सुर्खेतमा जेन–जी आन्दोलन सरकारी संरचनामा  २१ करोड १० लाख बढीको क्षति

ओम शाही

सुर्खेत, ८ असोज ।

२३–२४ भदौको जेन–जी आन्दोलनका कारण कर्णाली प्रदेशमा संघ, प्रदेश र स्थानीय सरकार मातहतका कार्यालय तथा निकायहरुमा २१ करोड बढीको क्षति भएको छ । २३ भदौमा सामाजिक सञ्जालमाथिको प्रतिवन्ध, भ्रष्टाचार र अनियमितताका विरुद्ध सडकमा उत्रिएका जेन–जी समूहमाथी सरकारको अत्याधिक बल प्रयोगपछि सोही दिन १९ जनाले ज्यान गुमाएका थिए ।

त्यसको विरोधमा भोली पल्ट (२४ भदौ) जेनी–जी समूहले सुरु गरेको आन्दोलनले हिंसात्मकरुप धारण गरेसँगै देशैभर सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनीका कारण व्यापक मात्रामा क्षति पुगेको थियो । आन्दोलनपछि प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित संघ, प्रदेश र स्थानीय सरकार मातहतका कार्यालय तथा निकायका प्रमुखहरुले प्रहरीको रोहबरमा क्षतिको विवरण निकालेका हुन् ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्यांक अनुसार कार्यालयका भवन, कोठा, फर्निचर, फिक्चर्स, कम्प्यूटर तथा इलेक्ट्रोनिक्स लगायतका संरचनामा तोडफोड र आगजनीले २१ करोड १० लाख ५६ हजार सात सय ४६ रुपैयाँ बराबरको क्षति पुगेको छ ।

जसमा संघ र प्रदेशका निकायमा १० करोड १९ लाख ६९ हजार तीन सय ४६ र वीरेन्द्रनगर नगरपालिका तथा मातहतका वडा कार्यालयमा १० करोड ९० लाख ८७ हजार चार सय रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलका अनुसार सबैभन्दा बढी क्षति कर्णाली प्रदेशसभा सचिवालयमा भएको छ ।

उनका अनुसार कर्णाली प्रदेश सरकार मातहतको प्रदेशसभा सचिवालयका भवन, कोठा, फर्निचर, फिक्चर्स, कम्प्यूटर, इलेक्ट्रोनिक्स, सवारी साधन र अन्य सामग्रीमा तीन करोड ९४ लाख १६ हजार तीन सय ९४ रुपैयाँ ४८ पैसा बराबरको क्षति पुगेको छ । त्यस्तै, प्रदेशकै निकाय अन्तर्गत प्रदेश लेखा नियन्त्रक कार्यालयमा एक करोड ३२ लाख १६ हजार ६१ रुपैयाँ ८७ पैसा बराबरको भवन तथा कोठा, फर्निचर, फिक्चर्स, कम्प्यूटर तथा इलेक्ट्रोनिक्स, सवारी साधन, सरकारी कागजात, नगद/बहुमुल्य धातुमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयको तीन लाख ५९ हजार नौ सय रुपैयाँ पर्ने कर्णाली प्रदेश ०२–००२ प ९८५० नम्बरको  मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ ।

त्यस्तै, मुख्य न्यायाधिवक्ताको कार्यालयका दुई वटा चार पाङ्ग्रे सवारी पनि आन्दोलनकारीको तोडफोड र आगजनीका कारण पूर्णरुपमा जलेर नष्ट भएका छन् । कार्यालयका कर्णाली प्रदेश ०२००१ झ ०००३ नम्बरको स्कार्पियो र कर्णाली प्रदेश ०२ ००१ झ ०१४० नम्बरको निसान किक्स गाडी जलेर नष्ट हुँदा एक करोड १४ लाख ६० हजार बराबरको क्षति भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा गरिएको तोडफोड र आगजनीले एक करोड ७९ लाख बराबरका भवन, कोठाहरु, फर्निचर तथा फिक्चर्स, कम्प्यूटर तथा इलेक्ट्रोनिक्स सामग्रीमा क्षति पुगेको प्रशासनले जनाएको छ ।

विवरण अनुसार संघीय सरकार मातहतका ६ निकायमा पनि ठुलो क्षति भएको छ । जसनुसार जिल्ला समन्वय समितिको कार्यालयका भवन तथा कोठा, फर्निचर, फिक्चर्स, कम्प्यूटर तथा इलेक्ट्रोनिक्स लगायतका सामग्रीमा चार लाख ३० हजार बराबरको क्षति भएको छ । यस्तै, सडक डिभिजन कार्यालय सुर्खेतको बा १ झ ९४२८ नम्बरको पीकअप भ्यानमा आन्दोलनकारीले दुई लाख ४० हजार बराबरको क्षति पुर्‍याएका छन् ।

संघ मातहतकै भेरी कोरिडोर सिँचाई तथा नदी व्यवस्थापन आयोजनाको बीबीए ८३२० नम्बरको टाटा सफारीमा तोडफोड हुँदा ६० हजार बराबरको क्षति भएको छ । यस्तै, नापी कार्यालय सुर्खेतमा भवन, कोठा, फर्निचर, फिक्चर्स, कम्प्यूटर, इलेक्ट्रोनिक्स तथा सवारी साधनमा तोडफोड र आगजनीले दुई करोड ६३ लाख ६० हजार नौ सय ९० रुपैयाँ बराबरको क्षति पुगेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । संघीय सरकार मातहतकै भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयमा चार लाख १० हजार बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

यस्तै, वीरेन्द्रनगर नगरपालिकामा दुई करोड ४६ लाख ३९ हजार बराबरको क्षति भएको छ । नगरपालिका अन्तर्गतका वडा नम्बरमा १ मा २५ लाख, २ मा ३९ लाख ६० हजार पाँच सय, ३ मा एक करोड ६५ लाख, ४ मा ८५ लाख ३५ हजार, ५ मा ४६ लाख ७५ हजार, ६ मा एक करोड ३७ लाख ७४ हजार, ७ मा १८ लाख ९६ हजार, ८ मा एक करोड ४८ लाख ५० हजार बराबरको क्षति भएको छ ।

त्यस्तै, वडा नम्बर ९ मा ३९ लाख ६० हजार एक सय,  १० मा ३५ लाख २५ हजार नौ सय, ११ मा ४१ लाख ४३ हजार चार सय र १२ नम्बर वडामा ६१ लाख ७३ हजार पाँच सय रुपैयाँ बराबरको भवन, फर्निचर, फिक्चर्स, कम्प्यूटर, इलेक्ट्रोनिक्स, सवारी साधन तथा महत्वपूर्ण सरकारी दस्तावेजमा क्षति भएको प्रशासनद्वारा उपलब्ध गराइएको तथ्यांकमा उल्लेख छ ।

वडा कार्यालयबाटै सेवा दिन मुख्यमन्त्रीको निर्देशन 

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले तत्काल वडाबाटै नागरिकलाई सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । जेन–जी आन्दोलनका क्रममा वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर १ देखि १२ सम्मका वडा कार्यालयमा तोडफोड र आगजनीका कारण पूर्णरुपमा ध्वस्त बनेका थिए ।

आगजनीका कारण ध्वस्त भएका वडा कार्यालयबाट तत्काल सेवा दिन नसकिने अवस्था आएपछि नगरपालिकाले ५ असोजदेखि जिल्ला समन्वय समितिको सभाहलबाट एकिकृत सेवा दिन सुरु गरेको थियो । तर, सामाजिक सञ्जालमा नगरपालिकाको कदममा आलोचना भएपछि मंगलबार मुख्यमन्त्री कँडेलले तत्काल वडाबाटै सेवा प्रवाह गर्न वडाध्यहरुलाई निर्देशन दिएका हुन ।

१२ वटै वडाका वडाध्यक्षलाई राखेर मुख्यमन्त्री कँडेलले नागरिकको सहजताका लागि जलेकै भवनबाट भएपनि सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् । ‘भौतिक संरचनामा नोक्सान भए पनि जे जति बाँकी छ, त्यसैबाट सेवा प्रवाह गुर्नहोस्‌’, मुख्यमन्त्री कँडेलले वडाध्यक्षहरुलाई भने, ‘कुनै पनि बहानामा नागरिकले दुख पाउनु हुँदैन । यस कारण जति सक्यो चाँडै वडाबाट सेवा सुचारु गर्नुस् ।’ २३–२४ भदौको जेन–जी आन्दोलनका क्रममा १६ मध्ये वीरेन्द्रनगर उपत्यकामा अवस्थित १२ वडा कार्यालयको भवन, विद्युतीय सफ्टवेयर, उपकरण, कागजात, फर्निचर, खानेपानीलगायतका पूर्वाधारहरू पूर्ण रूपमा जलेर नष्ट भएका थिए । आगलागीका कारण वडा कार्यालयका भवनहरूसमेत प्रयोग गर्न लायक नहुने अवस्थामा पुगेका छन् ।

सुर्खेतमा जेन–जी आन्दोलन  सरकारी संरचनामा  २१ करोड १० लाख बढीको क्षति

सम्पादकीय : चाडपर्व लक्षित सुरक्षामा ध्यान देऊ

सुर्खेतमा जेन–जी आन्दोलन  सरकारी संरचनामा  २१ करोड १० लाख बढीको क्षति

बर्दियाका केराखेतीमा बजार संकट : भारतीय आयातले

Leave a comment

Your email address will not be published. Required fields are marked *