन्दको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा कोहलपुर नगरपालिकाका आर्थिक विकास समितिका संयोजक अनिता बुढा क्षेत्री, रोजगार संयोजक आशिष बर्मा तथा रोजगार सहायक शिवा परियारको उपस्थिति रहेको थियो।
तालिममा वरिष्ठ प्रशिक्षकहरू राज बहादुर चौधरी र टोपलाल विकले सहजीकरण गर्नुभएको थियो। साथै, सहभागीहरूलाई उद्यम सञ्चालनका लागि आवश्यक वित्तीय पहुँचबारे जानकारी दिँदै बसोबास महिला बचत तथा ऋण सहकारी संस्थाकी प्रबन्धक शोभा गुरुङले सहकारीमार्फत ऋण लगानी प्रक्रियाबारे स्पष्ट पार्नुभयो।
त्यसैगरी, घरेलु तथा साना उद्योग कार्यालय बाँकेका निमित्त प्रमुख उद्योग अधिकृत मोहन घर्ती मगरले उद्योग दर्ता तथा आबद्धता प्रक्रियाबारे जानकारी गराउनुभयो भने कोहलपुर नगरपालिकाको आर्थिक विकास शाखाका प्रमुख वीर बहादुर विकले स्थानीय तहमा व्यवसाय दर्ता गर्ने प्रक्रिया सम्बन्धी प्रशिक्षण दिनुभएको थियो।
तालिमले सहभागीहरूमा उद्यमशीलता विकासप्रति आत्मविश्वास अभिवृद्धि गरेको बताउँदै संयोजक बर्माले यस कार्यक्रमलाई वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै अवसर सिर्जना गर्दै आर्थिक समृद्धितर्फ उन्मुख गराउने स्थानीय सरकारको महत्वपूर्ण प्रयासका रूपमा लिन सकिने उल्लेख गर्नुभयो।

Leave a comment

Your email address will not be published. Required fields are marked *