लुम्बिनी प्रदेशका पाँच जिल्लामा पोषण विशेष कार्यक्रम सञ्चालन, मातृ–शिशु मृत्युदर घटाउने लक्ष्य

बाँके ,५ असार।

लुम्बिनी प्रदेश सरकारले मातृ तथा बाल मृत्युदर घटाउनका लागि विशेष पोषण कार्यक्रम सञ्चालन गर्ने भएको छ। प्रदेशका स्वास्थ्य मन्त्रालयले बिहीवार स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासँगको अन्तरक्रिया गर्दै आगामी आर्थिक वर्षदेखि विशेष पोषण कार्यक्रम अघि बढाउने घोषणा गरेको हो।

जनस्वास्थ्य प्रशासक उमेश गौतमका अनुसार, प्रदेशमा मातृ तथा बाल मृत्युदर उच्च देखिएका पाँच जिल्ला — बाँके, बर्दिया, दाङ, रुपन्देही र कपिलवस्तु — मा कार्यक्रम लागू गरिनेछ। सो कार्यक्रमका लागि आठ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिँदै गौतमले पोषण अभावले मातृ तथा शिशु स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले अभियान सञ्चालन आवश्यक भएको बताउनुभयो।

स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गालक्ष्मी श्रेष्ठले पोषणमा सुधार ल्याउन प्रदेश सरकारले स्थानीय तहहरूसँग समन्वय गर्दै काम गर्ने बताउनुभयो।

कार्यक्रममा वरिष्ठ नर्सिङ प्रशासक प्रमुख इश्वरी केसीले पोषण विशेष कार्यक्रमको उद्देश्य र कार्यविधिबारे विस्तृत जानकारी दिनुभयो। सहभागीहरूले बालबालिकामा कुपोषण न्यूनीकरणका लागि जनस्वास्थ्य गतिविधिहरू अझ प्रभावकारी बनाउनु पर्ने सुझाव दिएका थिए।

लुम्बिनी प्रदेश मातृ तथा बाल मृत्युदरको दृष्टिले समग्र मुलुकमै चिन्ताजनक अवस्थामा रहेको प्रदेशमध्ये पर्छ। सोही पृष्ठभूमिमा प्रदेश सरकारले स्थानीय तहसँग सहकार्य गर्दै पोषण सुधारमार्फत मातृ तथा बाल स्वास्थ्यमा गुणात्मक सुधार ल्याउने उद्देश्यले कार्यक्रम ल्याएको हो।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *