सम्पादकीय : लागुऔषध न्यूनिकरणमा ध्यान देऊ

कानुनले लागुऔषध कारोवार र सेवनलाई जघन्य अपराध मान्छ । यसको सेवन तथा कारोवारमा संलग्नलाई जन्मकैदसँगै पाँच लाखदेखि २५ लाखसम्म जरिवानाको सजाय हुने व्यवस्था कानूनमा छ । तर विभिन्न फ्याक्टरले यसले झन् बढावा पाइरहेको प्रहरीका विभिन्न तथ्यांकहरुले देखाउँछन । पछिल्लो सयम यसको जालोमा १८ देखि ४५ वर्ष उमेर समूहको संक्रिय जनसंख्या फस्दै गएको छ ।
यो सामाजिक दृटिकोणले निकै चिन्ताको विषय हो । परिवार, समाज तथा विद्यालयस्तरमा जनचेतना फैलाउन ढिलाइ हुँदा लागुऔषधको जालो भित्रभित्रै भुसको आगो झैँ फैलदो छ । प्रहरीले लागुऔषध दुव्र्यसनी न्यूनीकरण गर्न लालटिन अभियान, लागुऔषध नियन्त्रण घरदैलो कार्यक्रम, पर्चा पम्प्लेट वितरण, पुनस्र्थापना केन्द्रको नियमित अनुगमन तथा सचेतना, सवारीचालकको लापसे चेकिङ, हटस्पट केन्द्रित सचेतनामूलक कार्यक्रम, गाँजा तथा अफिम फँडानीलगायतका कामहरू गर्दै आएको छ । तर, प्रहरीको एकल प्रयासले मात्रै लागुऔषधको न्यूनीकरण सम्भव छैन । यसमा परिवार, समाज, स्थानीय सरकार जिम्मेवार नभए झन् विकराल अवस्था सिर्जना हुने निश्चित छ ।
प्रहरीको तथ्यांक अनुसार सुर्खेतमा तीन आर्थिक वर्षको अवधिमा लागुऔषधसम्बन्धी दुई सय ३५ मुद्दा दर्ता भएका छन् । यी मुद्दामा तीन सय ६९ लाई पक्राउ गरी मुद्दा चलाइएको प्रहरीको तथ्यांक छ । लागुऔषध कारोबारी तथा सेवनकर्तामा मुद्दा चलाइएका अधिकांश १८ देखि ४५ वर्ष उमेर समूहको सक्रिय जनसंख्या बढी छ । प्रक्राउ परेकाहरू अफिम र यसबाट बन्ने ब्राउन सुगरको कारोवारी र प्रयोगकर्ता बढी छन् भने, महिला तथा बालबालिका पनि यसको कुलतमा फस्दै गएका छन् ।
सजिलो र बढी पैसा पाउने लोभले युवाहरू जोखिममा पर्दै गएको प्रहरीको अनुसन्धानले देखाउँछ । विशेषगरी किशोर–किशोरी तथा युवा वर्गमा यसको लत गम्भीर चुनौतीका रूपमा देखा परेको छ । यसले समाजमा जघन्य अपराध, बेरोजगारी, स्वास्थ्य समस्या र पारिवारिक विघटनजस्ता विकराल समस्या निम्त्याइरहेको छ । यस्तो अवस्थामा लागुऔषध न्यूनीकरणमा सम्पूर्ण समाज जिम्मेवार बन्नु अपरिहार्य छ । सरकारी निकायहरू, गैरसरकारी संस्था, शिक्षा क्षेत्र, परिवार तथा आम नागरिक सबैको मिलेर साझा प्रयास थाल्न ढिला भइरहेको छ । लागुऔषध नियन्त्रण गर्न कडा कानुनी व्यवस्था हुनुका साथै त्यसको प्रभावकारी कार्यान्वयन पनि हुनु पर्छ । सीमाना क्षेत्रमा कडाइ, सुराकी संयत्र बलियो बनाउने र प्रहरी प्रशासनलाई प्रभावकारी बनाउनु जरुरी छ ।
शैक्षिक संस्थाहरूले लागुऔषधको असरबारे विद्यार्थीहरूमा सचेतना फैलाउनु पर्दछ । विद्यालय तथा कलेजहरूमा नियमित रूपमा चेतनामूलक कार्यक्रम आयोजना गर्नुपर्छ जसबाट विद्यार्थीहरूमा आत्मबोध र सही निर्णय क्षमताको विकास होस् । साथै, घरभित्रै अभिभावकको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ । बच्चाको गतिविधि र मनोवृत्तिमा ध्यान दिने, संवाद गर्ने, विश्वासपूर्ण सम्बन्ध बनाउने जस्ता उपायहरूले सन्तानलाई गलत बाटोमा लाग्नबाट जोगाउन सक्छ ।
जनचेतनामूलक सन्देश, कथा, साक्षात्कार तथा प्रेरणादायक उदाहरणहरू प्रस्तुत गरी समाजमा सकारात्मक सोच फैलाउन मिडियाले ठूलो भूमिका खेल्न सक्छ । यसबाहेक, लागुऔषध प्रयोग गरिसकेका व्यक्तिहरूको पुनस्र्थापना पनि उत्तिकै महत्त्वपूर्ण विषय हो । उनीहरूलाई हेय दृष्टिले नभई पुनः समाजमा फर्काउने उद्देश्यले सहयोग र उपचारको व्यवस्था मिलाउनुपर्छ । लागुऔषधको समस्या केवल व्यक्तिगत होइन यो सामाजिक समस्या हो । त्यसैले यसको समाधान पनि सामूहिक प्रयासबाट मात्र सम्भव हुन्छ । प्रत्येक नागरिकले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउन सकेको खण्डमा स्वस्थ, सुरक्षित र समुन्नत समाज निर्माण गर्न सकिन्छ ।






