बाँके जिल्लामा पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा, सबै बालबालिका खोपको पहुँचमा
बाँके,५ असार।
बाँके जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ। जिल्लाका सबै लक्षित बालबालिकाले नियमित खोप सेवा प्राप्त गरेपछि बिहीवार एक कार्यक्रमबीच घोषणा गरिएको हो।
नेपालगन्जमा जिल्ला खोप समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री रत्न खत्रीले बाँके जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गर्नुभएको हो।
स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठका अनुसार, जिल्लामा खोप छुटेका ६४६ बालबालिकालाई खोप सेवा उपलब्ध गराएपछि अब बाँके पूर्ण खोपको सुनिश्चिततामा पुगेको हो। उहाँका अनुसार, जन्मेदेखि १५ महिनासम्मका १२ हजार ९३७ जना र १६ महिनादेखि २३ महिनासम्मका ९ हजार ५१३ जना बालबालिकाले नियमित खोप प्राप्त गरेका छन्।
घोषणा कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समितिका संयोजक ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गालक्ष्मी श्रेष्ठले खोप बालबालिकालाई रोगबाट जोगाउने प्रभावकारी माध्यम भएको उल्लेख गर्दै खोप अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
प्रदेशसभा सदस्य सुशिला नेपालीले पूर्ण खोप दिगोपनालाई अझ सशक्त बनाउन आफूबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो भने सांसद अम्बिका काफ्लेले सबै बालबालिकालाई नियमित खोपको पहुँचमा ल्याई शिशु मृत्युदर घटाउनुपर्नेमा जोड दिनुभयो।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, भेरी अस्पतालका प्रमुख डा. निराजन सुवेदी, जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की लगायतले पूर्ण खोप अभियान सफल बनाउन सबै निकायले सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रमले बाँके जिल्लामा बाल स्वास्थ्यको क्षेत्रमा गरिएको प्रयास र सफलताको पुष्टि गर्दै खोप कार्यक्रमको निरन्तरताको सन्देश दिएको छ।