“डल्फिन संकटमा: कर्णालीका जलचर मित्रलाई बचाउने स्थानीय प्रयास, राज्यको साथ कता?”

बर्दिया ,२४ असार।
नेपालका तीन मुख्य नदी कर्णाली, नारायणी र कोशी तथा तिनीका सहायक खोलानालाहरूमा पाइने गंगेटिक प्रजातिका डल्फिनहरूको संरक्षणमा राज्यको चासो न्यून देखिएको छ। विशेषगरी कर्णाली नदी र यसका सहायक मोहना, पथ्रैया, काडा र कन्ध्रामा पाइने यी डल्फिनहरूको संरक्षणमा स्थानीय समुदाय अग्रसर देखिए पनि सरकारी तहबाट प्रभावकारी कदम चालिएको छैन।

डुबेर बाँच्ने, आँखा कमजोर तर चेतनाशक्ति उच्च भएका डल्फिनहरू हिउँदमा मुख्य नदीमा र वर्षायाममा सहायक नदीहरूमा सराइ गरेर बस्ने गर्छन्। राज्यको उदासीनताबीच पनि स्थानीय बासिन्दाहरूले नदी सरसफाइ, सचेतनामूलक कार्यक्रम र संरक्षण प्रयासलाई निरन्तरता दिइरहेका छन्।
तीन दशकदेखि डल्फिनको संरक्षणमा सक्रिय रहेका संरक्षणकर्मी भोजराज ढुंगाना भन्छन्, “राज्यले संरक्षणमा अपनत्व लिए स्थानीयको जीविकोपार्जनमा समेत टेवा पुग्नेथियो।” उनीका अनुसार हाल कर्णालीमा १० माउ र ७ बच्चा गरी १७ वटा डल्फिनको उपस्थिति देखिएको छ।
डल्फिनहरू सामाजिक, चेतनशील र समूहमा विचरण गर्ने स्तनधारी जलचर हुन्। वैज्ञानिक नाम Platanista gangetica भएका यिनीहरूको लम्बाइ २ देखि ६ मिटर र तौल सयदेखि १६० किलोग्रामसम्म हुन सक्छ। यिनीहरूको जीवन अवधि २० देखि २५ वर्ष हुन्छ। माछा, गोङ्गी, लेउ, पानी चरा आदि डल्फिनका मुख्य आहार हुन्।

हालै राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत बर्दिया संरक्षण कार्यक्रमले डल्फिनको संरक्षणमा नयाँ पहल स्वरूप ‘इको ल्याब’ मार्फत स्थानीय समूहहरू गठन गरी नियमित अध्ययन र निगरानी सुरु गरेको छ। संरक्षण अधिकृत अजित तुम्बाहाङ्फेका अनुसार डल्फिनका बासस्थान, आहार र बसाइसराइको अवस्थामाथि केन्द्रित अनुसन्धान जारी छ।
विश्वमै संकटापन्न प्रजातिको सूचीमा सूचीकृत गंगेटिक डल्फिनलाई CITES र IUCN ले पनि उच्च प्राथमिकता दिँदै संरक्षणमा जोड दिइएको छ। यस्तोमा नेपाल सरकारले डल्फिन पाइने भजनी र टिकापुर क्षेत्रलाई औपचारिक रूपमा संरक्षण क्षेत्र घोषणा गर्नु अत्यावश्यक भएको सरक्षणकर्मी हरूको जोड छ।
डल्फिन जोगाउनका लागि नदीमा जथाभावी माछा मार्ने, रासायनिक मलको प्रयोग, तोरी सिकार जस्ता कार्य तुरुन्त नियन्त्रण गर्नुपर्नेमा विज्ञहरू एकमत छन्। राज्यले जिम्मेवारीपूर्वक कदम नचाले, डल्फिन जोगाउने स्थानीय प्रयास मात्र काफी नहुने स्पष्ट संकेत देखिएको छ।






