भोक र अभावबीच जुम्ला पुगिन्, मुगुकी सरस्वती दमाई

गाेल्डेेन बुढा

जुम्ला,२१ जेठ ।
बिपन्नताको पीडा कहिलेकाहीँ शब्दमा अट्दैन, आँसुले पनि बयान गर्न सक्दैन, जहाँ मान्छे जीवन धान्नकै लागि आफ्नै थाकथलो छोडेर भौतारिन बाध्य हुन्छ । यस्तै नियतिको यथार्थ चपेटामा परेकी मुगुको छायानाथ रारा नगरपालिका–११ रोवा गाउँकी सरस्वति दमाई अहिले जुम्ला सदरमुकाम खलंगा बजारको एक साँघुरो कोठामा तीन साना बच्चासहित भोक र अभावसँग जुधिरहेकी छन् ।आर्थिक अभावले घरको ढोका मात्र होइन, भविष्यका सपना पनि बन्द भएपछि सरस्वति दुई महिना अघि आफ्नै गाउँ छोडेर जुम्ला आइपुग्नुभएको हो । साथमा १८ वर्षका छोरा विशाल दमाई, ५ वर्षका अनिल दमाई र ३ वर्षका विकास दमाई छन् । पेट पाल्ने आधार गुमेपछि मातृत्वको जिम्मेवारी काँधमा बोकेर उनी अनिश्चित यात्रामा निस्किन बाध्य भइन् ।

जुम्ला आइपुग्दा न त स्थायी बसोबास थियो, न रोजगारीको सुनिश्चितता, कहिले आफन्तको घर, कहिले चिनजानका आँगन,यसरी अस्थायी सहाराको भरमा दुई महिना बित्यो। अन्ततः जुम्लाको चन्दननाथ नगरपालिका–४ स्थित भारतीबाडामा एउटा सानो कोठा उनको आश्रय बन्यो, जहाँ उनी “भाडा तिर्छु” भन्ने आशामा बसिरहेकी छन् । तर, त्यो आशाभन्दा ठूलो यथार्थ भने भोक बनेर उनीहरूमाथि हावी भएको छ ।कोठाभित्र चुल्हो बल्दैन,न चामल छ, न पकाउने भाँडो नै छ। बिहान–बेलुका छिमेकीको सहयोगमा टर्ने दुई छाक नै उनीहरूको जीवनको सहारा बनेको छ । तर त्यो सहारा पनि अस्थायी छ,आज छ, भोलि छैन ।सरस्वति भक्कानिँदै भन्छिन्, “श्रीमान कारागारमा हुनुहुन्छ। डेढ वर्षदेखि जेलमै हुनुहुन्छ। घरमा कमाउने कोही नभएपछि बच्चा पाल्नै सकिनँ, त्यसैले अन्तिम विकल्प भनेर जुम्ला आएँ ।”यता जिल्ला कारागार जुम्लाका प्रमुख बिष्णुु बहादुर महतका अनुसार उनका श्रीमान जस्कर दमाई जवरजस्ती करणी उद्योग मुद्दामा कारागारमा छन् । घरको आर्थिक मेरुदण्ड टुटेपछि सरस्वति एक्लै तीन साना बच्चाको जिम्मेवारी बोकेर शहर पस्न बाध्य भएकी हुन् ।परिवारभित्रको अवस्था अझ जटिल छ । श्रीमानतर्फका पाँच र सरस्वतितर्फका दुई गरी सात सन्तान रहेको र तीमध्ये केही काठमाडौं पठाइएको भनिए पनि बाँकीको अवस्थाबारे स्पष्ट छैन । जस्कर दमाईकाे पहिलो श्रीमतीको मृत्यु भइसकेकाे छ।

होटलमा काम गर्ने आशामा जुम्ला आएकी सरस्वतिलाई अहिले दैनिक गुजारा नै चुनौती बनेको छ । “एक महिना काम गरेर भए पनि केही राहत हुन्छ जस्तो लागेको थियो, तर अहिले त खाने–बस्ने केही छैन,” उनी भन्छिन् ।तीन बालबालिका भने विद्यालयबाट टाढिँदै गएका छन् । किताब–कापीको सट्टा उनीहरूको जीवनमा अहिले भोक, चिसो र अभाव छ । “पहिला पेट भरेपछि पढाउने सोच थियो, तर अहिले त पेट नै खाली छ,” सरस्वतिले पीडा पोखिन्।

भोक र अभावबीच जुम्ला पुगिन्, मुगुकी सरस्वती दमाई

जुम्लामा विषादी प्रयोग मुक्त सप्ताह अभियान

भोक र अभावबीच जुम्ला पुगिन्, मुगुकी सरस्वती दमाई

कर्णाली प्रदेश युवा सम्मेलन २०८३ को घोषणापत्र

Leave a comment

Your email address will not be published. Required fields are marked *