प्रत्यक्षदर्शीको कलमबाट सुर्खेतमा जेन–जी आन्दोलनको नालीबेली
सुशील खड्का
सुर्खेत, २५ भदौ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर मंगलबार दिनभर जसो अशान्त बन्यो । विहानीको किरणसँगै विहानीको उत्तरार्धमा लगभग शान्त नै रहेको सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको अवस्था मध्यान्नपछि विस्तारै अवस्था विग्रियो । विहानपख मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसबाट निस्किएको निश्चित युवाहरुको प्रदर्शन विस्तारै मुख्यमन्त्री निवास, प्रदेशसभा र मुख्यमन्त्री कार्यालयमा पुगेर सकियो ।
विहान ११ बजे पुनः भेट्ने उद्देश्यसहित सुर्खेतस्थित प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय परिक्रमा गर्दै आन्दोलनको शुरुवाती चरण सकियो । यो लेखिरहँदा २३ भदौको आन्दोलनलाई विषयान्तर गर्न पक्कै मिल्दैन् । युवा नेता आदर्श विक्रम शाहीसहितको टिमले अघिल्लो दिन मंगलगढीबाट आन्दोलनको विजारोपण गरिसकेको थियो ।
मंगलगढीबाट शुरु भएको आन्दोलन घण्टाघरको पश्चिम पार्कमा पुग्दासम्म ठिकै थियो । त्यहाँ पुगेपछि युवाहरुको मन कुडियो । विशुद्ध राजनीतिमा नहोमिएका युवाहरुको आन्दोलनमा राजनीतिक केही युवाको प्रवेशले प्रदर्शन भाँडियो । छुट्टै होमिएका युवाहरु जिल्ला प्रशासन कार्यालय, प्रदेश सभा हुँदै मुख्यमन्त्री कार्यालय पुगेर प्रदर्शन रोके । सोमबारको आन्दोलन समग्रमा शान्तिपूर्ण रह्यो । युवा अनुशासनमै रहेर विरोधका नारा घन्काइरहे ।
मध्यपश्चिम विश्वविद्यलायबाट शान्तिपूर्ण निस्किएको आन्दोलन मंगलबार दिउँसो १ बजेसम्म शान्त नै थियो । मंगलगढी–वीरेन्द्रचौक–आँखा अस्पताल हुँदै घण्टाघर चौकमा पुगेको आन्दोलन मोडियो । एकपक्ष पार्टी कार्यालय जलाउन उद्धत थियो । अर्को पक्ष शुरुमै आगजानी गर्नु हुँदैन भनेर पन्छिरहेको थियो । तर प्रदर्शनमा उत्रिएका सबै नेकपा एमालेको पार्टी कार्यालय प्रवेश गरे । त्यहाँ प्रहरीको बाग्लै उपस्थिति थियो ।
एक्कासी ढुंगामुडा हुन थालेपछि प्रहरीले मैदान खाली गर्यो । त्यसपछि प्रदर्शनकारीले नेकपा एमाले पार्टी कार्यालयमा धित मरुञ्जेल प्रवेश गरे अनि भएका सबै सामाग्री बाहिर निकालेर जलाए । शुरुमा खासै कुनै चासो नदिएको प्रहरीले लगभग ठूलो क्षतिपछि अश्रुग्याँस हान्यो । प्रदर्शन रोकिएन र विस्तारै आन्दोलनको टीम नेपाली काँग्रेसको पार्टी कार्यालय पुगेर आगजनी गरे ।
सत्ता साझेदार दलका प्रमुख पार्टी कार्यालय जल्दासम्म प्रहरीले अश्रुग्यास हानिरह्यो । त्यो बेलासम्म प्रहरीले गोली चलाएको थिएन् । प्रहरीले मैदान नै छाडेकाले प्रदर्शनकारीले सहजै दुवै पार्टी कार्यालय कब्जामा लिए । लगत्तै नेकपा माओवादी केन्द्र र जनमोर्चाको पार्टी कार्यालय जलाए । यो प्रदर्शन यत्तिकै रोकिने पक्षमा थिएन् । उत्तेजित युवाहरुको भीड केन्द्रीयस्तरका नेता र सरकारी कार्यालयमा निशानामा पार्ने भन्दै वीरेन्द्रनगर नगरपालिकाको कार्यालय तोडफोड गरे ।
प्रदर्शनका क्रममा नगरपालिकामा आंशिक क्षति पुग्यो । प्रहरीले बल नै प्रयोग गरेपछि आन्दोलन पूर्व गृहमन्त्री, रक्षामन्त्री एवम् नेपाली काँग्रेसका पार्टी उप–सभापति पूर्णबहादुर खड्काको घरतर्फ प्रदर्शनकारी निस्किए । खड्काको घर जोगाउन प्रहरीले निकै बल प्रयोग गर्यो । त्यही क्रममा एक जना प्रदर्शनकारी गम्भीर घाइते छन् ।
