एउटै कांग्रेस, दुई अधिवेशन:देउवा पक्षबाट बनिन् नेत्रकला शाही जिल्ला सभापति

गोल्डेन बुढा
जुम्ला ,२४ साउन।
नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत जुम्लामा पार्टीभित्रको गुटगत प्रतिस्पर्धा सतहमा आएको छ। गगन थापा पक्षले यसअघि नै अधिवेशन सम्पन्न गरेको जुम्लामा देउवा पक्षले पनि शुक्रबार जिल्ला तथा प्रदेश सभा क्षेत्र ‘क’ र ‘ख’ को छुट्टै अधिवेशन गरेर नेतृत्व चयन गरेको छ। एउटै पार्टीका दुई पक्षले अलग-अलग अधिवेशन गर्दै नेतृत्व चुनेपछि जुम्ला कांग्रेसमा संगठनात्मक एकता, समन्वय र आधिकारिक नेतृत्वको प्रश्न पेचिलो बनेको छ।नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति धनलाल हमालको प्रमुख आतिथ्यतामा सम्पन्न देउवा पक्षको अधिवेशनबाट नेत्रकला शाही जिल्ला सभापतिमा चयन भएकी छन्।

उपसभापतिमा राजबहादुर शाही र डिलबहादुर रोकाय तथा सचिवमा गोकर्ण हमाल चयन भएका छन्। त्यसैगरी, प्रदेश सभा क्षेत्र ‘क’ को सभापतिमा मनप्रसाद देवकोटा र क्षेत्र ‘ख’ को सभापतिमा उपराज अधिकारी चयन भएका छन्।अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दै नेताहरूले पार्टी संगठन सुदृढ बनाउने र कार्यकर्ताबीच एकता कायम गर्ने प्रतिबद्धता जनाएका छन्। तर, एकताको प्रतिबद्धताकै बीच दुई पक्षका छुट्टाछुट्टै अधिवेशन हुनुले कांग्रेसको आन्तरिक समन्वयमाथि प्रश्न उठाएको छ। पार्टीको शक्ति जनतामाझ विस्तार गर्नुपर्ने बेला नेतृत्व चयनमै समानान्तर अभ्यास देखिनुले गुटगत प्रतिस्पर्धा संगठनात्मक एकताभन्दा बलियो बनेको संकेत गरेको छ।जुम्ला कांग्रेसको विवाद अब कसले सभापति चयन गर्यो भन्नेमा मात्र सीमित छैन। दुवै पक्षबाट चयन भएका नेतृत्वको आधिकारिक हैसियत, संगठनात्मक संरचना र महाधिवेशन प्रक्रियामा उनीहरूको मान्यताबारे स्पष्टता आवश्यक देखिएको छ।






