वैदेशिक रोजगारीबाट फर्किएका युवामा गाउँमै सम्भावना खोज्ने लहर

सरला सुवेदी 

बाँके, २६ चैत ।

बाँकेको डुडुवा गाउँपालिका–३ बनकट्टीका किसानहरू पछिल्लो समय परम्परागत खेती प्रणालीबाट बाहिरिँदै नगदे बालीका रूपमा मकै खेतीतर्फ आकर्षित हुन थालेका छन् । बदलिँदो कृषि प्रविधि, छिटो उत्पादन, बजारको सहजता र राम्रो आम्दानीको सम्भावनाले किसानहरूलाई मकै खेतीतर्फ डोर्‍याएको हो । विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूले गाउँमै भविष्य देख्न थालेपछि यहाँ कृषिमा नयाँ आशा पलाउन थालेको छ ।

डुडुवा गाउँपालिका–३ बनकट्टी लोतपुरका शनिराम मौर्या यसको ज्वलन्त उदाहरण हुनुहुन्छ। तीन वर्ष मलेसियामा श्रम गरेर फर्किएका मौर्याले अपेक्षित आम्दानी गर्न नसकेपछि आफ्नै गाउँमा केही गर्ने अठोट लिए । सुरुमा चार कट्ठा जमिन लिजमा लिएर मकै खेती थालेका उनले पहिलो प्रयासमै करिब ३० हजार रुपैयाँ आम्दानी गरे ।

यसले उनलाई थप हौसला दियो । अहिले उनले डेढ बिगाहा जमिन वार्षिक १ लाख ४० हजार रुपैयाँमा लिजमा लिएर करिब १ लाख रुपैयाँ लगानी गरेका छन् । मकै सिजनमा करिब ५ लाख रुपैयाँ नाफा हुने अपेक्षासहित उहाँ अहिले पूर्णकालीन कृषकका रूपमा स्थापित हुँदै छन् ।

“विदेशमा पसिना बगाउँदा पनि सोचेजस्तो आम्दानी भएन, अहिले आफ्नै गाउँमा मेहनत गर्दा आत्मसन्तुष्टि पनि छ र आम्दानी पनि,” मौर्या भन्छन, “सरकारले अलि सहयोग गरिदिए हामीजस्ता धेरै युवाले यहीँ रोजगारी सिर्जना गर्न सक्छौं ।”

यहाँका अन्य किसानहरू पनि मकै खेतीप्रति उत्साहित छन्। राममुरत मौर्या र लक्ष्मिराम मौर्याका अनुसार धान र गहुँको तुलनामा मकै खेती कम समयमा तयार हुने, लागत अपेक्षाकृत कम लाग्ने र उत्पादन राम्रो हुने भएकाले किसानहरू यसतर्फ आकर्षित भएका हुन् । बनकट्टी–३ लोतपुरमा रहेका ३८ घरधुरीमध्ये करिब ३० घरधुरीले अहिले मकै खेतीलाई प्राथमिकता दिएका छन् ।

किसानहरूका अनुसार बजारको समस्या पनि खासै छैन । व्यापारीहरू सिधै खेतमै आएर मकै खरिद गर्ने गरेका छन्, जसले गर्दा ढुवानी र बजार खोज्ने झन्झट कम भएको छ । यसले किसानलाई उत्पादनमा अझ बढी ध्यान केन्द्रित गर्न सहज बनाएको छ । तर, केही चुनौतीहरू भने अझै कायम छन्। नेपालमा बिउ, मल र विषादीको मूल्य अत्यधिक महँगो भएकाले किसानहरू भारतबाट ल्याउन बाध्य छन् ।

 

यसले लागत बढाउने मात्र होइन, कहिलेकाहीँ गुणस्तरमा पनि समस्या आउने गरेको उनीहरूको गुनासो छ । “सरकारले समयमै सस्तो र गुणस्तरीय बिउ–मल उपलब्ध गराइदिए उत्पादन अझ बढाउन सकिन्छ,” किसानहरूको भनाई छ । त्यस्तै, उचित बजार व्यवस्थापन, कृषि बीमा, सहुलियत ऋण र प्राविधिक सहयोगको अभावले किसानहरू पूर्ण रूपमा सुरक्षित महसुस गर्न सकेका छैनन् । कृषि क्षेत्रमा राज्यको लगानी र नीति कार्यान्वयन प्रभावकारी नभएसम्म किसानहरूको श्रमको उचित मूल्य सुनिश्चित हुन नसक्ने उनीहरूको ठहर छ ।

डुडुवा गाउँपालिकामा देखिएको मकै खेतीतर्फको यो आकर्षण केवल बाली परिवर्तन मात्र होइन, ग्रामीण अर्थतन्त्र सुदृढ गर्ने सम्भावनाको संकेत पनि हो । यदि राज्यले समयमै किसानमुखी नीति ल्याएर उत्पादनदेखि बजारीकरणसम्म सहजीकरण गरिदिने हो भने यस्ता गाउँहरू आत्मनिर्भर कृषि केन्द्रका रूपमा विकास हुन सक्छन् ।

किसानको पसिना राष्ट्रको मेरुदण्ड हो भन्ने यथार्थलाई आत्मसात गर्दै उनीहरूको हक–हित संरक्षण, उचित मूल्यको सुनिश्चितता र आधुनिक कृषि प्रणालीमा पहुँच विस्तार गर्नु आजको आवश्यकता हो । कृषकलाई सम्मानजनक जीवनयापनको आधार तयार पार्न सके मात्र देशको समग्र आर्थिक समृद्धि सम्भव हुनेछ ।

वैदेशिक रोजगारीबाट फर्किएका युवामा गाउँमै सम्भावना खोज्ने लहर

कर्णालीमा दर्ता बिनै चलिरहेका छन्  ५१ प्रतिशत

वैदेशिक रोजगारीबाट फर्किएका युवामा गाउँमै सम्भावना खोज्ने लहर

सुदूरपश्चिममा दश प्रतिशतले बढ्यो गरिबी

Leave a comment

Your email address will not be published. Required fields are marked *