समृद्ध कर्णालीको आधार युवा शक्ति : मुख्यमन्त्री कँडेल
सुर्खेत,६ असार।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको सामाजिक, आर्थिक र संरचनागत रूपान्तरणको जिम्मेवारी अब युवाको काँधमा रहेको स्पष्ट पार्नुभएको छ।
राष्ट्रिय युवा परिषद् नेपाल कर्णाली प्रदेशद्वारा आयोजित ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन २०८२’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्णालीको समृद्धि सम्भव रहेको र त्यसको प्रमुख आधार युवा शक्ति हुने धारणा राख्नुभयो।
“आजका युवामा ज्ञान, सोच र सीप छ,” मुख्यमन्त्री कँडेलले भन्नुभयो, “अब आत्मविश्वास र नेतृत्वदायी भूमिका जगाउन सके, यो समय हिजोभन्दा धेरै अनुकूल छ।” उहाँले कर्णालीको प्राकृतिक स्रोतसाधनको उचित उपयोग गरे युवाको भविष्य उज्यालो हुने विश्वास व्यक्त गर्नुभयो।
मुख्यमन्त्री कँडेलले श्रमलाई सम्मान गर्ने संस्कार निर्माण आवश्यक रहेकोमा जोड दिनुभयो। युवालाई उद्यममा आकर्षित गर्नका लागि कृषि, पर्यटन र लघुउद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर सहुलियत कार्यक्रम ल्याउने नीति प्रदेश सरकारले लिएको जानकारी दिनुभयो।
विदेशबाट फर्किएका युवाको सीप र अनुभवलाई उत्पादनसँग जोड्ने गरी सरकारले योजना बनाएको पनि उहाँले उल्लेख गर्नुभयो।
सम्मेलनमा विभिन्न क्षेत्रका उद्यमशील युवा, कृषक तथा पर्यटन व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।