सम्पादकीय : जलविद्युतमा नयाँ प्रविधि

नेपालको जलविद्युत विकासको इतिहास हेर्दा एउटा स्थिर सोचले लामो समयदेखि शासन गरेको देखिन्छ । नदी थुन्ने, ठूलो बाँध बनाउने, सुरुङ खन्ने र पानीलाई उचाइबाट खसालेर बिजुली उत्पादन गर्ने । यो मोडेलले देशलाई ऊर्जा क्षेत्रमा निकै उपलब्धि त दिएको छ, तर यसका साथसाथै वातावरणीय क्षति, विस्थापन, उच्च लागत र दीर्घकालीन निर्माणमा ढिलाई जस्ता समस्याहरू पनि निम्त्याएको छ । यही सन्दर्भमा अहिले कर्णाली नदी किनारमा परीक्षण भइरहेको हाइड्रोकाइनेटिक प्रविधिले नेपालको ऊर्जा बहसलाई नयाँ दिशातर्फ मोड्ने संकेत दिएको छ । बिना बाँध, बिना सुरुङ र बिना नदीको प्राकृतिक बहावमा हस्तक्षेप—यो प्रविधिको सबैभन्दा ठूलो विशेषता यही हो । बगिरहेको पानीको गतिलाई प्रयोग गरेर टर्वाइन घुमाउने र विद्युत उत्पादन गर्ने यो विधि वातावरणमैत्री मात्र होइन, भौगोलिक रूपमा जटिल नेपालजस्ता देशका लागि अत्यन्त उपयुक्त विकल्प बन्न सक्छ । जलविद्युत उत्पादनको परम्परागत सोचलाई चुनौती दिने यो प्रयास सफल भएमा, यसले ऊर्जा विकासको दर्शनमै परिवर्तन ल्याउन सक्छ ।

यो परियोजनामा बेलायतको लगानी र प्राविधिक सहयोग छ भने नेपालतर्फबाट मेघा हाइड्रो एण्ड इन्जिनियरिङले निर्माण र जडानको जिम्मा सम्हालेको छ । स्वदेशी सीप र अन्तर्राष्ट्रिय प्रविधिको सहकार्यले असम्भव जस्तो देखिने काम पनि सम्भव बनाउन सकिन्छ भन्ने सन्देश यो आयोजनाले दिइरहेको छ । विशेषगरी दुर्गम क्षेत्रका लागि यो प्रविधि वरदान सावित हुन सक्छ । कर्णालीका धेरै बस्तीहरू अझै राष्ट्रिय प्रसारण लाइनबाट टाढा छन् । त्यहाँ ठूला आयोजना सम्भव छैनन्, तर नदी भने छन्‌—तीव्र बहावका साथ । हाइड्रोकाइनेटिक प्रणालीले त्यही बहावलाई उपयोग गरेर साना–साना स्थानीय ग्रीडमार्फत ऊर्जा आपूर्ति गर्न सक्छ । यसले विकेन्द्रीकृत ऊर्जा विकासलाई प्रोत्साहन दिनेछ, जसले स्थानीय आत्मनिर्भरता बढाउनेछ । यद्यपि, उत्साहसँगै केही यथार्थपरक प्रश्नहरू पनि उठाउन जरुरी छ । एक सय किलोवाटको परीक्षण सफल भए पनि यसलाई व्यावसायिक रूपमा विस्तार गर्न कत्तिको सम्भव हुन्छ ? बाढी, नदीको धार परिवर्तन, दीर्घकालिन मर्मतसम्भार र लागतको प्रश्न के हुन्छ ? यस्ता प्रविधि ग्रामीण क्षेत्रमा कति दिगो र किफायती हुन्छन् ? यी र यस्तै प्रश्नहरूको स्पष्ट उत्तर बिना यसलाई समाधानको रूपमा मात्र प्रस्तुत गर्नु हतारो हुनेछ । 

तर परीक्षणकै चरणमा भए पनि यसको महत्व कम आँक्न मिल्दैन । नेपालमा ऊर्जा विकास प्रायः ठूला आयोजना, ठूला लगानी र ठूला राजनीतिक बहसमा सीमित रहँदै आएको छ । कर्णाली नदीमा थालिएको यो प्रयासले साना तर नवीन सोचले पनि ठूला परिवर्तनको ढोका खोल्न सक्छ । त्यसैले थप अनुसन्धान र सफल परीक्षणपछि राज्यले नीतिगत व्यवस्था गरेर विस्तारको योजना बनाउ आवश्यक छ । यदि राज्यले यस्ता वैकल्पिक प्रविधिलाई प्राथमिकतामा राख्यो भने नेपालले ऊर्जा क्षेत्रमा केवल उत्पादन बढाउने मात्र होइन, दिगोपन र समावेशिताको नयाँ मानक पनि स्थापित गर्न सक्छ । कर्णालीको बहाव अहिले केवल पानीको प्रवाह होइन, सम्भावनाको प्रवाह पनि हो । यदि यो प्रयास सफल भयो भने यसले नेपाललाई परम्परागत जलविद्युत मोडेलबाट बाहिर निकाल्दै नवीन, हरित र विकेन्द्रीकृत ऊर्जा भविष्यतर्फ डोर्‍याउनेमा दुई मत छैन ।

सम्पादकीय : जलविद्युतमा नयाँ प्रविधि

जुम्लामा भ्रष्टाचारका उजुरीको चाप : आठ स्थानीय

सम्पादकीय : जलविद्युतमा नयाँ प्रविधि

शासकीय सुधारका कार्यसूची :  एक महिनाभित्र बन्नेछन्

Leave a comment

Your email address will not be published. Required fields are marked *