जनयुद्धमा बेपत्ता परिवारको पीडा: “सरकारले छिटो स्थिति सार्वजनिक गरोस्”

सुर्खेत ,१५ भदौ।
सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिहरूका परिवारले सरकारले तत्काल उनीहरूको स्थिति सार्वजनिक गर्न माग गरेका छन्। नेपाल रेडक्रस सोसाइटी सुर्खेतले शनिबार अन्तर्राष्ट्रिय बेपत्ता दिवस–२०२५ को अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागीहरूले छानबिन आयोगले अहिलेसम्म कुनै ठोस तथ्य सार्वजनिक नगरेको भन्दै सरकारमार्फत बेपत्ता भएका व्यक्तिहरूको अवस्थाबारे चाँडो जानकारी दिन आग्रह गरे।
कर्णाली प्रदेशमा मात्र राज्य र विद्रोही माओवादी पक्षबाट १ सय ११ जना बेपत्ता पारिएका थिए। वीरेन्द्रनगर–३ का ऐनबहादुर शाहीले “बेपत्ता आफन्तको अवस्था यत्तिका वर्षसम्म पनि सरकारले स्पष्ट नगर्दा यस्ता दिवसहरूले पीडा मात्र थप्ने गरेको” बताए।
नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका सभापति लीलाराम सुवेदीले कमाउने परिवारका सदस्य बेपत्ता हुँदा घर परिवार बिचल्लीमा परेको उल्लेख गर्दै, राज्यले यस्ता परिवारलाई रोजगारी, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, जिल्ला समन्वय अधिकारी मेघनाथ सापकोटाले बेपत्ता पारिएका व्यक्तिहरूको खोजी कार्य जारी रहेको र प्रभावित परिवारका लागि विभिन्न सहुलियतपूर्ण कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।
नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति रामलाल आचार्यले संस्था पीडित पक्ष र सरकारबीच पुलको भूमिकामा रहँदै सत्य उजागर गर्ने, न्याय दिलाउने र पीडितलाई परिपूरण पाउने अधिकारका लागि निरन्तर वकालत गरिरहेको बताए।






