सम्पादकीय : पूर्णबहादुरको रणनैतिक चाल !

नेपाली कांग्रेस कर्णाली प्रदेश समितिले बिहिबार सुर्खेतमा आसन्न २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर चुनावीसभा आयोजना गर्यो । उक्त सभालाई कांग्रेस सभापति गगन थापाले सम्बोधन गरे । कांग्रेसका उम्मेदवारलाई जिताउन आयोजित उक्त चुनावी सभाको मञ्चमा कर्णालीका कांग्रेसीहरुले तत्कालिन कार्यवहाक सभापति पूर्णबहादुर खड्कालाई भने देख्न पाएनन् । कारण थियो, २३–२४ भदौको जेन–जी आन्दोलन । नेतृत्व हस्तान्तरणको विषय पेचिलो बनेपछि विशेष महाधिवेशनबाट सभापति चयन भएका थापासँगै खड्का पनि गृह प्रदेशमा आयोजित कार्यक्रममा आउने अपेक्षा आमकार्यकर्ताको थियो ।
उनीहरु चाहन्थे, थापाको मुखबाट खड्काको नाम आओस्, उनले पार्टी र सुर्खेतको विकासमा पुर्याएको योगदानको चर्चा होस् । तर थापाले सम्बोधनका कुनै पनि अंशमा खड्काको नामसम्म नलिएपछि उनको लाइनमा चल्ने नेता तथा कार्यकर्तालाई निराश बनाएको चर्चा छ । थापाले कांग्रेस एक ढिक्का भएर आएको उद्घोष गरेको सम्बोधनमा खड्काको नामै नलिइनुलाई विषेश महाधिवेशनसँगै जोडिएको आशंका उनीहरुमा छ । अन्य दलका शिर्ष नेताहरु पार्टीका उम्मेदवारलाई जिताउन रणनीतिकरुपमा मुभ भइरहदा कांग्रेसका तत्कालिन कार्यबहाक सभापति खड्का भने यति बेला मौन छन् । कांग्रेसमा चर्किएको नेतृत्व हस्तान्तरणको किचलोमा फसेका खड्का नैतिकरुपमा अघोषित चुनाव बहिस्कारमा देखिन्छन् ।
महामन्त्रीद्वय थापा र शर्मा समूहले नेतृत्व गरेको २७–२९ पुसमा काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि खड्का धर्म संकटमा परे । जेन–जी आन्दोलनपछिको असहज परिस्थितिमा देउवाले खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । तर नेतृत्व रुपान्तरणको मुद्दा उठाएका महामन्त्रीद्वयलाई कमजोर ठानेर खड्काले निर्णायक भुमिका खेल्न सकेनन् । जसको साइड इफेक्ट झण्डै पाँच दशक बेदाग राजनीतिक प्रतिष्ठा बनाएका खड्का नैतिक हिसावले चुनावको रिङ्ग बाहिर छन् । खड्का मौन रहेपनि उनको निर्वाचन क्षेत्रमा उनका सहोदर भाई विष्णुबहादुर खड्का उम्मेदवार रहेकाले विशेष महाधिवेशनको असर झट्ट हेर्दा देखिएको छैन । सुर्खेत–१ मा खड्काका भाइ र २ मा शेखर कोइराला समूहका नेता हृदयराम थानीका विश्वास पात्र नारायण कोइराला उम्मेदवार रहेकाले महाधिवेशनको असर देखा नपरेको बताइन्छ । किन भने सुर्खेतमा उनै खड्का र थानीका बीच प्रतिष्ठाको लडार्इँ हुने गरेका छ । यी दुई नेताको लडार्इँका कारण प्रदेश र स्थानीय तहको निर्वाचन नै प्रभावित हुने गरेको विगतका अभ्यासहरुले देखाउँछन् । आफ्ना भाइलाई जिताउन थानीलाई चिढ्याएर सम्भव नहुने भएपछि खड्का मौन रहेपनि रणनैतिक मुभ भने जारी राखेका छन् ।
खड्काले सार्वजनिक रुपमा मुख खोलेका छैनन्, तर कर्णालीमा चुनावमा होमिएको कांग्रेसलाई टेलिफोनमार्फत ढाडस भने दिइरहेको उनी निकटका नेताहरु बताउँछन् । पार्टीमा नेतृत्व रुपान्तरणको आवाजलाई दवाउन खोज्दा किनारा लागेका पूर्णबहादुरकै कारण नयाँ अनुहारले अवसर पाएका छन् । कांग्रेसको किचलो सतहमा नआएको भए अबको पाँच वर्ष पनि उनै सांसद बन्ने निश्चित थियो । उनी कांग्रेस पार्टीका लागि महत्वपूर्ण व्यक्ति हुन् । तर उनी जस्तै कांग्रेसका पुराना नेताका कारण केन्द्रदेखि तल्लो तहसम्म नेतृत्वमा भने जाम लागेको थियो । जसका कारण युवाहरुलाई नेतृत्वमा आउन निकै पापड बेल्नु पर्ने अवस्था थियो । कांग्रेसमा लामो समय बेदाग राजनीतिक प्रतिष्ठा बनाएका खड्कालाई खराब भन्न खोजिएको होइन । तर कांग्रेस होस् वा अन्य दलहरुमा जीवनभर पदमा बसिरहने परिपाटी भने गलत छ । यसर्थ, जीवनभर नेतृत्वमा टाँसिरहने संस्कृति नभई पूर्णबहादुर जस्ता अनुभवी र पाका नेताले समयको मागसँगै नेतृत्व हस्तान्तरणमा इमान्दारिता देखाउन सक्नु पर्दछ । कांग्रेस विशेष महाधिवेशनले दिने सन्देश पनि यही हो ।






