हुम्ला कहिले मोटर आउला ? बस्याको छु हेर्ने रहरैमा…
सुर्खेत, १५ असार ।
रेलको बाटो पुग्दै छ रे, तिमी बस्ने सहरैमा । हुम्ला कलै मोटर आउला बस्याको छु हेर्ने रहरैमा…। सिटामोलको अभावमा मर्नुपर्ने कोही, चोट, भोक लागेपनि बस्नु पर्ने रोइ हजुर । तुइन चढी स्कूल जान्छन् बाबु नानी गाउँमा, कालो बाटो चिल्ला गाडी होलान् तिम्रा ठाउँमा हजुर…।
रेलको बाटो पुग्दै छ रे तिमी बस्ने सहरैमा, हुम्ला कहिले बाटो पुग्ला बस्याको छु हेर्ने रहरैमा…। खच्चर मेरा गाडी मोटर, सँगै हिँड्ने भिरमा, नुनको भारी पिठ्युमा नाम्लो मेरो शिरमा हजुर… । दाउरा घाँस खाली खुट्टा छैनन् चप्पल चुत्ता, रातो कार्पेट ओछ्याउँछन् रे तिम्ले टेक्दा उता हजुर…। रेलको बाटो पुग्दै छ रे तिमी बस्ने सहरैमा… ।
माथि उल्लेखित शब्दहरु समेटिएको गीत चार वर्षअघि जुम्लाका गायक सुरज पण्डितले गाएका हुन् । उनले यो गीतमार्फत हुम्ला जिल्लाको वास्तविकतालाई चित्रण गरेका छन् । सुरजले रेलको बाटो पुग्दै छ रे तिमी बस्ने सहरैमा बोलको गीत एउटा गीतका लागि मात्रै गाएका थिएनन् । उक्त गीतमा सुरजले हुम्लावासीले अविकासको कहरमा भोग्नु परेको सास्तीको कुरुप चित्र दर्साउने प्रयास गरेका थिए ।
विकासका पूर्वाधारमध्ये सडक सञ्जालको अभावले हुम्लावासीले घरको चुल्हो बाल्नसम्म पाइलै पिच्छे गर्नुपरेको संघर्षको प्रतिनिधित्व उक्त गीतले गर्दछ । कुनै समय थुप्रै डकुमेन्ट्री फिल्म, गीत, उखान टुक्का, सामान्य ज्ञानमा सडक नपुगेको जिल्ला कुन हो ? भन्ने प्रश्नमा उत्तर हुन्थ्यो, हुम्ला । देशले सडक पूर्वाधारमा फड्को मार्दा आफ्नै देशभित्रको भुगोलसँगको दुरीमा निकै टाढा रहेको हुम्ला भने अब अपवादमा परिणत भएको छ ।
अब न सुरज पण्डितलाई हुम्लासँग रेलको बाटो दाज्नु पर्नेछ, नत हुम्ला अब गीत संगीत तथा सामान्य ज्ञानमा समेटिने छ । कठिन भूगोलका कारण राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला अब भने स्थलमार्गसँग जोडिएको छ । हवाई सेवामा निर्भर हुम्लाको यातायात अब सडकसँग जोडिएको छ ।
हुम्लालाई सडक सञ्जालसँग जोड्न वर्षौदेखि भइरहेको प्रयासले अन्ततः मुर्तरुप लिएको हो । हुम्लालाई सडक सञ्जालसँग जोड्न दशक अघि थालिएको कर्णाली कोरिडोरले हम्लालाई राष्ट्रिय सडक सञ्जालमा गोलबद्ध गरेको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित खार्पु हुँदै बग्ने चुवाखोला कर्णाली नदीमाथि बेलिब्रिज निर्माण कार्य पुरा भएपछि हुम्ला सदरमुकाम सिमकोट सडक सञ्जालमा जोडिएको हो ।
नेपाली सेनाले कर्णाली नदीमाथि बेलिब्रिज निर्माण गरेपछि स्थलमार्ग हुँदै हुम्ला सदर मुकाम सडक सञ्जालमा जोडिएको हो । १६ पुस २०८१ को मन्त्रिपरिषद् बैठकले चुवाखोला कर्णाली नदीमा बेलिब्रिज बनाउने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । जिम्मेवारी पाएको ३५ दिनमै सेनाले बेली ब्रिज निर्माण सम्पन्न गरेको थियो । निर्माण कार्यदलका प्रमुख मेजर रन्जित बुढाथोकीले पुल निर्माण सम्पन्न भएपनि औपचारिक उद्घाटन हुन भने बाँकी रहेको जनाए ।
‘बेलिब्रिज जडानको काम सकिएको छ, गाडीहरु वारपार गर्न थालिसकेका छन्,’ उनले भने । यो बेलिब्रिजले सिमकोटलाई मात्रै नभई उत्तरी छिमेकी चीनलाई समेत जोड्नेछ । कर्णाली करिडोर हुम्ला सदरमुकाम सिमकोट हुँदै चीनको सिमाना हिल्सासम्म पुग्छ । सिमकोटदेखि हिल्सासम्म यातायातका साधन चल्दै आएपनि चुवाखोलामा पुल नहुँदा कर्णाली करिडोरले पूर्णता पाउन सकेको थिएन ।
खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले चुवाखोलामा बेलिब्रिज बनेपछि सिमकोटको भाग्यरेखा चम्किएको भन्दै खुसी व्यक्त गरे । ‘यो हुम्ली जनताको मात्र नभई सिंगो कर्णालीबासीका लागि खुसीको कुरा हो, उनले भने, ‘कर्णाली प्रदेशको चीनसँग सिधा यातायात जोड्ने सपना बल्ल पुरा भयो ।’ उनका अनुसार यो पुलले तिब्बतको ताक्लाकोटदेखि भारतको रूपैडियासम्म सीधा यातायात सम्पर्क जोडेको छ ।
सिमकोटका व्यवसायी विजय लामाले गाडीलाई डोरीले बाँधेर तार्नुपर्ने, पसलका सामानका लागि चिनियाँ बजारमा नै निर्भर बन्नुपर्ने बाध्यता अन्त्य हुने बताए । खार्पुमा पुलबाटै गाडी वारपार हुँदा स्थानीयस्तरमा खुसीयाली छाएको छ । उनीहरुले यसलाई दशकौंदेखिको सपनाले सार्थकता पाएको टिप्पणी गरेका छन् । यस्तै २०८० पुसमा सलीसल्लामा बेलिब्रिज जडान भएसँगै हुम्लाको दक्षिणी भेग पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिएको थियो । चंखेली र सर्केगाड गाउँपालिकाको सिमाना सलीसल्लाको कर्णाली नदीमाथि बेलिब्रिज निर्माण हुँदा दक्षिणी हुम्लाका चार गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका थिए ।
छिचोलियो त्रिदेशीय सडक सञ्जाल
हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै त्रिदेशीय सडक सञ्जाल छिचोलिएको छ । कर्णाली करिडोर नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय सडक हो । भारतसँगको सिमाना लुम्बिनी प्रदेशको बाँकेअन्तर्गत जमुनाहदेखि चीनसँगको सिमाना हिल्सासम्मको सडकको दूरी पाँच सय पाँच किलोमिटर पर्दछ । यो सडक बाँकेको जमुनाहदेखि सुर्खेत, कालिकोट, सुदूरपश्चिमको बाजुरा, हुम्ला सदरमुकाम सिमकोटहुँदै चीनको सीमा क्षेत्र हिल्सासम्म पुग्छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हिल्सा पुग्न चार सय १९ किलोमिटर पार गर्नुपर्ने हुन्छ । कर्णाली करिडोर कालीकोटको नरहरिनाथ गाउँपालिकाको खुलालुदेखि सुरु हुन्छ । सुदूरपश्चिमको बाजुरा भएर हुम्ला सदरमुकाम सिमकोटहुँदै उत्तरको छिमेकी चीन जोड्ने यो सडकको बाँकी खण्डमा यातायातका साधन सञ्चालन भइरहेका छन् । हुम्ला सदरमुकाम सिमकोटदेखि चीनको सिमाना हिल्सासम्म र कर्णाली करिडोरको बाँकी खण्डमा पनि यातायातका साधन चलिरहेका छन् ।
संघीय सरकारले उत्तरको छिमेकी चीन जोड्ने कर्णाली करिडोरअन्तर्गतको दुल्लीकुना–लालीबगर खण्ड निर्माणको जिम्मा चार वर्षअघि नेपाली सेनालाई दिने निर्णय गरेको थियो । २०७८ साउनमा सेनाले कर्णाली करिडोरअन्तर्गतको खुलालु–हिल्सा सडकको एक सय २२ किलोमिटर सडक निर्माण सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरेको थियो ।
हुम्ला सदरमुकाम सिमकोटदेखि हिल्सासम्मको ९४ किलोमिटर सडक अहिले पनि सञ्चालनमा छ । संघीय सरकारले आगामी आर्थिक वर्षका लागि कर्णाली करिडोर स्तरोन्तीका लागि एक अर्ब बजेट छुट्याएको छ । चालु आर्थिक वर्षमा पनि सडकको स्तरोन्तीको कार्यले निरन्तरता पाइरहेको छ । कर्णाली प्रदेश दक्षिणको छिमेकी भारतसँग जोडिएको छैन । त्यसैले पनि उत्तरको छिमेकी चीनसँग स्थलमार्गबाट जोडिनु कर्णालीका लागि महत्त्वपूर्ण छ ।
कर्णाली करिडोर सञ्चालनमा आएसँगै हाटभोटको व्यापार पुन सुरु हुनुका साथै मानसरोवर यात्रा गर्नेका लागि यो करिडोर स्थालमार्गबाट सबैभन्दा छोटो र सहज हुनेछ । कर्णाली करिडोरअन्तर्गत कालिकोटको खुलालुदेखि चीनको सीमा हिल्सासम्मको दूरी दुई सय ६८ किलोमिटर पर्दछ । त्यसमध्ये सबैभन्दा कठिन भूभाग १ सय २२ दशमलव ७५ किलोमिटर सडक निर्माणको जिम्मा सरकारले ५ चैत २०७१ म नेपाली सेनालाई दिएको थियो । सेनाले यसअघि कर्णालीमा सुर्खेत–जुम्ला ८८ किलोमिटर, छिन्चु–जाजरकोट ४५ किलोमिटर, जाजरकोट–डोल्पा १ सय १७ दशमलव ७ किलोमिटर र नाग्म–गमगढी ९४ किलोमिटर सडक निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।