गणेशले रेन्बाे ट्राउट माछामा देखे भविष्य

गाेल्डेन बुढा

जुम्ला,२३ असार।

जुम्लाको दुर्गम पातारासी गाउँपालिका–६ घोडासिन गाउँका गणेश बुढा २०६६ सालमा एसएलसी उत्तीर्ण भए। जुम्लाको सदरमुकाम खलंगामा रहेको चन्दननाथ माविबाट सेकेन्ड डिभिजनमा पास गरे। रोजगारीको खोजीमा उनी सन् २०१२ मा साउदी अरब पुगे। दुई वर्ष बसे। ४ लाख रुपैयाँ ऋण बोकेर २०१४ मा घर फर्किए। पुनः २०१५ मा कुवेत गए र चार वर्षसम्म वैदेशिक रोजगारीमा रहे।वर्षौं परदेशमा बिताएपछि उनी स्वदेश फर्किए। विदेशको कमाइभन्दा आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने सोच पलायो। “अर्को देशमा भन्दा आफ्नै माटोमा केही गर्नुपर्छ,” भन्ने सोच बोकेर घर फर्किएका उनले बुबाआमासँग सल्लाह गरे। घरका एक्ला छोरा गणेशले “अब म राम्रो व्यवसाय गर्छु” भन्दै परिवारको सहमति लिए। त्यसपछि उनले ‘गणेश कृषि तथा पशुपन्छी पालन उद्योग’ दर्ता गरे।घर नजिकैको खोरी चौतारा भन्ने स्थानमा उनले व्यावसायिक माछापालन सुरु गरे। अहिले ३५ वर्षीय गणेश जुम्लामै रेन्बो ट्राउट माछा उत्पादन गरेर उदाहरणीय कृषक बनेका छन्।व्यवसाय सुरु गर्न उनले पहिलोपटक सिन्धुपाल्चोकको हैगुम पुगे। त्यहाँबाट रेन्बो ट्राउट जातका पाँच हजार ३० वटा भुरा माछा प्रतिपिस १९ रुपैयाँका दरले खरिद गरे। माछा खरिदमै करिब ९५ हजार रुपैयाँ खर्च भयो। ढुवानीसहित सबै लगानी जोड्दा झन्डै २ लाख ७२ हजार रुपैयाँ लाग्यो। तर दुर्गम जुम्लासम्म ल्याउने क्रममा दुई हजार दुई सयभन्दा बढी भुरा माछा बचाउन सकेनन्।त्यसपछि परीक्षणका रूपमा पहिलो पोखरीमा १ सय ६० वटा भुरा माछा हाले। सबै बाँचे। यही सफलताले उनलाई व्यावसायिक रूपमा माछापालन विस्तार गर्ने आत्मविश्वास दियो।अहिले उनले आफ्नै फर्मबाट प्रतिकेजी १ हजार ८ सय रुपैयाँका दरले माछा बिक्री गरिरहेका छन्।

