सम्पादकीय : चट्याङले बढाएको जोखिम
आकाशबाट जमिनमा खस्ने एक प्रकारको विद्युतीय शक्ति हो, चट्याङ । वर्षायाममा वायुमण्डलमा विपरित दिसाबाट तीब्र गतिको वायु एकआपसमा ठोक्किँदा चर्को आवाजसहित अत्याधिक भोल्टको विद्युतीय लहरमा परिणत भई अचानक विद्युतीय विस्फोट हुने अवस्था नैै चट्याङ हो । चट्याङ पर्दा कुनै पदार्थ पृथ्वीमा खस्ने नभई ठूलो विद्युतीय तापशक्ति पृथ्वीमा आउने हुँदा जुनसुकै चीजलाई पनि नष्ट गर्ने क्षमता यसले राख्छ ।
चट्याङ प्राकृतिक प्रकोप भएकाले रोक्न सकिँदैन तर सतर्कता अपनाए त्यसबाट जोगिन सकिने विज्ञ बताउँछन् । पछिल्लो समय प्राकृतिक विपद्का रुपमा चट्याङले कर्णाली प्रदेश विशेष गरी दैलेखमा ठुलो जोखिम बढाउँदै लगेको छ । प्रहरीको तथ्यांक अनुसार पछिल्ला वर्षहरूमा दैलेखकोे उत्तरी भेग केन्द्रित भएर खसिरहेको चट्याङका कारण ठूलो मात्रामा धनजनमा क्षति पुग्दै गएको देखाउँछ ।
यसले ठूलो मात्रामा पशुधनमा समेत क्षति हुने क्रम बढेको छ । प्रहरीले उपलब्ध गराएको ६ बर्षको तथ्यांकलाई केलाउने हो भने दैलेखमा ८५ पटक खसेको चट्याङमा परी नौ जनाले ज्यान गुमाउँदा एक सय ३५ जना घाइते भएका छन् । यसमा मानवीय क्षति नभएको चट्याङको तथ्यांक समावेश गरिएको छैन । घटना घटेपछि प्रहरीमा दर्ता हुने घाइतेको अवस्था पुनः अद्यावधिक नगरिने हुँदा मृतकको यकिन तथ्यांक पत्ता लगाउन मुस्किल छ ।
विज्ञका अनुसार चट्याङबाट गम्भीर घाइते भएकाहरूले पुनः जीवन पाउन मुस्किल जस्तै हुन्छ । आर्थिक वर्ष २०७६/०७७ यताको तथ्यांक हेर्दा कर्णालीका अन्य जिल्लाको तुलनामा दैलेखकेन्द्रित चट्याङ खस्ने क्रम बढेको देखिन्छ । बर्सेनि प्रि–मनसुनमा चट्याङ खस्ने क्रम बढेपछि स्थानीयमा त्रास बढेको छ । चट्याङबाट खेतबारीमा काम गरिरहेकादेखि विद्यालय तथा घरभित्र बसिरहेकाहरू समेत असुरक्षित बन्न थालेका छन् ।
पछिल्ला केही वर्षयता नौमूले, महाबु र भैरवी गाउँपालिका तथा नारायण नगरपालिकाका केही क्षेत्रमा अत्याधिक मात्रामा चट्याङ खस्न थालेको बताइन्छ । यो क्षेत्रमा के कारणले चट्याङ खस्ने क्रममा वृद्धि भइरहेको छ भन्ने विषयमा अहिलेसम्म गहिरो अध्ययन तथा अनुसन्धान हुन सकेको अवस्था छैन । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश विभिन्न मौसमजन्य प्रकोपको दृष्टिकोणले उच्च जोखिम रहेका क्षेत्र हुन् । यहाँ बर्सेनि मौसमजन्य घटनाहरू जस्तैः हुरी बतास, असिना, अविरल वर्षा, बाढी, पहिरो, अत्याधिक हिउँ, चट्याङ पर्ने, लामो खडेरी लगायतका जोखिम बढ्दो क्रममा छन् । भौगोलिक अवस्थाका कारण पनि यी क्षेत्र मौसमजन्य विपद्को उच्च जोखिममा छन् ।
प्राकृतिक प्रकोपहरूमध्ये चट्याङ एक घातक र अनपेक्षित विपद् हो, जसले हरेक वर्ष नेपालमा कैयौं मानिसको ज्यान लिन्छ र ठूलो मात्रामा धनजनमा क्षति पुरयाउँछ । विशेषगरी बर्षायामको सुरुवातसँगै चट्याङको घटना उल्लेखनीय रूपमा बढ्ने गर्दछ । ग्रामीण भेगका खुला क्षेत्रमा काम गर्ने किसान, बालबालिका र असुरक्षित संरचनामा बसोबास गर्ने व्यक्तिहरू यसबाट बढी प्रभावित हुने गरेका छन् । तर राज्यले अझै पनि चट्याङ पूर्वको सूचना प्रणाली र विपद्पछिको व्यवस्थापनमा ध्यान दिन सकेको छैन । यसले दिनानुदिन जोखिम बढाइरहेको छ ।
संघ, प्रदेश तथा स्थानीय तहहरूले चट्याङ सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउ सकेका छैनन् । विद्यालयस्तरमै चट्याङसम्बन्धी जानकारी समावेश गरेर बालबालिकालाई शिक्षित गराई दीर्घकालिन समाधानको बाटो खोज्नेतर्फ ढिला भइरहेको छ । यसमा महत्वपूर्ण विषय चट्याङ निरोधात्मक प्रविधिहरू जस्तै, लाइटनिङ अरेस्टरको प्रयोग सार्वजनिक तथा निजी भवन, विद्यालय, अस्पताल लगायत भिडभाड हुने स्थानहरूमा अनिवार्य बनाइनु पर्छ । मौसम पूर्वानुमानको भरपर्दो संयत्रदेखि चट्याङ पर्नुअघि पूर्व सूचना दिने प्रणाली जडान अनिवार्य भइसकेको छ । अर्को कुरा निजी तथा सार्वजनिकरुपमा निर्माण गरिने हरेक पूर्वाधारको मापदण्डहरूमा चट्याङ सुरक्षालाई अनिवार्य बनाइनु पर्दछ ।