स्याउ बीमाको भुक्तानी नपाएपछि जुम्लाका किसान आन्दोलनमा, बीमा कम्पनीलाई तालाबन्दीको चेतावनी
गोल्डेन बुढा
जुम्ला,७ असार।
स्याउ बीमाको रकम अझै नपाएको भन्दै जुम्ली किसान आन्दोलनमा उत्रिएका छन्। बीमावापतको क्षतिपूर्ति तुरुन्त भुक्तानी गर्न माग गर्दै किसानहरूले शुक्रबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन्।
‘स्याउ बीमा पहल समिति जुम्ला’को अगुवाइमा सदरमुकाम खलंगाको बालमन्दिरबाट जिल्ला प्रशासन कार्यालयसम्म नाराबाजीसहित जुलुस निकालिएको थियो। “स्याउ बीमाको रकम तुरुन्त भुक्तानी गर”, “किसान आन्दोलन जारी छ”, “जुम्ली किसान एक हौं” जस्ता नारासहित किसानहरूले आक्रोश व्यक्त गरेका थिए।
पहल समिति संयोजक खड्कबहादुर सेजुवालले गत वर्ष खडेरी र असिनाका कारण स्याउमा व्यापक क्षति भएको उल्लेख गर्दै बीमावापतको रकम नपाउँदा किसान निरुत्साहित भएको बताए। “स्याउको बीमा गर्दा किसान उत्साहित थिए, तर अहिले निराश भएका छन्,” उनले भने, “बिमा कम्पनीले पटक–पटक माग गर्दा पनि आलटाल गरेपछि हामी आन्दोलनमा उत्रन बाध्य भयौं।”
उनले बीमाको निचोड एक साताभित्र नआएमा शिखर इन्स्योरेन्स कम्पनीको कार्यालयमा तालाबन्दी गर्ने चेतावनीसमेत दिए। साथै, प्रदेश र संघीय सांसदहरूसँग सहयोग मागेर बीमा कम्पनीविरुद्ध मुद्दा दायर गर्नेसमेत किसानहरूको तयारी छ।
शिखर इन्स्योरेन्स कम्पनीले भने किसानले बीमाका क्रममा बोट संख्या बढाएर दाबी गरेको आरोप लगाएको छ। कम्पनीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा बीमा गराएका ७ हजार ५७४ मध्ये ६ हजार ६१३ किसानको निरीक्षण गर्दा औसत २५ प्रतिशत बोट संख्या बढाइएको भेटिएको दाबी गरिएको छ।
कम्पनीले अनुदानको रकम अझै सरकारबाट नआएकाले भुक्तानीमा ढिलाइ भएको पनि स्पष्टीकरण दिएको छ। ९९४ किसानको बोट विवरण एकिन गर्न नसकिएको कम्पनीले जनाएको छ।
किसानहरूले अब स्याउ बीमा मात्रै नभई कृषि सम्वद्ध सबै निकाय र नीतिहरूको निगरानी गर्ने उद्देश्यले “किसान सञ्जाल” गठन गरेका छन्। “हामीले अब पर्खिने धैर्य गुमाउँदैछौं,” संयोजक सेजुवालले भने, “बीमा रकम भुक्तानी नआए राज्यले किसानको अपमान गरेको ठहर्छ।”
स्याउ उत्पादनमा अग्रणी मानिने जुम्लाका किसानको आन्दोलनलाई अब प्रदेशस्तरीय मुद्दा बनाउने तयारीसमेत सुरु भएको छ।