अधिकांश ग्राहक गाउँमै पुग्छन्। बजारमा भने उनले एकपटक ६ केजी मात्रै ल्याएर बिक्री गरे। “सबै खपत भइसक्यो, मागअनुसार पुर्‍याउन सकिएको छैन,” उनी भन्छन्।उनका अनुसार अहिले रारा जाने मुख्य सडक नजिकै पोखरी भएकाले बाह्य तथा आन्तरिक पर्यटकको दैनिकजसो भीड लाग्ने गरेको छ। जुम्लाको सदरमुकाम खलंगा, उर्थु र पटमारा हुँदै रारा जाने यात्रुहरू पोखरीमा पुग्छन्। केहीले अवलोकन गर्छन् भने केहीले माछा किनेर लैजान्छन्। हालसम्म करिब ४ हजारभन्दा बढीले पोखरी अवलोकन गरिसकेका छन्।भर्खरै उनले १ क्विन्टल २० केजी माछा बिक्री गरेका छन्। त्यसबाट करिब २ लाख ८० हजार रुपैयाँ आम्दानी भएको छ। एक महिनाअघि मात्रै ५० केजी माछा बिक्री गरेका थिए। अहिले पनि पोखरीमा करिब साढे ६ हजार माछा छन्।वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै केही गर्ने सोचका साथ माछापालन रोजेको उनी बताउँछन्। “सधैं विदेश जानु समाधान होइन। गाउँमै केही गर्नुपर्छ भन्ने सोचले यो व्यवसाय रोजेको हुँ,” उनले भने।उनका अनुसार पशु सेवा कार्यालयले पोखरी निर्माण तथा पाइप व्यवस्थापनमा ५० प्रतिशत अनुदान सहयोग गरेको छ।गणेशका बुबा देविचन्द्र बुढा छोरा गाउँमै बसेर सफल व्यवसाय गरिरहेको देख्दा सन्तुष्ट छन्। “पहिला विदेशमा हुँदा घरको एक्लो छोराको चिन्ता लाग्थ्यो। अहिले घरमै बसेर राम्रो कमाइ गरिरहेको देख्छु। खुसी छु,” उनले भने।आमा सुर्जाबुढा पनि छोराको निर्णयप्रति गर्व गर्छिन्। “कहिलेकाहीँ समाचार, टिकटोक र फेसबुकमा वैदेशिक रोजगारीमा गएका नेपाली युवाका बाकसमा फर्किएका खबर देख्दा मन खिन्न हुन्थ्यो। मेरो छोरो पनि त्यस्तै हुन्छ कि भन्ने डर थियो। कमाइ कम भए पनि अहिले हामीसँगै बसेर सहयोग गरेको छ। मलाई गर्व छ,” उनले भनिन्।हाल दुईवटा पोखरीमा भुरा माछा छन्। प्रारम्भमा परीक्षणका रूपमा सुरु गरिएको व्यवसाय अहिले व्यावसायिक रूपमा विस्तार भइसकेको छ। सबै खर्च कटाएर वार्षिक करिब ५ लाख रुपैयाँ नगद आम्दानी भइरहेको गणेश बताउँछन्।तर जुम्लामा माछापालनको सम्भावना बढ्दै गए पनि प्राविधिक जनशक्तिको अभाव चुनौती बनेको छ।पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका कार्यालय प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाका अनुसार कार्यालयमा छुट्टै माछा विशेषज्ञ छैन। “माछापालनका लागि प्राविधिक ज्ञान भएको कर्मचारी हुनुपर्ने हो, तर छैनन्। अहिले किसानसँग सामान्य जानकारी आदानप्रदान भइरहेको छ। तर प्राविधिक सेवा दिन सहज छैन,” उनले भने।उनका अनुसार हालसम्म माछामा ठूलो रोग देखिएको छैन। “यदि रोग देखियो भने किसानले ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्छ। अहिले किसानले जहाँबाट भुरा ल्याउँछन्, त्यहीँबाट प्राविधिक ज्ञान पनि लिइरहेका छन्,” उनले बताए।उनले ट्राउट नेपालको चिसो, सफा र बगिरहेको पानीमा राम्रोसँग हुर्कने उच्च मूल्यको माछा भएको बताए। “राम्रोसँग उत्पादन गर्न सकियो भने सुर्खेत, नेपालगञ्ज, मुगु र कालिकोटसम्म बजार विस्तार गर्न सकिन्छ। चिसो पानीमा हुर्किएकाले यसको स्वाद राम्रो हुन्छ र माग पनि धेरै छ। तर जुम्लामा माछाविज्ञ नहुँदा समस्या भइरहेको छ,” उनले भने।गणेशको मेहनत प्रशंसनीय रहेको उल्लेख गर्दै बुढ्थापाले सुरुदेखि नै कार्यालयले प्रोत्साहन गर्दै आएको बताए। “सुरुमा हामीले उहाँलाई माछापालन गर्न प्रोत्साहन गरेका थियौँ। गत वर्ष भुरा, दाना र ढुवानीमा सहयोग गर्‍यौँ। उनको लगन र मेहनत देखेर यस वर्ष पनि तीन वटा ट्यांकी निर्माणका लागि रकम सहयोग गरेका छौँ,” उनले भने।उनका अनुसार पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट साढे ६ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको छ। भविष्यमा जुम्लामै माछाको भुरा उत्पादन गरी स्रोत केन्द्र स्थापना गर्ने लक्ष्य रहेको पनि उनले जानकारी दिए।जुम्लामा गणेश मात्र होइन, अन्य किसान पनि रेन्बो ट्राउट पालनमा सक्रिय छन्। जुम्लाको चन्दननाथ नगरपालिका –९ का देवेन्द्रराज गिरी र वडा नम्बर ६ का दिल्लीबहादुर रावलले छ वर्षदेखि ‘उच्च हिमाली मत्स्य तथा कृषि पशुपालन समूह’ मार्फत रेन्बो ट्राउट पालन गर्दै आएका छन्। यस्तै, पातारासी गाउँपालिका–६ बाता गाउँका राजेन्द्र बुढा विगत १२ वर्षदेखि ‘राजस्व कृषि फार्म’ सञ्चालन गर्दै २ सय ३५ वर्गमिटर क्षेत्रमा पोखरी निर्माण गरी माछापालन गरिरहेका छन्।

गणेशले रेन्बाे ट्राउट माछामा देखे भविष्य

लुम्बिनी प्रदेश सभा बैठक:तीन मन्त्रीको जवाफ, चार

गणेशले रेन्बाे ट्राउट माछामा देखे भविष्य

गणेशले रेन्बाे ट्राउट माछामा देखे भविष्य

Leave a comment

Your email address will not be published. Required fields are marked *