जुम्लामा भ्रष्टाचारका उजुरीको चाप : आठ स्थानीय तहविरुद्ध १२६ मुद्दा

काली बहादुर परियार
जुम्ला ,१८ चैत ।
जुम्लाका आठ स्थानीय तहविरुद्ध भ्रष्टाचार तथा अनियमितताका उजुरीहरूको संख्या उल्लेख्य रूपमा बढेको छ । चालु आर्थिक वर्षको साउन देखि फागुन मसान्त सम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रदेश कार्यालय सुर्खेतमा जुम्लाबाट मात्रै १२६ वटा उजुरी दर्ता भएका छन् ।
अख्तियारका सूचना अधिकारी धर्मराज बुढाका अनुसार यी उजुरी मध्ये हाल सम्म ३५ वटा मात्रै फर्छ्योट भएका छन् भने बाँकी ९१ उजुरी अझै अनुसन्धानकै चरणमा रहेका छन् । यसले स्थानीय तहमा पारदर्शिता र जवाफदेहिता माथि गम्भीर प्रश्न उठाएको छ ।
उजुरीको सबैभन्दा ठूलो चाप चन्दननाथ नगरपालिकामा देखिएको छ। यहाँ परेका ५२ उजुरी मध्ये १३ वटाको मात्र टुंगो लागेको छ । त्यस्तै, गुठीचौर गाउँपालिकामा २३ मध्ये ९, पातारासी गाउँपालिकामा ११ मध्ये ४, तातोपानी गाउँपालिकामा ९ मध्ये २ उजुरी फर्छ्योट भएका छन् ।
यसैगरी हिम गाउँपालिकामा ७ मध्ये १, तिला गाउँपालिकामा ९ मध्ये २, सिंजा गाउँपालिकामा ४ मध्ये २ र कनकासुन्दरी गाउँपालिकामा ११ मध्ये २ उजुरी मात्रै टुंगो लागेका छन् ।
स्थानीय तहमा हुने आर्थिक अनियमितता, योजनामा ढिलासुस्ती, स्रोतको दुरुपयोगलगायत विषयमा उजुरी बढ्दो क्रममा रहेको अख्तियारले जनाएको छ। प्रत्येक वर्ष उजुरी संख्या बढ्दै जानु सुशासनको अवस्था कमजोर बन्दै गएको संकेतका रूपमा हेरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश कार्यालय सुर्खेतले कर्णाली प्रदेशका १० जिल्ला र लुम्बिनी प्रदेशको पूर्वी रुकुमलाई आफ्नो कार्यक्षेत्रभित्र राख्दै भ्रष्टाचार नियन्त्रणका लागि निगरानी बढाइरहेको जनाएको छ।






