राजेन्द्र रोकायाको संघर्ष देखि स्याउबारी सम्म

काली बहादुर परियार
जुम्ला,९ असोज।
पहाडको काखमा बसेको सुन्दर गाउँ—मोफ्ला। चिसो हावामा मिसिएका गोठालाहरूको स्वर, टाढाको धुलाम्ये बाटोछेउमा रमाइलो गर्दै खेलिरहेका बालबालिका। यही परिवेशमा जन्मिए राजेन्द्र रोकाया, जहाँ राजनीतिले घर–आँगनमा बिस्तारै पाइला राख्न थालेको थियो।
१८ वर्ष नपुग्दै उनले रातो झन्डा समाते। नारासहितको आन्दोलनमा होमिँदै एमाले पार्टीको कार्यकर्ता बने। सुरुमा गाउँका बुढापाकाले राजनीतिलाई सन्देहले हेरे पनि राजेन्द्रको विश्वास अडिग थियो । भविष्यको बाटो यही हो। सक्रियता देखेपछि पार्टीले निरन्तर जिम्मेवारी थप्दै गयो।
एमाले बढ्की गाउँ कमिटीको अध्यक्ष बने, दुई कार्यकालपछि इकाई सचिव। गाउँमा पार्टीलाई मजबुत बनाउनेदेखि सरकारका निर्णयविरुद्ध आन्दोलन गर्ने—त्यो समय निरन्तर संघर्षमय रह्यो।
देशको राजनीतिक उतार–चढावसँगै उनको पनि यात्रामा मोड आइरह्यो। एमाले–माओवादी एकतापछि नेकपा बन्यो त्यतै होमियै , पुरन पार्टी पुर्ववत अबस्था अदालतले फर्काईदियो तर एमाले दुईभागमा बिभाजित भयो पार्टी फुट्दा पुराना साथीहरू अर्कै पक्षमा लागे ।
उनले विचारअनुसार अघि बढ्ने अठोट गरे र नेकपा एकीकृत समाजवादी रोजे । प्रदेश क्षेत्र नम्बर (ख) सचिव हुँदै युवा संघको केन्द्रीय सदस्यसम्म पुगे । तर राजनीति केवल पदको खेल मात्र रहेन; यो सम्बन्ध र प्रतिस्पर्धाको जटिल जालो बनिसकेको थियो।
चुनावको मौसममा त्यो जालो अझ घनीभूत भयो। गाउँका साँघुरा बाटाहरू धुलाम्ये नारा र बहसले भरिन्थे। वडा अध्यक्षमा उम्मेदवार बनेका राजेन्द्रको सामना पुरानो साथी बलबहादुर रोकाया (बीबीसी) सँग भयो।
बाल्यकालको गहिरो मित्रता चुनावी मैदानमा दुई ध्रुवझैं विभाजित भइसकेको थियो। तर बदलिँदो राजनीतिक यात्राले फेरि उनीहरूलाई एउटै झन्डामुनि ल्यायो । समयसँगै राजेन्द्र भित्री रूपमा प्रश्न गर्न थाले पार्टीहरू विचारभन्दा स्वार्थमा किन केन्द्रित छन ? युवा संघको जिल्ला समिति निर्माणकै बेला असन्तुष्टि बढ्यो ।
“राजनीति परिवर्तनका लागि हो कि नेताको स्वार्थका लागि ?” उनले आफैंलाई सोधे। अन्ततः अन्धभक्त राजनीति स्वीकार्न नसकी उनले कम्युनिस्ट विचारधारालाई बिदा दिए र नेपाली कांग्रेस रोजे । यो निर्णय उनको लागि सजिलो थिएन उनले भने म रुदै रुदै कम्युनिस्ट छाडे काङ्ग्रेस बने ।
अहिले त मलाई राजनीति प्रती त्यति चासो नै छैन हराउदै गएको छ । “आफूले रोपेको विरुवाको फल खान पाइनँ ” उनी भावुक हुँदै भन्छन । राजेन्द्रको जीवन कुनै एक सीमामा अड्किएको छैन। राजनीतिज्ञ, व्यापारी, शिक्षक, जागिरे सबै रूपमा उनले आफूलाई अभिव्यक्त गरे।
२०७२ सालतिर चन्दननाथ सहकारीमा २५०० रूपैयाँ तलबको जागिर सुरु गर्दा मासिक खर्च ३५०० रूपैयाँ थियो । आर्थिक कठिनाइका बाबजुद पाँच वर्षमा तीन कार्यकालसम्म म्यानेजरको अनुभव सँगाले । त्यसपछि शिक्षा क्षेत्रमा होमिए ‘मदरल्याण्ड एकेडेमी’ र ‘हिमा मोर्डन एकेडेमी’ संचालन गर्दै गाउँका बालबालिकालाई गुणस्तरीय शिक्षा दिने सपना पुरा गर्न जुटे।
तर जीवन धान्न जागिर मात्र पर्याप्त थिएन । उनले हिमालको स्याउ, सिमी र घोडाम्चोलाई बजारसम्म पुर्याउँदै व्यापारको बाटो समाते । राजनीति भने उनको नसामा गडेरै रह्यो, तर आत्माले फरक दिशा खोजिरहेको थियो। अन्ततः उनले निर्णय गरे अब जागिर होइन, व्यवसाय र राजनीति सँगै अघि बढाउने ।
आज राजेन्द्र राहदेव कृषि तथा पशुपन्छी फर्मको संचालन गर्दै छन्। उनका बारीमा ५०० बोट स्याउ फलिरहेका छन । सयौँ संख्यामा भेडा–बाख्रा, केही कुखुरा र खरायो र जर्सी गाईसमेत पालेका छन । अहिले उनको दैनिक जीवन गोठालो र स्याउबारीमै बित्छ। परिवारको आर्थिक अवस्था पनि पहिलेको जस्तो कमजोर छैन सबै सदस्य आम्दानीमा संलग्न छन ।
उनी हाँस्दै भन्छन “राजनीतिमा रोपेको विरुवाको फल त पाइनँ, तर बारीमा रोपेको बिरुवाको फल अवश्य खानेछु भन्ने आशा छ।” यो वाक्य उनका संघर्षको सम्पूर्ण सार हो। राजनीति, जागिर र व्यापारको प्रत्येक प्रयासको निचोड यही हो जसरी उनले रोपेका स्याउका बोटले चाँडै हरियाली ल्याउनेछन सायद त्यो दिन उनको हातमा फल नपरे पनि ती विरुवाले अरूलाई चिसो छायाँ र मिठो फल अवश्य दिनेछन ।
अहिले उनी हिमाली हावापानीमा हुर्केका भेडा–बाख्रा भित्री मधेस सुर्खेतसम्म पुर्याएर बेच्ने काम पनि गरिरहेका छन ।
संघर्ष, अवसर र निरन्तर श्रमको यो यात्रा आज पनि थामिएको छैन। मोफ्लाको उकाली–ओराली जस्तै उनको जीवनको कथा घुमाउरो छ तर प्रत्येक मोडमा नयाँ सम्भावना बोकेको छ ।






