प्रतिनिधिसभा निर्वाचनमा जाजरकोट कांग्रेस, एमाले मुख्य प्रतिस्पर्धी  बन्दा नेकपालाई चुनौती

ओम शाही

सुर्खेत, २४ माघ ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनयता कर्णाली क्षेत्रबाट तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बाट धेरै अवसर पाउने मध्यका नेता हुन्, जाजरकोटका शक्तिबहादुर बस्नेत । माओवादीको १० वर्षे सशस्त्र युद्धको सुरुवाती चरणबाटै भूमिगत भएका बस्नेतले पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरे ।

उनी तत्कालिन समयमा राज्यपक्षसँग युद्ध लड्न माओवादीले तयार गरेको जनमुक्ति सेनाको डिभिजन कमिसारसमेत थिए । एक दशक लामो युद्ध छेडेको माओवादी २०६२/०६३ पछि शान्ति प्रक्रियामा आयो । माओवादीले हतियार बिसाएसँगै २०६४ को पहिलो संविधानसभा निर्वाचन सम्पन्न भयो ।

सो निर्वाचनमा तत्कालिन माओवादीका कालिबहादुर मल्लले जित निकालेका थिए । पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपछि २०७० मा दोस्रो पटक चुनाव भयो । यही निर्वाचनबाट संसदीय राजनीतिमा उदाएका थिए, बस्नेत ।

२०६४ को पहिलो संविधानसभा निर्वाचन यता निरन्तर प्रतिनिधिसभा निर्वाचनमा जित निकाल्दै आएको तत्कालिन माओवादीका लागि यस पटकको चुनावी ब्याटल भने सहज छैन । २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनबाट संघीय संसदमा प्रवेश गरेका बस्नेतले २०७४ र २०७९ मा कांग्रेस–एमालेसँगको फरक–फरक गठवन्धनबाट अविजित यात्रा तय गरेका थिए ।

बस्नेत २०७४ मा नेकपा एमालेसँग, २०७९ मा कांग्रेस र एमाले विभाजनपछि बनेको नेकपा एकिकृत समाजवादीबीचको गठवन्धनबाट विजयी भएका थिए । तर, आसन्न २१ फागुनको प्रतिनिधिसभा निर्वाचन भने उनका लागि भारी पर्न सक्ने देखिएको छ । दुई पटक एमाले र कांग्रेसको बलमा निर्वाचन जितेका बस्नेतलाई आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने छ ।

जाजरकोटको सिमावर्ती जिल्ला रुकुम पश्चिममा तत्कालिन माओवादीका प्रभावशाली नेता जनार्दन शर्माले विकासको मुल फुटाउँदा बस्नेतलाई भने जाजरकोटमा अपेक्षा अनुसार काम नगरेको आरोप लाग्दै आएको छ । बस्नेत २०७० यता माओवादी सरकारमा सहभागी हुँदा पटक–पटक मन्त्री बनेका छन् । उनीमाथी लामो समय मन्त्री बनेपनि विशेष गरी जाजरकोटमा विद्युतिकरण, मध्यपहाडी राजमार्ग अन्तर्गत पर्ने रुकुम पश्चिम र जाजरकोट जोड्न भेरी नदीको पुल र मन्ता भीरलाई पूर्णता दिन नसकेको आरोप छ ।

बस्नेत स्वास्थ्य तथा जनसंख्या, गृह, वन तथा वातावरण र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री भइसकेका छन् । सांसद निर्वाचित हुनुपूर्व बस्नेतले प्रचण्डको स्वकीय सचिवालयमा बसेर काम गरेका थिए ।  जाजरकोटमा सांगठनिकरुपमा कांग्रेस र एमाले बलिया छन् । उनलाई नयाँ दलको लहरले समेत चुनौती दिने निश्चित ।

यद्यपी, उनी कमजोर पात्र भने होइनन् । जाजरकोटमा आगामी निर्वाचनमा उम्मेदवार बनेका कांग्रेस–एमालेका उम्मेदवार भुगोल अनुसार कम जनसंख्या भएका क्षेत्रबाट छन् । बस्नेत भेरी नगरपालिकाका स्थायी बासिन्दा हुन् । जाजरकोटमा भेरी, नलगाड र छेडागाड नगरपालिका धेरै जनसंख्या भएका स्थानीय तह हुन् ।

अन्य पालिकाबाट कम मत आउँदा यी तीन वटा पालिकाबाट मत तान्न सकेको खण्डमा बस्नेतको संससद यात्रा भने रोकिने छैन । गृह पालिकाबाट उनको पक्षमा स्वभाविक मत आएको खण्डमा नलगाड तत्कालिन माओवादीको पकड क्षेत्र हो । जुन स्थानीय तहको मतपरिणामले देखाउँछ ।  छेडागाडबाट समानुपातिक सांसद उठाएकाले यी तीन पालिकाबाट बस्नेतका पक्षमा धेरै मत आउने आँकलन छ ।

चुनावी प्रचारकै क्रममा रहेका बस्नेतले सामाजिक सञ्जालमा चर्चा भएजस्तो माहोल नयाँ दलको नरहेको उल्लेख गर्दै आफुले नै चुनाव जित्ने दावी गरे । आफुले यसअघिका निर्वाचनबाट प्राप्त जनमतको कदर गर्दै जाजरकोटको विकास र समृद्धिमा थुप्रै काम गरेको र बाँकी अधुरा कामलाई पुरा गर्न यसपटक पनि निर्वाचनमा होमिएको बस्नेतले प्रतिक्रिया दिए ।   

