जीवनज्योती स्कुलको अग्रणी पहलः कोहलपुरका ६३१ विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक गुणस्तरसँगै गरिब तथा इमान्दार विद्यार्थीको साथ

बाँके ,१९ साउन।

कोहलपुर नगरपालिका भित्र सञ्चालित ४९ वटा संस्थागत विद्यालयहरुले चालु आर्थिक वर्ष २०८२/८३ मा पाँच हजारभन्दा बढी विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेका छन्। कोहलपुर नगरपालिकाद्वारा सार्वजनिक गरिएको विवरण अनुसार कुल ५ हजार १२७ जना विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो।

तीमध्ये सबैभन्दा धेरै छात्रवृत्ति वितरण गर्ने विद्यालयको रूपमा जीवनज्योती स्कुल अग्रस्थानमा रहेको छ। विद्यालयले एक्लै ६३१ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। स्कुलका प्रिन्सिपल फादर जोमन जेम्सले जीवनज्योती स्कुलले सधैं शैक्षिक गुणस्तरसँगै गरिब, विपन्न, इमान्दार र लगनशील छात्र–छात्रालाई छात्रवृत्तिको माध्यमबाट साथ दिने नीति लिएको बताउनुभयो।
“हामी शिक्षा केवल पहुँचवालाको लागि नभई आवश्यक पर्ने सबैको लागि हो भन्ने मान्यतामा छौं,” फादर जोमनले भन्नुभयो, “इमान्दार र मेहनती विद्यार्थीको उज्यालो भविष्य बनाउने हाम्रो प्रतिबद्धता हो।”

कोहलपुर नगर प्रमुख पूर्णप्रसाद आचार्यका अनुसार छात्रवृत्तिले जेहेन्दार, द्वन्द्वपीडित, विपन्न, असहाय, महिला, आदिवासी जनजाति, दलित, मधेशी, अपाङ्गता र पिछडिएका समुदायका बालबालिकालाई समेटेको छ। कक्षा नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूमध्ये १८ प्रतिशतभन्दा बढी छात्रवृत्तिको पहुँचमा छन्।

छात्रवृत्ति वितरणमा जीवनज्योतीपछि फुलवारी एजुकेशन एकेडेमीले २६१ जना, बागेश्वरी एकेडेमीले २३१ जना र कोहलपुर बागेश्वरी इंग्लिश मिडियम स्कुलले २०३ जना विद्यार्थीलाई छात्रवृत्ति दिएका छन्।
त्यसैगरी, नेपाल एपिएफ स्कुलले सशस्त्र प्रहरीका २३३ जना सन्तानहरूलाई, बालज्योति माविले १०७ जना नेपाली सेनाका सन्तानहरूलाई आंशिक छात्रवृत्ति प्रदान गरेका छन्।

नगरपालिकाका अनुसार कोहलपुरका ४९ विद्यालयहरूले हालसम्म झण्डै १० करोड २५ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेका छन्।
प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले सबै विद्यालयले प्रचलित कानुनअनुसार छात्रवृत्ति दिँदै आएको जानकारी दिँदै, “हामीले विद्यालय, विद्यार्थी र अभिभावकको नामसहित तथ्याङ्क सार्वजनिक गरेका छौं,” भन्नुभयो। “यसले बाहिरबाट कोहलपुरमा अध्ययन गर्न आउने विद्यार्थी र अभिभावकलाई सुविधा छनोटमा सहजीकरण गर्छ।”

यस किसिमको पहलले शिक्षालाई पहुँचयोग्य र समावेशी बनाउनेतर्फ कोहलपुर नगरपालिका र संस्थागत विद्यालयहरू सक्रिय रहेको स्पष्ट संकेत गर्छ। विशेषतः जीवनज्योती जस्ता विद्यालयको अग्रसरता शिक्षामा समता र अवसरको सार्थक उदाहरण बनेको देखिन्छ।

 

जीवनज्योती स्कुलको अग्रणी पहलः कोहलपुरका ६३१ विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक गुणस्तरसँगै गरिब तथा इमान्दार विद्यार्थीको साथ

जुम्लाबाट सुर्खेत जादै गरेको गाडी दुर्घटना :एक

Leave a comment

Your email address will not be published. Required fields are marked *