जुम्लामा विषादी प्रयोग मुक्त सप्ताह अभियान

गाेल्डेन बुढा,
जुम्ला,२१ जेठ ।
१४ औँ जिल्ला परिषद्ले जुम्लालाई नेपालकै पहिलो अर्गानिक जिल्ला घोषणा गरेको दशक भयो।यहीँ पहिचानका कारण जुम्ली मार्सी चामल, स्याउ र स्थानीय कृषि उत्पादनले राष्ट्रिय बजारमा छुट्टै विश्वास र मूल्य पाएका छन्। तर,पछिल्ला वर्षहरूमा उत्पादन वृद्धि र बजारमुखी खेतीको दबाबसँगै खेतबारीमा रासायनिक विषादीको प्रयोग बढ्न थालेपछि जुम्लाको अर्गानिक पहिचान नै चुनौतीमा परेको छ।यसलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारको कृषिजन्य उपजमा विषादी प्रयोग न्यूनीकरण कार्यक्रमअन्तर्गत कृषि विकास कार्यालय जुम्लाले बुधबारदेखि ‘ विषादी प्रयोगमुक्त’ सप्ताह अभियान सुरु गरेको छ।

जुम्लाको सिंजा गाउँपालिका-३ नराकोटबाट सुरु भएको अभियान गाउँपालिकाको समन्वय र कृषि विकास कार्यालयको आयोजनामा सञ्चालन गरिएको हो।पछिल्ला वर्षहरूमा स्याउ, मार्सीधान तथा तरकारी बालीमा रोग र किराको प्रकोप नियन्त्रणका नाममा रासायनिक विषादीको प्रयोग बढ्दै गएको कृषि क्षेत्रका सरोकारवालाहरू बताउँछन्। तत्काल उत्पादन जोगाउने उपायका रूपमा प्रयोग गरिने विषादीले दीर्घकालमा माटोको उर्वराशक्ति घटाउने, पानीका मुहान र जैविक विविधता नष्ट गर्ने तथा मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने जोखिम बढाएको छ।कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार अर्गानिक जिल्ला घोषणा गरिए पनि व्यवहारमा अझै लुकिछिपी विषादी प्रयोग भइरहेकाले सचेतना र नियन्त्रण दुवै आवश्यक बनेको छ।“अर्गानिक भन्ने नामले मात्रै पुग्दैन, व्यवहारमा पनि त्यसलाई पुष्टि गर्नुपर्छ,” उनले भने, “उत्पादन बढाउने नाममा विषादीको प्रयोग बढ्दै जाँदा जुम्लाको मौलिक पहिचान नै संकटमा पर्न सक्छ।”उनका अनुसार रासायनिक विषादीको विकल्पका रूपमा प्राङ्गारिक मल, वनस्पतिजन्य जैविक विषादी र एकीकृत कीरा व्यवस्थापन प्रणालीलाई किसानस्तरमा विस्तार गर्नुपर्ने आवश्यकता छ।जुम्लाको कृषि अर्थतन्त्रमा मार्सीधानको विशेष स्थान छ। कृषि विकास कार्यालयका अनुसार जिल्लामा मार्सीधानसँगै चन्दननाथ–१, चन्दननाथ–३, लेकाली–१ र लेकाली–३ जातका धान खेती गरिन्छ। कृषि अनुसन्धान केन्द्रले चन्दननाथ–१ र ३ सिफारिस गरिसकेको छ भने मार्सी–१८, २० र २२ परीक्षण चरणमा छन्।जुम्ली मार्सी चामलबाट मात्रै वार्षिक करिब तीन करोड ५० लाख रुपैयाँ आम्दानी हुने गरेको छ। यस वर्ष ६ हजार १ सय २५ मेट्रिकटन उत्पादन भएको छ भने अघिल्लो वर्ष ५ हजार ९ सय ८७ मेट्रिकटन उत्पादन भएको थियो। उत्पादन २.३ प्रतिशतले बढे पनि रोपाइँ क्षेत्र भने घटेर २ हजार ८८ हेक्टरमा सीमित भएको कृषि कार्यालयको तथ्यांक छ।कृषि विज्ञहरूका अनुसार जुम्ली मार्सीको बजार मूल्य र विश्वसनीयताको आधार नै यसको अर्गानिक छवि हो।

यदि विषादीको प्रयोग बढ्दै जाने हो भने उत्पादन बढे पनि बजारमा स्थापित विश्वास कमजोर हुनसक्ने जोखिम छ।यही जोखिमलाई ध्यानमा राख्दै चालु आर्थिक वर्षमा कृषि विकास कार्यालयले जुम्ली मार्सीधान उत्पादन विशेष नमुना क्षेत्र कार्यक्रम सञ्चालन गरेको छ। चन्दननाथ नगरपालिका, तातोपानी, हिमा र सिंजा गाउँपालिकामा लागू गरिएको कार्यक्रमका लागि ८ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ।त्यसैगरी पातारासी र तातोपानी गाउँपालिकामा मार्सीधान बिउ उत्पादन स्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम सञ्चालन भइरहेको छ। १० लाख रुपैयाँ बजेट रहेको उक्त कार्यक्रममार्फत किसानलाई तालिम, प्राविधिक सहयोग, रोग नियन्त्रणसम्बन्धी जानकारी, बिउ, सिटबिन, त्रिपाल, मिनिटिलर तथा थ्रेसर मेसिन वितरण गरिएको छ। प्राङ्गारिक मल उत्पादन र कम्बाइन मिल स्थापना गर्ने कामसमेत अघि बढाइएको कृषि कार्यालयले जनाएको छ।सप्ताहव्यापी अभियानअन्तर्गत जुम्लाका आठ वटै स्थानीय तहका किसानसँग छलफल गोष्ठी तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। सडक नाटकमार्फत पनि विषादी प्रयोगका असर र सुरक्षित खेतीका उपायबारे सन्देश प्रवाह गरिनेछ।अभियान २५ गतेसम्म सञ्चालन हुनेछ। अभियानको अन्त्यमा किसानका अनुभव, सिकाइ र प्रतिबद्धता संकलन गरी विषादीमुक्त कृषि प्रणाली विस्तारका लागि थप पहल गरिने कृषि विकास कार्यालयले जनाएको छ।






