कालिकोटमा एचआईभी संक्रमित ५७ जना – सचेतना अभाव, असुरक्षित यौन सम्पर्क र सामाजिक चुनौती अझै कायम

हस्त चौलागाईं

कालिकोट ,२४ जेठ ।
कालिकोटकालिकोट जिल्लामा एचआईभी संक्रमणको अवस्था चिन्ताजनक देखिएको छ। पछिल्लो तथ्यांकअनुसार जिल्लामा एचआईभी संक्रमितको संख्या ५७ पुगेको छ। स्वास्थ्य क्षेत्रमा उपचार तथा परामर्श सेवा विस्तार भए पनि संक्रमण रोकथामका लागि आवश्यक सचेतना, सुरक्षित व्यवहार र नियमित परीक्षणको आवश्यकता अझै उत्तिकै देखिएको छ।कालिकोटस्थित एआरटी सेन्टरको तथ्यांकअनुसार हालसम्म एचआईभी संक्रमितको कुल दर्ता संख्या ७५ रहेको छ। तीमध्ये ५७ जना कालिकोटका स्थायी बासिन्दा रहेका छन् भने अन्य जिल्लाका १८ जना संक्रमितले पनि यही केन्द्रबाट सेवा लिइरहेका छन्।एआरटी काउन्सिलर तथा एचआईभी फोकल पर्सन ईश्वर शाहीका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा संक्रमितको अवस्था फरक–फरक रहेको छ। सबैभन्दा बढी संक्रमित नरहरिनाथ गाउँपालिकामा भेटिएका छन्। त्यहाँ ३२ जना संक्रमित रहेका छन्, जसमा १३ पुरुष, १६ महिला, १ बालक र २ बालिका छन्।खाँडाचक्र नगरपालिकामा १० जना संक्रमित रहेका छन्। तीमध्ये ६ पुरुष, ३ महिला र १ बालिका छन्। तिलागुफा नगरपालिकामा ३ जना संक्रमित छन्, जसमा १ पुरुष र २ महिला रहेका छन्। शुभकालिका गाउँपालिकामा २ जना संक्रमित छन्, जसमा १ पुरुष र १ महिला छन्।सान्नीत्रिवेणी गाउँपालिकामा ४ जना संक्रमित छन्, जसमा ३ पुरुष र १ महिला रहेका छन्। रास्कोट नगरपालिकामा २ महिला संक्रमित रहेका छन् भने पचालझरना गाउँपालिकामा १ पुरुष संक्रमित रहेको तथ्यांकले देखाएको छ। पलाँता गाउँपालिकामा ३ जना संक्रमित छन्, जसमा २ पुरुष र १ महिला रहेका छन्। महाबै गाउँपालिकामा हालसम्म एचआईभी संक्रमितको दर्ता नभएको एआरटी सेन्टरले जनाएको छ।

संक्रमणका प्रमुख कारणस्वास्थ्यकर्मीहरूका अनुसार एचआईभी संक्रमण फैलिनुका प्रमुख कारणमध्ये असुरक्षित यौन सम्पर्क, संक्रमित रगतको प्रयोग, संक्रमित सुई तथा सिरिन्जको साझा प्रयोग, र संक्रमित आमाबाट शिशुमा संक्रमण सर्नु प्रमुख हुन्।विशेषगरी वैदेशिक रोजगारी, लामो समय घरबाहिर बसाइ, यौन स्वास्थ्यसम्बन्धी जानकारीको अभाव तथा असुरक्षित यौन व्यवहारका कारण संक्रमणको जोखिम बढ्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन्। धेरै व्यक्तिहरूमा एचआईभी संक्रमण भएको लामो समयसम्म थाहा नहुने भएकाले समयमै परीक्षण नगर्दा संक्रमण थप जटिल बन्ने गरेको छ।एचआईभी रोग होइन, व्यवस्थापन गर्न सकिने अवस्था स्वास्थ्य विज्ञहरूका अनुसार एचआईभी संक्रमण भएको व्यक्तिले नियमित औषधि सेवन गरेमा लामो, स्वस्थ र सामान्य जीवन बिताउन सक्छन्। अहिले सरकारले निःशुल्क एआरटी सेवा उपलब्ध गराउँदै आएको छ। समयमै परीक्षण, नियमित औषधि सेवन र चिकित्सकीय परामर्शले संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था राम्रो राख्न महत्वपूर्ण भूमिका खेल्छ।
एचआईभी सामान्य सम्पर्क, सँगै बस्दा, हात मिलाउँदा, खाना खाँदा वा अँगालो हाल्दा सर्दैन। त्यसैले संक्रमित व्यक्तिलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्दै सम्मान र सहयोगको वातावरण निर्माण गर्न आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्।स्वास्थ्यकर्मीहरूका अनुसार संक्रमणको संख्या बढ्दै जानु केवल स्वास्थ्यको विषय मात्र नभई सामाजिक, आर्थिक र जनचेतनासँग जोडिएको चुनौती पनि हो। त्यसैले स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था, नागरिक समाज तथा सञ्चारमाध्यमले संयुक्त रूपमा सचेतनामूलक अभियानलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।कालिकोटमा एचआईभी संक्रमितको संख्या ५७ पुग्नुले समुदायस्तरमै थप सतर्कता, नियमित परीक्षण, सुरक्षित यौन व्यवहार र कलंकमुक्त समाज निर्माणको आवश्यकता औँल्याएको छ। सचेतना नै संक्रमण रोकथामको सबैभन्दा बलियो आधार भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।

कालिकोटमा एचआईभी संक्रमित ५७ जना – सचेतना अभाव, असुरक्षित यौन सम्पर्क र सामाजिक चुनौती अझै कायम

कर्णाली सरकारको नीतिबाट हट्यो ‘बैंक खाता छोरीको,

कालिकोटमा एचआईभी संक्रमित ५७ जना – सचेतना अभाव, असुरक्षित यौन सम्पर्क र सामाजिक चुनौती अझै कायम

प्रचण्ड गर्मीको प्रभाव: कोहलपुरका विद्यालय तीन दिन

Leave a comment

Your email address will not be published. Required fields are marked *