सहकारी संस्थाको मूल मुटु सुशासन हो : केन्द्रिय सदस्य योगी

सुर्खेत, २४ असोज ।
राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य हरिहरनाथ योगीले सहकारी संस्थाको दिगोपनका लागि सुशासन, नीति, विधि र प्रणालीको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । जनहितकारी बचत तथा ऋण सहकारी संस्थाको २८औँ वार्षिक साधारणसभामा बोल्दै उनले सहकारीको मूल आधार सुशासन भएको बताए । संस्थाले शनिबार आफ्नै प्राङ्गण, वीरेन्द्रनगर–४, कालागाउँमा आयाेजना गरेकाे साधारणसभामा बाेल्दै योगीले सहकारी संस्थाको सफल सञ्चालनका लागि सुशासन, नीति, विधि र प्रणालीको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताए । उनले स्थापना कालदेखि नै जनहितकारी साकोसले संस्थागत प्रणालीलाई आधार बनाएर अघि बढ्ने प्रयास गर्दै आएको उल्लेख गर्दै संस्थालाई सुशासनमा राख्न निरन्तर प्रयास भइरहेको बताए । योगीले बैंकिङ तथा वित्तीय कारोबारका क्रममा सर्वसाधारणले भोग्नुपर्ने कठिनाइ न्यूनीकरण गर्ने, संस्थामा सङ्कलित पुँजीलाई सदस्य तथा समुदायको हितमा परिचालन गर्ने, स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र सदस्यहरूको आयआर्जन वृद्धि गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ सहकारी स्थापना गरिएको स्मरण गरे ।

कठिन आर्थिक परिस्थितिमा समेत संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै वित्तीय सेवा प्रदान गरिरहेको र सदस्यहरूलाई लाभांश वितरण गर्ने दिशामा अघि बढिरहेको उल्लेख गरे । संस्थाको मूल आधार सुशासन भएको बताउँदै सञ्चालक, कर्मचारी र सदस्य सबै नीति तथा विधिको परिधिमा रहेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । साथै, संस्थाले ४५ भन्दा बढी कार्यविधि निर्माण गरी तिनकै आधारमा सञ्चालन हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि नीति, विधि र प्रणालीलाई निरन्तरता दिनुपर्ने बताए ।
संस्थाका अध्यक्ष नवराज कँडेलको अध्यक्षतामा सम्पन्न सभामा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य हरिहरनाथ योगी प्रमुख अतिथिका रूपमा सहभागी थिए । सभामा वीरेन्द्रनगर नगरपालिका–४ का वडाध्यक्ष शेरबहादुर केसी, जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष प्रकाशकुमार तिमिल्सिना, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष भक्तिप्रसाद सापकोटा, वीरेन्द्रनगर नगरपालिकाका सहकारी शाखा प्रमुख दिपेन सुवेदी, राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय सुर्खेतका शाखा प्रमुख सागरनाथ योगी, नेफ्स्कून फिल्ड कार्यालयका प्रमुख विष्णुप्रसाद जोशी, सहकारी कर्मचारी क्लब सुर्खेतका अध्यक्ष लछिराम बुढालगायत विभिन्न सहकारी संघसंस्थाका प्रतिनिधि, सञ्चालक समिति, उपसमिति तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।


सभामा संस्थाका अध्यक्ष नवराज कँडेलले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ मा १० हजार ३६९ जना रहेका संस्थाका शेयर सदस्यको सङ्ख्या यस वर्ष २१७ जना नयाँ सदस्य थपिएसँगै बढेर १० हजार ५८६ पुगेको छ ।आगामी आर्थिक वर्षका लागि सदस्य विस्तार तथा सदस्य स्थायित्व, शेयर पुँजी र बचत सङ्कलन, कर्जा लगानी तथा असुली व्यवस्थापन, सहकारी शिक्षा, तालिम र सूचना प्रविधिको विकासलगायतका विषयलाई प्राथमिकतामा राखेर कार्यक्रम प्रस्ताव गरिएको छ । त्यसैगरी, संस्थाका कोषाध्यक्ष सञ्जय योगीले आर्थिक वर्ष २०८२/०८३ को वित्तीय विवरण तथा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित वार्षिक बजेट प्रस्तुत गरे । प्रस्तुत विवरणअनुसार समीक्षा अवधिमा संस्थाको कुल शेयर पुँजी सात करोड ७३ लाख ४५ हजार रुपैयाँ कायम भएको छ भने कुल बचत तथा निक्षेप ८९ करोड ७२ लाख ७१ हजार १६५ रुपैयाँ ४१ पैसा पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १.५६ प्रतिशतले बढी हो । कुल सम्पत्तिको अनुपातमा बचत तथा निक्षेपको हिस्सा ८४.०६ प्रतिशत रहेको छ ।

यसैगरी, संस्थाको कुल ऋण लगानी ७६ करोड ३८ लाख १५ हजार ३९६ रुपैयाँ ८७ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ऋण लगानीमा १.१८ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ। कुल सम्पत्तिको अनुपातमा ऋण लगानीको हिस्सा ७१.५६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८२/०८३ मा संस्थाको कुल सम्पत्ति दुई करोड ४३ लाख ५१ हजार ७८ रुपैयाँ ८४ पैसाले वृद्धि भई एक अर्ब छ करोड ७३ लाख ७८ हजार ८४० रुपैयाँ पाँच पैसा पुगेको छ । यस अवधिमा कुल सम्पत्तिको वृद्धिदर २.३३ प्रतिशत रहेको छ । संस्थाको कुल आम्दानी १० करोड ५९ लाख ८० हजार १४१ रुपैयाँ १३ पैसा र कुल खर्च नौ करोड ७४ लाख ६९ हजार ८६४ रुपैयाँ ८९ पैसा रहेको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक हिरालाल सुनारले आर्थिक वर्ष २०८२/०८३ को आन्तरिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सहकारी संस्थाको मूल मुटु सुशासन हो : केन्द्रिय सदस्य योगी

एउटै कांग्रेस, दुई अधिवेशन:देउवा पक्षबाट बनिन् नेत्रकला

सहकारी संस्थाको मूल मुटु सुशासन हो : केन्द्रिय सदस्य योगी

सहकारी संस्थाको मूल मुटु सुशासन हो :

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!