यो आलेख तयार गर्दासम्म उनको अवस्था गम्भीर छ । खड्काकै घर पुगेपछि प्रहरीले गोली चलाएको हो । जसले प्रदर्शनलाई थप उत्तेजित पार्न बाध्य बनायो । खड्काको घरदेखि पूर्वतर्फबाट ढुंगामुडा गरिरहँदा अर्को पक्ष मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय निशाना बनाएर घेर्ने दाउमा थिए । तर प्रहरीले कार्यालयमा क्षति पुग्न नदिन अश्रुग्यास प्रहार गरेर भीड तितरवितर पारिहेको थियो ।
प्रहरीले सरकारी कार्यालयभन्दा खड्काको घर प्राथमिकता राखेपछि प्रदर्शनकारीले प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालय आगजानी गरे । लगत्तै नापी कार्यालय जलाए । सुर्खेत उपत्यका खानेपानी संस्थाको मोटरसाइकल जलाए । त्यो बेलासम्म खड्काको घर जलाउन कुरिरहेका प्रदर्शनकारीमाथी प्रहरीले अत्याधिक गोली चलाइरहेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान प्रदेश कार्यालयमासमेत आगजनी गरेपछि प्रहरी खड्काको घरबाट ब्याक भयो । प्रदर्शनकारीले पार्टी उप–सभापति र उनका भाई डम्बर खड्काको घरमा आगजानी गरे ।
दनदनी घर जलिरहँदा प्रहरीले केही गर्न सकेन् । त्यसपछि आन्दोलन इत्रामको उत्तरतर्फबाट मुख्यमन्त्री यामलाल कँडेलको निवास जलाए । नेपाली सेना र नेपाल प्रहरीले बाहिर निकालेपछि निवासमा पुगेर आजगानी र तोडफोड गरे । निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई विदाइ गरेर कर्णाली प्रदेश सभा प्रवेश गरे । कर्णाली प्रदेश सभामा क्षती पुर्याउनु अघि नै आंशिक रुपमा मुख्यमन्त्री कँडेलको भैरवस्थानस्थित निवासमा क्षती पुर्याइसकेका थिए । प्रदेश सभामा पूर्ण रुपमा आगजनीपछि मुख्यमन्त्री कँडेलको निवासहित वीरेन्द्रनगरमा रहेको आधा दर्जन वडा कार्यालयमा क्षती पुर्याएका छन् ।
प्रहरीले आफ्ना कार्यालय बाहेक सडकमा सुरक्षा दिन सकेको छैन् । प्रदर्शनकारीले यो पटक नीजि सम्पत्तीभन्दा सरकारी र दलका निवासलाई लक्षित गरेर क्षती पुर्याएका छन् । सन् १९९० को दशकको बिचदेखि सन् २०१० को दशकको मध्यान्तरबिचमा जन्मिएका (अझ सटिक रूपमा भन्दा सन् १९९७ देखि २०१२ बिचमा जन्मिएका) जनसंख्यालाई अंग्रेजी वर्णमालाको अन्तिम अक्षर ‘जेड’ सँग जोडेर ‘जेनेरेसन–जेड’ अर्थात् छोटकरीमा ‘जेन–जेड’ भनिन्छ ।
अमेरिकन इंग्लिसमा ‘जेड’लाई ‘जी’ उच्चारण गर्ने भएकाले ‘जेन–जी’ पनि भन्ने गरिन्छ । आजको दिनमा १३ देखि वर्ष उमेर पुगेकाहरू यो उमेर समूहमा पर्छन् । यो पुस्ताका सबैभन्दा ज्येष्ठ समूहसमेत हुर्केर बुझ्ने हुँदासम्म सामाजिक सञ्जालको विकास भइसकेको थियो । त्यसैले उनीहरू सानैदेखि फेसबुक, युट्युबजस्ता माध्यमसँग परिचित हुँदै हुर्किए । कतिले यी माध्यममै आफ्नो नामसमेत बनाए ।
सूचीमा एकजना त विश्वको प्रतिष्ठित नोबेल शान्ति पुरस्कार विजेतासमेत छिन् । यहाँ सामाजिक सञ्जालदेखि विभिन्न क्षेत्रमा आफूलाई स्थापित गरेका विश्वचर्चित जेन–जी पुस्ताको परिचय दिइएको छ । जसले आज नेपालका मै हुँ भन्ने राजनीतिक दलहरुका शीर्ष नेताहरुको घिटघिटाहलाई तिलाञ्जली दिँदै नयाँ राजनीतिक समिकरणको जग बसालिदिएका छन् ।






