नेपाल राष्ट्र बैंककाे अर्धवार्षिक अध्ययन प्रतिवेदन : कर्णालीमा बढ्यो तरकारी र फलफूलको उत्पादन

सुर्खेत, १ साउन ।
कर्णाली प्रदेशमा तरकारी र फलफूल उत्पादनमा बृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय सुर्खेतले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷०८२ को अर्धवार्षिक अध्ययन प्रतिवेदनमा प्रदेशभर तरकारी र फलफूल उत्पादनमा बृद्धि भएको उल्लेख छ ।
आर्थिक वर्ष २०८१/०८२ को प्रथम अर्धवार्षिक अवधिमा तरकारी उत्पादन र फलफुल खेतीको उत्पादन क्रमशः २२ दशमलव ७४ प्रतिशत र ४४ दशमलव ७३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/०८२ को पौष मसान्तसम्म कर्णाली प्रदेशमा तरकारी तथा बागवानी उत्पादन २२ दशमलव ७४ प्रतिशतले वृद्धि भई दुई लाख ३१ हजार चार २८ मेट्रिक टन पुगेको छ ।
गत वर्ष यही अवधिमा यस्तो उत्पादन ६ दशमलव आठ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा तरकारी उत्पादनमा २५ दशमलव ९७ प्रतिशतले बृद्धि भएको छ भने गत वर्षको यही अवधिमा तरकारी उत्पादनमा सात दशमलव ४० प्रतिशतले ह्रास आएको थियो ।
त्यस्तै, बागवानी उत्पादनमा एक दशमलव ७७ प्रतिशतले बृद्धि भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । यस अवधिमा कर्णालीमा फलफूल उत्पादन ४४ दशमलव ७३ प्रतिशतले वृद्धि भई एक लाख ६ हजार ३३ मेट्रिक टन पुगेको छ । समीक्षा अवधिमा प्रमुख फलफूलमध्ये सुन्तलाको उत्पादन उल्लेखनीय रुपमा बृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, आँप १२ दशमलव ७४, केरा ४१ दशमलव सात र स्याउ उत्पादन दुई दशमलव ८० प्रतिशतले बृद्धि भएको तथ्यांकले देखाउछ । आर्थिक वर्ष २०८१/०८२ को पौस मसान्तसम्म प्रदेशको कुल खाद्य तथा अन्य बाली उत्पादनमा सबैभन्दा बढी हिस्सा २२ दशमलव ९० प्रतिशत सल्यानको छ भने सबैभन्दा कम हिस्सा एक दशमलव ७० प्रतिशत डोल्पा जिल्लाको छ ।
त्यस्तै, यस प्रदेशको कुल तरकारी तथा बागवानी उत्पादनको सबैभन्दा बढी हिस्सा सल्यानको ३५ प्रतिशत रहदा मुगु जिल्लाको सबैभन्दा कम शून्य दशमलव ९० प्रतिशत हिस्सा छ । फलफूल उत्पादनमा सबैभन्दा बढी हिस्सा ३० दशमलव ९४ प्रतिशत सुर्खेतको रहदा सबैभन्दा कम जाजरकोटको २.६९ प्रतिशत हिस्सा छ ।

घट्यो कृषि बालीले ढाकेको क्षेत्रफल
आर्थिक वर्ष २०८१/०८२ को प्रथम अर्धवार्षिक अवधिमा कर्णाली प्रदेशको समग्र कृषि बालीले ढाकेको जग्गा अघिल्लो वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ११ प्रतिशतले घटेको छ ।
यस अवधिमा प्रमुख खाद्य बालीमध्ये धान, मकै, गहुँ, कोदो र जौले ढाकेको क्षेत्रफलमा क्रमशः पाँच दशमलव ११, चार दशमलव १६, चार दशमलव ८६, ११ दशमलव ५२ र एक दशमलव ३९ प्रतिशतले ह्रास आएको छ भने तरकारी र फलफुल बालीले ढाकेको क्षेत्रफलमा क्रमशः ३३ दशमलव ८८ प्रतिशत र आठ दशमलव १७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाउछ ।
यस्तै, समीक्षा अवधिमा कर्णाली प्रदेशमा समग्र कृषि बालीको उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा तीन दशमलव ६ प्रतिशतले बढेको छ भने खाद्य, नगदे तथा अन्य बालीको उत्पादन चार दशमलव ८३ प्रतिशतले घटेको छ ।
त्यस्तै, यो अवधिमा प्रमुख खाद्य बालीमध्ये धान १० दशमलव २५, गहुँ १७ दशमलव ३१, कोदो २२ दशमलव ९२ र जौको उत्पादन आठ दशमलव ५५ प्रतिशतले घट्दा मकैको उत्पादन चार दशमलव २४ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार २०८१ पौष मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जाले कुल कर्जाको आठ दशमलव ७१ प्रतिशत हिस्सा ओगटेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जा गत अवधिको तुलनामा १४ दशमलव एक प्रतिशतले वृद्धि भएको तथ्यांक छ ।
उद्योग क्षेत्रको कर्जामा बृद्धि
राष्ट्र बैंकको तथ्यांक अनुसार गएको पौष मसान्तसम्म कर्णालीमा औद्योगिक कर्जा गत अवधिको तुलनामा १४ दशमलव ९५ प्रतिशतले वृद्धि भएको छ । कर्णाली प्रदेशमा प्रवाह भएको समग्र कर्जाको ६ दशमलव ४१ प्रतिशत हिस्सा औद्योगिक कर्जाले ओगटेको राष्ट्र बैंक कर्णाली प्रादेशिक कार्यालय सुर्खेतको तथ्यांक छ ।
यस अवधिमा कर्णाली प्रदेशमा नमुना छनौंटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ३७ दशमलव ९३ प्रतिशत छ । जसमा कागज तथा कागजका उत्पादन सम्बन्धी उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९७ प्रतिशत छ भने दुग्ध पदार्थ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम २६ प्रतिशत छ ।
त्यस्तै, समीक्षा अवधिमा यस प्रदेशमा भित्रिने पर्यटकको संख्यामा ११ दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । जसमा भारतबाट १२ दशमलव ८२, चीनबाट तीन दशमलव ६९ र तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या १३ दशमलव ३४ प्रतिशतले बृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ । राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा यस प्रदेशमा विद्युत् प्रसारण लाइन दुई हजार चार सय १६ दशमलव ४७ किलोमिटर पुग्दा १७ दशमलव ४१ मेगावाट विद्युत् उत्पादन भएको छ ।
आर्थिक बृद्धि दर चार प्रतिशत
राष्ट्र बैंककको कर्णाली प्रादेशिक कार्यालय सर्खेतले आर्थिक वर्ष २०८१/०८२ को कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको योगदान क्रमशः २५ दशमलव ६ प्रतिशत, १२ दशमलव चार प्रतिशत र ६२ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर चार दशमलव सात प्रतिशत रहने प्रारम्भिक अनुमान राष्ट्र बैंकको छ । यस अवधिमा कर्णालीको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३१ दशमलव पाँच, नौ दशमलव ६ र ५८ दशमलव नौ प्रतिशत रहने प्रारम्भिक अनुमान राष्ट्र बैंकको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/०८२ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा चार दशमलव ६ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । आर्थिक वर्ष २०८०/०८१ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव सात प्रतिशत थियो ।