यस्तो छ दलहरुको शक्ति सन्तुलन 

२०७० पछि २०७४ मा दोस्रो पटक संघीय संसद छिर्ने बस्नेतको सहयात्री एमाले बनेको थियो । तत्कालिन चुनावमा माओवादी–एमाले गठवन्धन हुँदा बस्नेतले ३२ हजार दुई सय ८१ मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांगे्रसका राजिवविक्रम शाहले २३ हजार दुई सय ८९ मत प्राप्त गरेका थिए ।

२०७४ को निर्वाचन मत परिणामलाई विश्लेषण गर्ने हो भने सांगठनिकरुपमा नेपाली कांग्रेस बलियो देखिन्छ । सो निर्वाचनमा कांग्रेसले समानुपातिकतर्फ २० हजार चार ८६ मत प्राप्त गरेको थियो । दोस्रोमा एमालेले १७ हजार ६ सय ७१ मत प्राप्त गर्दा तत्कालिन माओवादीले १३ हजार पाँच सय ७१ मत प्राप्त गरेको छ ।

२०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ बस्नेतले ३४ हजार एक सय ५१ मत प्राप्त गरेको देखिन्छ । गएको निर्वाचनमा माओवादीले कांग्रेस र एमाले विभाजनपछि बनेको समाजवादी लगायतका पाँच दलसँग गठवन्धन गरेको थियो ।

उक्त गठवन्धनको सामना एमालेले एक्लै गरेको थियो । एमालेकातर्फबाट उम्मेदवार रहेका निरजप्रसाद आचार्यले प्रत्यक्षतर्फ २५ हजार एक सय २० मत प्राप्त गरेका थिए । २०७९ मा पनि कांग्रेसले सांगठनिक भोटमा सुधार गरेको छ । २०७४ को तुलनामा झण्डै दुई हजार सांगठनिक भोट बटुलेको कांग्रेस २२ हजार नौ सय ३४ मतका साथ पहिलो स्थानमा छ ।

त्यस्तै, दुई हजार सांगठनिक भोट बढ्दा गएको निर्वाचनसम्म आइपुग्दा एमालेका १९ हजार सात सय ४९ समानुपातिक भोट छन् । २०७४ को तुलनामा झण्डै एक हजारले सांगठनिक भोट बढ्दा जाजरकोटमा १४ हजार चार सय १२ समानुपातिक मतसहित तेस्रो स्थानमा तत्कालिन माओवादी हालको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) छ ।

प्रचण्ड नेतृत्वको माओवादीमा मिसिएको समाजवादीको भोट जाजरकोटमा सात सय ८६ छ । यस पटक दलहरु गठवन्धन बिनै चुनावमा होमिदा मुख्य प्रतिस्पर्धी कांग्रेस–एमाले हुनेछन् । जसले सांगठनिक मतमा कमजोर बस्नेतको यसपटकको संसद यात्रा रोकिन सक्छ । गएको निर्वाचनबाट अस्तित्वमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जाजरकोटमा सांगठनिक भोट पाँच सय ९४ छ ।

२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत विश्लेषण गर्ने हो भने जाजरकोटमा एमालेको मत धेरै छ । स्थानीय तहमा एमालेले २४ हजार चार मत पाउँदा कांग्रेसले २२ हजार तीन सय ४२, तत्कालिन माओवादी केन्द्रले १८ हजार ६ सय २२ र समाजवादीले दुई हजार तीन सय ३४ मत पाएको देखिन्छ ।

यस पटकको निर्वाचनमा रास्वपाको पक्षमा जनलहर चलेको बताइदा जुन दलले आफ्‌ना सांगठनिक भोट जोगाउन सके उनैले बाजी मार्ने निश्चित छ । तीनै दलका भोट काटेपनि जाजरकोटमा रास्वपाको उपस्थिती कमजोर छ । यसो हुँदा मुख्य प्रतिस्पर्धी कांग्रेस वा एमालेको पल्लाभारी हुँदा बस्नेतलाई धक्का लाग्ने निश्चित छ ।

कांग्रेसको विशेष महाधिवेशनको किचलोले चुनावसम्म प्रवेश पाएको खण्डमा जाजरकोटमा एमालेले इतिहास रच्ने राजनीतिक वृत्तमा चर्चा छ । यस पटक रास्वपाबाट कांग्रेस पृष्ठभूमिका व्यक्ति उम्मेदवार रहेकाले कांग्रेसको भोट क्रस हुँदाको लाभ एमालेलाई हुनेछ । यद्यपी, टिकट वितरणको विषयलाई लिएर जाजरकोट एमालेमा मनमुटाव रहेको बताइन्छ ।

एमालेको मनमुटाव र कांग्रेस आन्तरिक कलहको भोट बस्नेतले तान्न सक्ने सम्भावना पनि छ । आगामी निर्वाचनमा नेकपाबाट बस्नेत, एमालेबाट डम्बरबहादुर सिंह, कांग्रेसका खड्गबहादुर बुढासहित ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमा रास्वपाबाट राघब कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कृष्णविक्रम शाह, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट भेषबहादुर ओली, उज्यालो नेपाल पार्टी (उनेपा)बाट कर्णबहादुर नेपाली, मंगोल नेशनल अर्गनाइजेशनबाट कमान बुढा मगर, नेकपा माओवादीबाट बमबहादुर मल्ल, राष्ट्रिय जनमोर्चाबाट रत्नबहादुर खड्का र नेपाल मजदुर किसान पार्टीबाट धनीराम जैशी चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभा निर्वाचनमा जाजरकोट  कांग्रेस, एमाले मुख्य प्रतिस्पर्धी   बन्दा नेकपालाई चुनौती

युवा निर्णायक भएको निर्वाचन

Leave a comment

Your email address will not be published. Required fields are marked *