जुम्लामा १६ दिने अभियान सुरु

गोल्डेन बुढा

जुम्ला,९ मंसिर ।

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखाको समन्वयमा जुम्लामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान विभिन्न कार्यक्रमसहित सुरु गरिएको छ। हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रूपमा मनाइने यस अभियानअन्तर्गत जुम्लामा पनि सञ्चार, जनचेतना तथा समुदाय सहभागितामूलक गतिविधिहरू सञ्चालन गरिने जनाइएको छ।अभियानको उद्घाटन एकीकृत भवन परिसरबाट निकालिएको नगरपरिक्रमासँगै कोणसभामा परिणत भयो। कर्णाली प्रदेशसभा सदस्य देवेन्द्र बहादुर शाहीले लैङ्गिक हिंसा कुनै एक समूहमा मात्र सीमित नभई महिला–पुरुष दुवैलाई प्रभावित गर्ने गम्भीर सामाजिक समस्या भएको बताए। “हिंसा नगर्ने प्रतिबद्धता कागजमै सीमित गर्नु हुँदैन, घर–घरबाट व्यवहारिक परिवर्तनका पहल सुरु हुनुपर्छ,” उनले भने। समाजका सबै तहलाई अभियानसँग जोड्न सके मात्र हिंसाविरुद्धको लडाइँ प्रभावकारी हुने उनले स्पष्ट पारे।त्यसैगरी, प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले नेपालमा महिलामाथि हुने हिंसाको दर अझै उच्च रहेको उल्लेख गर्दै समुदायस्तरमै व्यापक सचेतना अभियान आवश्यक रहेको बताए। “कानुनी संरचना सुदृढ हुँदैछ, तर मानसिकता परिवर्तन हुन बाँकी छ।

समुदायको अग्रसरता नै लैङ्गिक हिंसा रोकथामको मुख्य उपाय हो,” पौडेलले भने।यता राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाकी प्रमुख कल्पना आचार्य (नेपाल)ले १६ दिने अभियानको उद्गम,उद्देश्य र महत्वबारे प्रष्ट पार्दै सामूहिक प्रतिबद्धता र सहकार्यबिना लैङ्गिक हिंसा अन्त्य असम्भव रहेको धारणा व्यक्त गरिन्। उनले सरकारी, गैरसरकारी तथा समुदायका सबै तहबाट सक्रिय सहभागिताको अपेक्षा गर्दै अभियान वर्षभर निरन्तर सचेतना र सहयोगका गतिविधिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिइन्।“हामी १६ दिन मात्र होइन, वर्षभर नै हिंसा विरुद्ध बोल्ने र सुरक्षित समाज निर्माण गर्ने लक्ष्यसहित अघि बढिरहेका छौँ,” उनले भनिन्।अभियानको क्रममा डिसेम्बर १ मा विश्व एड्स दिवस, डिसेम्बर ३ मा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइने कार्यक्रम तय गरिएको छ। यी दिवसहरूलाई समेटेर विविध सचेतना गतिविधि, अन्तरक्रिया, रेली, विद्यार्थी अभिमुखीकरण तथा स्थानीय बहस–गोष्ठी सञ्चालन गरिने जनाएको छ।जुम्लामा प्रारम्भ भएको १६ दिने अभियानले लैङ्गिक हिंसाप्रति शून्य सहनशीलताको नीति स्थापना गर्ने, स्थानीय संरचनामा संवेदनशीलता थप गर्ने र समुदायलाई संगठित रूपमा हिंसा रोकथामको पहलमा जोड्ने अपेक्षा गरिएको छ।

सहभागीहरूका अनुसार अभियान उद्घाटनले जुम्लामा लैङ्गिक समानता, सम्मान र सुरक्षित समाज निर्माणका लागि नयाँ ऊर्जा भरेको छ।उद्घाटन कार्यक्रममा सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकारलगायतको उल्लेख्य उपस्थिति थियो। यस्तै जुम्लाका सबै स्थानीय तहमा पनि प्लेकार्ड बाेकेर १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान विभिन्न कार्यक्रमसहित सुरु गरिएको छ।

जुम्लामा १६ दिने अभियान सुरु

तामझामका साथ १५-शैयाको पालिका अस्पतालकाे समुद्घाटन

Leave a comment

Your email address will not be published. Required fields are marked *