गड्डाचौकी नाकाबाट आउने विदेशी पर्यटक बढ्दै

कञ्चनपुर, १२ असोज । 
छिमेकी मुलुक भारतसँग जोडिएको पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार पछिल्लो दुई वर्षयता विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो समय यो नाका भएर नेपालका विभिन्न सहर घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत नवराज भट्टले जानकारी दिए ।
“दुई वर्षयताको तथ्याङ्क हेर्दा यो नाकाबाट आउने विदेशी पर्यटकको सङ्ख्या बढेको छ”, उनले भने, “यस वर्ष विगतको तुलनामा अझै बढ्ने अनुमान गरेका छौँ ।” उनका अनुसार सन् २०२२ मा गड्डाचौकी नाका भएर ५४२ जना मात्रै विदेशी पर्यटन आएका थिए । सन २०२३ देखि विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।
अध्यागमन कार्यालयका अनुसार २०२३ मा गड्डाचौकी नाका भएर ९८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी २०२४ मा नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या बढेको छ । सन् २०२४ मा एक हजार १५४ जना विदेशी पर्यटक यो नाका भएर नेपाल आएका छन् । सन् २०२५ को हालसम्म एक हजार १४८ विदेशी पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।
गड्डाचौकी नाकाबाट भित्रिने पर्यटक पोखरा, बर्दिया, चितवन, लुम्बिनीलगायत ठाउँ घुम्नका लागि जाने गरेका छन् । यो नाकाबाट फ्रान्स, इटाली, स्पेन, कोरिया, जर्मन, अष्ट्रेलिया, रसिया, युके, युएसए, अर्जेन्टिनालगायत देशका नागरिक आउने गरेको अध्यागमन कार्यालयले जनाएको छ ।
 
नेपाल प्रहरीले भारतसँग जोडिएको पश्चिमी सीमा नाका गड्डाचौकीमा सुरक्षा जाँचमा कडाइ गरेको छ । यसका लागि प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेर सुरक्षा जाँच थालेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत आजदेखि नाकामा तालिम प्राप्त कुकुर परिचालन गरेको हो ।
खुलासीमा नाकाबाट चाडपर्वका बेला लागूऔषध र विष्फोटक पदार्थ भित्रिन सक्ने भएकाले प्रहरी नाकामा तालिम प्राप्त कुकुर परिचालन गरेर सुरक्षा जाँच गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए । “‘शेरा’ र ‘लैला’ नामक दुई  तालिम प्राप्त कुकुर नाकामा परिचालन गरिएको छ ।” उनले भने, “‘शेरा’ ले विष्फोटक पदार्थ र ‘लैला’ ले लागुऔषध पत्ता लगाउँछ ।”
दशैं मनाउन घर फर्किरहेकाको भीड बढिरहेका बेला अन्य  आपराधिक गतिविधि हुन नदिन प्रहरीले सीमा नाकासँगै बसपार्क लगायतका अन्य क्षेत्रमा समेत सुरक्षा व्यवस्था कडा पारेको छ । भारतबाट नेपाल फर्किने यात्रुहरुको सहायताका लागि नाका र बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।  प्रहरीले राजमार्ग क्षेत्रमा जाँच बढाएको छ भने बजार क्षेत्रमा समेत थप प्रहरी परिचालन गरेको छ ।  दशैं तिहार लगायतका चाडपर्वलाई लक्षित गरेर प्रहरीले जिल्लामा गस्ति बढाएको छ ।
गड्डाचौकी नाकाबाट आउने विदेशी पर्यटक बढ्दै

दशैँको उमङ्गले नछोएको बाढीपीडितको बस्ती 

गड्डाचौकी नाकाबाट आउने विदेशी पर्यटक बढ्दै

नेपाल राष्ट्र बैङ्कद्वारा नयाँ एकीकृत निर्देशन जारी 

Leave a comment

Your email address will not be published. Required fields are marked *